site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमालपारि के छ ?- २
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दोस्रो दिन

बिहान उठ्दा मेरो टाउको अलि बढी नै दुखेको थियो । उठेर पानी पिएँ अनि आफ्नो नित्यकर्म सकेँ । कोठामा चिया, कफी पिउनलाई केही पनि रहेनछ । यस्तो थाहा पाएको भए नेपालबाट नै ल्याउथेँ नि भन्ने सोचेँ । यात्राको तारतम्य मिलाउने एजेन्टले यति जाबो कुराको पनि सूचना नदिएकोमा दिक्क पनि भएँ र ‘ब्रेकफास्ट’ खान गएँ । साथीहरू सबै ‘ब्रेकफास्ट’ खाने ठाउँमा भेट भए । सबैलाई उचाइले अलि गाह्रो बनाएको रहेछ भन्ने बुझियो । म ‘ब्रेकफास्ट’ सकिनेबित्तिकै कोठामा फर्केँ र नेपालबाट लगेको दुईटा सिटामोल खाएर खाटमा पल्टेँ । केही छिनपछि तीनजना साथी आएर ढोका ढक्ढक्याए । मैले ढोका खोलेँ र उनीहरूले मेरो स्वास्थ्यको अवस्थाबारे सोधे । ‘ब्रेकफास्ट’ खाँदा नै मलाई गाह्रो भएको उनीहरूले बुझिसकेका थिए । मैले सिटामोलले काम गरिसक्यो त्यति गाह्रो छैन भनेपछि उनीहरू गए । म भने मनमनै सोच्दै थिएँ - ल्हासामा नै यति गारो भएपछि मानसरोवरसम्म पुग्दा के हालत होला?

Potala_night-(1)-1729392400.jpg
 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसपछि हामी सबैले केहीबेर आराम गर्‍यौँ र ११ बजेतिर पोताला दरबार हेर्न निस्कियौँ । पोताला दरवार नजिकै भएकोले हामी पैदलै गयौँ । लगभग आधा घन्टाको हिँडाइपछि हामी पोताला दरबार पुग्यौँ । त्यहाँपनि राहदानी देखाएर प्रवेश गर्‍यौँ ।

सबै साथीहरू केहीबेर पोताला दरबारको दक्षिणतिरको बाटोभन्दा उत्तरको ठाउँमा बसेर फोटो लिन व्यस्त भए । त्यसपछि हामी पोताला दरबार चढ्नतिर लाग्यौँ । ल्हासा भन्दा ३०० मिटर उचाइमा रहेको ल्हासाको मार्पो ली पहाडमा अवस्थित यस दरबारको खास उचाइ ११७ मीटर रहेछ । राजा स्रोङ्चन गम्पोले सातौं शताब्दीमा यो दरबार निर्माण गरेका रहेछन् । यो दरबारको हालको संरचना पाचौँ दलाई लामाले सत्रौं शताब्दीमा विस्तार गरेका रहेछन् ।  तेह्र तलाको र एक हजार कोठाहरू भएको यस दरबार तिब्बेतियन, हान चाइनिज र नेपाली वास्तुकलाको मिश्रणले बनेको रहेछ । यो दरबार सेतो दरबार र रातो दरबारमा छुट्याइको रहेछ । सेतो दरबारमा दलाई लामाहरूको आवास रहेछ भने रातो दरबारमा धार्मिक संग्रहालय, स्तुप र सुनै सुनले भरिएको आठवटा दलाई लामाको चिहान रहेछ । चौधौं दलाई लामाको शासन कालको समयमा सन् १९५९ मा चीनले तिब्बतलाई विलय गरेपछि यो दरबार संग्रहालयमा परिणत गरिएको रहेछ  ।

Royal Enfield Island Ad

हामीले जाने बुझेसम्म दरबारको माथिल्लो तलासम्म पुगेर सबै सूचना लिन खोज्यौँ तर थोरै समयको अवलोकनमा भोटकै इतिहाससित गाँसिएको यो पोताला दरबारको इतिहास बुझ्न त्यति सजिलो थिएन । फेरि हरेक कुरा चिनियाँ लिपिमा मात्र लेखिएको हुँदा पनि हामीलाई सही जानकारी पाउन कठिन भयो । पोताला हेरिसकेपछि हामी लन्च खान हिजोकै नेपाली रेस्टुराँमा आयौँ । लन्च खाएपछि पुन: हामी जोखाङ मन्दिर भित्र के छ भनेर हेर्न त्यस मन्दिरतिर लाग्यौँ ।

Sagarmatha-Base-Camp-1729397018.jpg
 

यस मन्दिरभित्र १२ वर्षको जोवो शाक्यमुनिको २.५ मिटर अग्लो मूर्ति छ । यो मूर्ती राजा स्रोङ्चन गम्पोको चिनियाँ रानी वेनचेङले चाइनिज ताङ वंशबाट उपहारस्वरूप ल्हासा ल्याएकी रहिछन् र यो मूर्ती बुद्धको समयभन्दा केहीपछि भारतमा नै बनेको जनविश्वास रहेको छ ।

मन्दिरभित्रको मुख्य हलमा रानी भृकुटीको पनि मूर्ति छ । रानी भृकुटीले नै भोटमा बुद्ध धर्म भित्र्याएको विश्वास रहेछ । सुनैसुनको छाना र भित्र पनि सुनैसुनले भरिएको यो मन्दिर हेरेपछि किन ल्हासामा सुन छ भनेर उखान बनाएका रहेछन् भनेर बुझ्न सजिलो भयो । यो मन्दिर हेरिसकेपछि हामी बाहिर निस्कियौँ र चोक नजिकै एउटा रेस्टुराँमा चाइनिज खानाको ‘डिनर’ गरेर होटल फर्कियौँ ।

 

तेस्रो दिन

आज हाम्रो लक्ष्य ल्हासाबाट १०० किलोमिटर दक्षिण पश्चिममा ४ हजार ४४१ मिटर उचाइमा रहेको यामद्रोक सो ताल हेर्नु थियो । त्यसैले बिहानै ६ बजे हामी होटलको लबीमा जम्मा भइसकेका थियौँ । होटललाई हामीले ‘प्याक ब्रेकफास्ट’ तयार गर्दिनु भनेर अघिल्लो दिन नै खबर गरेकोले रिसेप्सनमा ‘प्याक ब्रेकफास्ट’ राखिएको थियो । सो ‘प्याक ब्रेकफास्ट’ पनि बसमा ‘लोड’ गरेर हामी सबै यामद्रोक सो तालतर्फ लाग्यौँ । बाटो उही ल्हासा विमानस्थलको नजिक हुँदै जाने रहेछ । एक घन्टाको यात्रापछि हाम्रो बस बिस्तारै पहाड चढ्न थाल्यो । रूख विरूवा नभए पनि जमिन घाँसले भरिएको थियो । केही उकालो उक्लेपछि हामीले चौंरीहरू पहाडका भिरालो जमिनमा चरिरहेका देख्यौँ । पातलो छरिएका चौंरीहरू पर परसम्म देखिन्थे । मोटर बाटो घुमाउरो र उकालो थियो । अलि माथि पुगेपछि बसमा ‘ब्रेकफास्ट’ दिइयो । ‘ब्रेकफास्ट’को प्याकेट खोलेर खाँदै हामी बाटोका घुम्ती पार गर्दै बसको बाहिर चियाइरहेका थियौँ । पहाडका भिरालाहरूका केही ठाउँमा चौरीखर्क पनि बनाइएको रहेछ । केही बेरमा बसले ४ हजार ७९४ मिटरको काम्बाला पास पार गर्‍यो । साथीहरू सबै आआफ्नो मोबाइल फोनमा कति उचाइमा पुग्यौँ भनेर हेर्न व्यस्त देखिन्थे ।

E-scooter-in-Lahasa-1729392420.jpeg
 

काम्बाला पास कटेपछि पहाडको केही तल यामद्रोक ताल पूर्व पश्चिम दिशामा लामो फैलिएको देखियो । माथिबाट हेर्दा उक्त दृश्य साह्रै मनमोहक थियो । हाम्रो बस ओरालो झर्न थाल्यो । केहीबेरमा तालको प्लेटफर्म नम्बर तीनमा पुर्‍याएर  बस रोकियो । बाहिर चिसो सिरेटो चलेको थियो । चिसोबाट बच्न सबैले आफ्नो ज्याकेटको टोपी वा उनी टोपी लगायौँ । हामी केही मिटर तल तालमा पुगेर फोटो खिच्ने र हिमाली तालको बनोटलाई अभिरूचीपूर्वक हेर्न थाल्यौँ । हामी पुगेको केही बेरमा तिब्बेतियन म्यास्टीफ (भोटे कुकुर) लिएर केही मान्छे आए । त्यो कुकुरसित फोटो खिचेको १० युआन (आरएमबी) रहेछ । हामी सबैले आलोपालो कुकुरसित फोटो खिच्यौँ  । फेरि चौंरी लिएर अरू केही व्यक्ति आए । हामीमध्ये केहीले चौंरीसित पनि फोटो लियौँ । केहीबेरको फोटो लिने र तालको दृश्यावलोकनपछि हामी फर्कियौँ । बस आएकै बाटोबाट उकालो चढ्न थाल्यो । फर्किँदा पहाडको पासनिर एकछिन रोकेर हामीलाई फोटो खिच्ने मौका दिइयो र त्यस क्षणको हामीले भरपूर फाइदा पनि लियौँ । पहिलोचोटी त्यति उचाइमा पुगेकोले हामी अलि ‘नर्भस’ पनि थियौँ कतै अक्सिजनको कमी त हुँदैन भनेर । हामी फेरि बस चढ्यौँ र काम्बाला पास कटेर ओरालो झर्न थाल्यौँ । दुई घन्टाको यात्रापछि हामी एक बजेतिर ल्हासाको रेल स्टेसन आइपुग्यौँ र स्टेसननजिक एउटा चाइनिज रेस्टुराँमा चाइनिज परिकारको लन्च खायौँ ।

हाम्रो सिगात्सेतर्फ जाने रेलको समय ४:३० बजेको थियो तैपनि हामी एक घन्टाअगाडि नै रेलवे स्टेसनमा छिर्‍यौँ । त्यहाँ पनि सुरक्षा जाँच कडा रहेछ । सुरक्षा जाँचपछि हामी रेलवे स्टेसनभित्रको ‘वेटिङ रुम’ मा बस्यौँ । हामीले ‘रिजर्भ’ गरेको बस हामीलाई रेल स्टेसनमा झारेपछि सिगात्सेतिर हिँडिसकेको थियो । त्यही बस हामीलाई लिन सिगात्से रेल स्टेसन आइपुग्नुपर्थ्यो । हामीलाई भोटमा रेल चढ्ने भन्दा अनौठो पनि लागेको थियो र उत्सुकता पनि । त्यसैले हामीले बस ‘रिजर्भ’ गरे पनि यो अनुभव पनि बटुल्न रेल यात्रा गर्ने निधो गरेका थियौँ ।  

jokhng-temple-1729392433.JPG
 

रेल आफ्नो समयमा ल्हासाबाट सिगात्सेको लागि छुट्यो । हामी सबै आआफ्नो सिटमा बसेका थियौं र झ्याल बाहिरको दृश्य हेर्दै थियौँ । ठाउँ ठाउँमा रेलको लाइनसितै समानान्तर तरिकाले बनाइएको राजमार्ग पनि देखिन्थ्यो । रेलमा प्यान्ट्रीबाट आएको कफी र केही फलफूल खाँदै हाम्रो यात्रा ब्रह्मपुत्र नदीको किनार किनार पश्चिमतिर सुइकिरहेको थियो । सिगात्सेसम्मको दूरी २५० किलोमिट। थियो र चाइनाबाट आएको यो रेललाइनको भोटको अन्तिम स्टेसन पनि सिगात्से नै थियो ।

हिमाल पारि के छ ?

वास्तवमा सिगात्से र काठमाडौंको ऐतिहासिक सम्बन्ध पनि थियो । उहिले भोटसँग व्यापार गर्ने काठमाडौका व्यापारी  कोदारी हुँदै ५ हजार मिटर उचाइमा रहेको न्यालम पास काटेर सिगात्से पुग्थे । अनि ब्रह्मपुत्र नदीको किनारै किनार ल्हासा जान्थे । त्यस्तै सिक्किमबाट आउने नाथुला पासबाट पनि यात्री यहीँ आइपुग्थे । काठमाडौंबाट त्यतिखेर सिगात्से पुग्नमात्र मौसमअनुसार २० देखि २५ दिन लाग्ने रहेछ । अनि सिगात्सेबाट ल्हासा पुग्न १० देखि १५ दिन । अहिले यो सहर नेपालको भोटसित रेल जोडिने संभावनाले पनि चर्चित छ ।

रेल सरदर प्रतिघन्टा ११० किलोमिटरको गतिमा अघि बढिरहेको थियो । ठाउँ ठाउँमा रेल झ्याप्प अध्यारो सुरूङभित्र छिर्थ्यो र केहीबेरमा फेरि बाहिर निस्किन्थ्यो  । यस रेलवे लाइनमा २९ वटा सुरूङ रहेछन् जसमा दुईटा १० किलोमिटरभन्दा लामा र पाँचवटा ५ किमी. भन्दा लामा । यसमध्ये पेनलङ्ग सुरूङ सबैभन्दा लामो रहेछ जसको लम्बाइ १३ किमी भन्दा बढी छ । यसरी अत्याधुनिक इन्जिनियरिङले बनाइएको संसारको छानाको रेल चढेर हामी झन्डै अढाइ घन्टापछि सिगात्से पुग्यौँ ।

एउटा इन्जिनियर भएको नाताले र नेपाल सरकारमा बसेर आयोजना प्रमुख भएर आयोजना चलाएको हुनाले मेरो मनमा यो रेल निर्माणले एउटा हलचल नै ल्यायो । विदेशी सहयोगविना यो विकट उचाइमा चिनियाँ प्राविधिकहरूद्वारा नै वृहत् आयोजना दस्तावेज तयार गर्नु चानेचुने चुनौती थिएन । अझ त्यसभन्दा पनि आयोजना कार्यान्वयन गर्दा गुणस्तर नियन्त्रणलाई पूर्ण पालना गर्दै आयोजनालाई समयमै संपन्न गर्नु पनि यस्ता ‘मेगा प्रोजेक्ट’ को अर्को सुन्दर पक्ष हो । यसले चिनियाँ प्रविधि र प्राविधिकहरुको संसारभरि नै प्रशंसा भएको छ ।

bramhaputra-nadi-1729392433.JPG
 

नेपालमा यस्ता ‘मेगा प्रोजेक्ट’ गर्न धेरै अवरोध छन् । सबभन्दा पहिले नेपालसित आफ्नै आर्थिक स्रोत छैन । सरकारले बल्लतल्ल उठाएको राजस्व चालु खर्च धान्नसमेत नपुग्ने भएको छ । ‘पपुलिजम्’ को लागि सामाजिक सुरक्षा भत्ताको भार बढ्दो छ । प्राविधिकहरूको इज्जत घट्दै गएको छ र ऊनीहरूलाई नेपाल सरकारले आयोजनामा काम गर्दा विदेशी प्राविधिकले पाउनेभन्दा पचासौं गुना कम तलब दिएको हुन्छ । त्यसैले ती प्राविधिकको मनोबल पनि कम छ । फेरि अख्तियार दुरूपयोग आयोगको डर र महालेखाले निकाल्ने बेरूजुले कायल भएका नेपाली प्राविधिकहरूबाट ठोस निर्णय हुन गारो देखिएको छ जुन देशकै विकास निर्माणको लागि दुर्भाग्य हो । यस्तो सोच्दासोच्दै म त झकाएछु ।

केही बेरमै फेरि सँगै बसेको साथीले केही सोधेजस्तो लागेर बिउझिएँ । सिगात्से आइपुग्न लाग्यो भनेको रहेछ । बाहिर हेरेको राम्रा खेतीयोग्य फाँटहरूमा गहुँका बाला देखियो । ठाउँ ठाउँमा सिँचाइ गर्ने कुलाहरू पनि रहेछन् । उपत्यका भए पनि मनग्गे जमिन थियो र भोटको जनसंख्यालाई मुख्य अनाजको लागि भोट बाहिरको भर पर्नु पर्दैन कि जस्तो लाग्यो ।

भोटको तीव्र विकासले ब्रह्मपुत्र नदीको पानीको उपयोग पनि बढ्दै गइरहेको छ । यही रफ्तारमा विकास बढ्दै जाँदा भोलिका दिनमा भारतमा पुग्ने ब्रम्हपुत्र नदीको पानीमा कमी आउन सक्ने संभावनालाई पनि  नकार्न सकिँदैन चाहे त्यो भोटमा नै हुने पानीको प्रयोगले होस् या नदी पथान्तरणले ।

रेल सिगात्से स्टेसनमा रोकिएपछि हामी सबै झर्‍यौँ । हाम्रो तिब्बती गाइडले हामीलाई रेल स्टेसनबाट बाहिर निकाल्न पुन: अध्यागमनको प्रक्रिया पूरा गरेपछि बल्ल हामी स्टेसन बाहिर निस्कियौँ । झिसमिसे साँझ परिसकेको थियो । केही पर बस स्ट्यान्डमा हामीलाई लिन ल्हासाबाट हिडेको बस आइसकेको रहेछ । हामी बस चढेर सिगात्से होटलतिर लाग्यौँ ।

lahsa-1729392433.JPG
 

सिगात्से सहरको बाटोभरी नै चीनका राता झन्डाका पोस्टहरू रहेछन् । सहर सुन्दर थियो । हामी केहीबेरपछि सिगात्से होटलमा चेक इन गर्‍यौँ । सबै सामान होटलमा राखिसकेपछि हामी ‘डिनर’ खान बाहिर निस्कियौँ । बाहिर राम्रै पानी दर्किरहेको थियो । बसबाट हामी सहरको मुख्य बजारको टासी नेपाली रेस्टुराँमा गयौँ । रेस्टुराँको मेनुमा नेपाली परिकार धेरै थिए तर मैले एक प्लेट झोल ममको अर्डर गरेँ र अरू साथीहरूले पनि इच्छाअनुसारको भोजन मगाए । यसरी नेपाली वातावरणको रेस्टुराँमा ‘डिनर’ सकेर हामी पुन: होटल फर्कियौँ ।
क्रमशः 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro