site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मन मूर्च्छना’मा विरचण गर्दा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चिरञ्जीवी दाहाल
मुक्तककार मुकुन्द पौडेल गीत, कविता र मुक्तक विधामा खारिएका सर्जक हुन् । लामो समय सरकारी सेवामा संलग्न पौडेलको निवृत्त समय चितवनको रत्ननगर नगरपालिका, माधवपुरमा रहेको छ । तथापि, उनले राजधानी काठमाडौंलाई कर्मभूमि बनाएर साहित्यसेवा गरिरहेका छन् ।

उनको साहित्यप्रतिको रुची लोभलाग्दो छ । उनको ‘मझधार’ कवितासंग्र्रह २०७४, ‘मन सिन्धु’ मुक्तकसंग्र्रह २०७४, ‘मन शिला’ मुक्तकसंग्र्रह २०७७ प्रकाशित छ । पौडेलको चौथो कृति हो, ‘मन मूर्च्छना’ ।

‘मन मूर्च्छना’लाई मनभित्र रहेको संगीतका सातै स्वरहरूको आरोह अवरोह भन्ने  बुझिन्छ । संग्रहको शीर्षक मात्र नभएर यसभित्रका अधिकांश मुक्तकहरूले भित्रको संगीतलाई बिउँझाइदिन्छ । तसर्थ मन मूर्च्छना शीर्षक सार्थक देखिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मुक्तक लेखन परम्परा नयाँ होइन । परापूर्वकालमा लेखिएको वेद तथा अग्निपुराणले समेत मुक्तकका विषयमा वर्णन गरिसकेकाले स्पष्ट हुन्छ, मुक्तक विधा निकै पुरानो विधा हो ।

‘अग्निपुराण’मा मुक्तकको परिभाषा यसरी गरिएको छ, ‘मुक्तकं श्लोक एवैकश्चमत्कारक्षमः सताम्’

Royal Enfield Island Ad

चमत्कारको क्षमता राख्ने एकमात्र श्लोकलाई मुक्तक भनिन्छ । मुक्तकमा कविले प्रस्तुत गर्न खोजेको विषयवस्तु एक श्लोकमा चमत्कारी ढंगले पूर्ण रूपमा देखिने भएकोले अग्नि पुराणमा यसरी वर्णन गरिएको हुनुपर्छ ।

त्यसैले युगौँदेखि मुक्तकलाई चतुष्पदीय शिल्प र शैलीमा लेखिने गरिएको हो । परापूर्वकालमा मुक्तकका श्लोक ईश्वरको प्रार्थना गर्ने कार्यमा प्रयोग हुने बुझिएको  छ ।

समयको परिवर्तनसँगै पूजा अर्चनामा होइन, वर्तमानमा मुक्तक सबै क्षेत्रका विषयको उठानमा प्रयोग हुँदै आएको छ । माया प्रेम, विकृति विसंगति, प्रकृति वर्णन र समाजका जुनसुकै विषयमा पनि मुक्तक लेख्ने प्रचलन आज व्याप्त छ ।

मुक्तक काव्य त्यस्तो विधा हो जसमा कुनै पनि पूर्व कथा अथवा आगामी कथासँग जोडिएको हुँदैन । त्यसैले मुक्तकका हरेक श्लोकहरू एक अर्कासँग सम्बन्धित हुँदैनन् । एउटा मुक्तकको श्लोकले न अघिल्लो पङ्क्तिलाई छुनुपर्छ न पछिल्लो ।  

जे लेखिन्छ सोही एक श्लोकमा लेखिन्छ र लेख्नुपर्छ । जसबाट एउटा पूर्ण विषयको कथा तयार हुन्छ त्यो पनि विशेष अर्थ सहितको । त्यसैले भनिएको छ, ‘अन्यैः मुक्तमं इति मुक्तकं ।’

मुक्तककार मुकुन्द पौडेलले प्रस्तुत कृति ‘मन मूर्च्छना’का प्रत्येक श्लोक आफंैँमा पूर्णतः स्वतन्त्र र सम्पूर्ण अर्थ दिनेगरि लेखेका छन् । जुन मुक्तक विधाको अनिवार्य सिद्धान्त पनि हो ।

पौडेलको यस संग्रहमा ३४८ वटा श्लोकमा सुन्दर मुक्तकहरू छन् । यस कृतिमा रहेका मुक्तकहरू नबिसाइकन एकै बसाइमा सकौँ जस्तो लाग्छ ।

मुक्तक विधा गजलजस्तै गेय विधा भएकोले पाठकको पहिलो चाहना मुक्तक लयबद्ध भएको हेर्न चाहन्छन् । लय समात्न नसकेका मुक्तकहरूको कुनै पनि अर्थ हुँदैन । तर पौडेलको यस कृतिमा समाविष्ट सबै मुक्तकहरूमा मिठो लय फेला पर्छ ।  

गीत लेखनमा समेत जमेका मुक्तककार पौडेलका अधिकांश मुक्तकहरूमा गीतको मधुर ताल, लय र सुगन्ध पाइन्छ । उनले मनभित्रका कल्पना र आफ्ना भावनाहरूलाई सर्लक्क झिकेर, पाठकले बुझ्ने सरल भाषामा यस पुस्तकमा उतार्न सफल भएका छन् ।

उनका तिनै कल्पनामा पाठकहरू मजाले हराइदिन सक्छन्, रोइदिन र रमाउन सक्तछन् । यो नै कविलाई जाँच्ने कसी हो ।

मुक्तकका निहीत भावहरूमा समावेश गरिएको वैविध्यलाई यस संग्रहको सबैभन्दा बलियो र सुन्दर पक्षका रूपमा लिन सकिन्छ । जसले सर्जकलाई एउटा भिन्न पहिचान दिएको छ ।

संग्र्रहभित्र पस्नासाथ युगसँगको संवाद नजर आउँछ । यहाँ माया र प्रेमको मात्र वर्णन गरिएको छैन, मानव जीवनको यथार्थ तस्विर प्रस्तुत गरिएको छ । मान्छे र समाजका दुःख पीडा समेत मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

यसमा जीवनका उतारचढावहरू निकै कलात्मक ढंगले वर्णन गरिएका छन् । समाजमा मौलाएका विकृति र विसंगतिलाई दह्रो झापड दिएका छन् ।

अरू छाडी अब आफैं, बन्नेतिर लागियो है
जे जे पर्छ व्योहोरौँला, भन्नेतिर लागियो है
अब हाम्रा नेताजीले, भन्न यत्ति बाँकी त छ
आफैँलाई पुर्ने खाल्डो, खन्नेतिर लागियो है ।

प्रस्तुत मुक्तक श्लोकमाजस्तै सबै मुक्तक सभ्य भाषामा मिठो व्यंग्यकासाथ प्रस्तुत छ । यस्ता मुक्तकहरूका साथ संग्रहलाई आकर्षक बनाउने प्रयास गरिएको छ ।

यसैगरी उनले नारीको सम्मानमा अनगिन्ती भाव पोखेका छन् । नारीका दुःख पीडाप्रति, समाजले नारीलाई हेर्ने दृष्टिकोणप्रति कत्ति पनि कन्जुस्याइँ नगरिकन सुरुचीपूर्ण तरिकाले कलम चलाएका छन् ।

दुःखमाथि दुःख अरू, खेपिँदैछन् अझै
हिजोभन्दा आज नारी, हेपिँदैछन् अझै
सम्मानका कुरा यहाँ, आउँछन् हरेक वर्ष
लिंगभेदका मारमा चेली, चेपिँदैछन् अझै ।

कतिपय विद्वानहरूको तर्क छ, छन्द रचना, गजल र मुक्तक लेखनमा सकेसम्म निपातको प्रयोग नगरेको जाती हुन्छ । यता फेरि कसैले भन्छन्, निपातको प्रयोगले भाषामा मिठास आउँछ, सुगन्ध थपिन्छ । निपातको प्रयोगलाई अपराध मान्नु हुँदैन ।

हरेक रचनामा निपातको प्रयोग गर्दा फरक पर्दैन । यी सबै आ–आफ्ना सोचाइमा निर्भर हुने कुरा हुन् । पौडेलका मुक्तकहरूमा पनि यदाकदा निपातको प्रयोग गरिएको छ । जसरी निपातको प्रयोगमा फरक मत छ, त्यसैगरी ऐकारको प्रयोगमा पनि फरक फरक मत पाइन्छ ।

कसैले भन्छन् ऐकारको प्रयोग निर्धक्क गर्न सकिन्छ । कसैले भन्छन् ऐकार प्रयोग नगरेको मुक्तक उत्कृष्ट मानिन्छ । हुन त साहित्यका हरेक विधाहरूमा यसप्रकारका विषयहरूको उठान भइरहेका हुन्छन् ।

यस प्रकारको झिनामसिना विवादहरू साहित्यमा बेलाबखत नचल्ने होइनन्, चलिरहन्छन् । विवाद हुँदै गर्छन् तर सर्जकले कर्म गर्न छोड्नु हुँदैन र यस्ता विवादमा अल्मलिनु पनि हुँदैन ।

जिन्दगीले कहिले बाटो, बिराउन नि सक्छ
सुख खोज्दा दुःख अझै, भिराउन नि सक्छ
हिसाब किताब जिन्दगीको, साँच्चै बिग्य्रो भने
एकैचोटि साँवा ब्याजै, तिराउन नि सक्छ ।

हरेक सर्जकका भावना र कल्पनाहरू नितान्त आ–आफ्नै मौलिक हुन्छन् । यहाँ लेखकले ‘नि’ को प्रयोग गरेर काव्यलाई झनै सुन्दर लय दिने प्रयास गरेको बुझिन्छ ।

हामीले बोल्न मात्र होइन लेखनमा समेत निपात र ऐकार निर्धक्कसँग समावेश गर्ने प्रचलन छ । मलाई लाग्छ सर्जकले देखेको कुरा, उसलाई लागेको कुरा निर्धक्क लेख्नुपर्छ । लेख्ने क्रममा अरूले के भन्छन् भनेर दायाँबायाँ हेर्नु हुँदैन । आफ्नो ब्रह्मले देखेको कुरा सर्सर्ती लेख्नु पर्छ ।

फरक चाँही के हो भने, समाज र पाठकले पचाउन नसक्ने, अश्लिल शब्दको प्रयोग गर्ने र कुनै जातजाति र समुदायप्रति लक्षित गरेर कसैलाई सोझै नङ्याउन पाइँदैन ।

यस दृष्टिकोणबाट हेर्दा मुक्तककार पौडेलले निकै सजगता अपनाएका छन् । उनी लेखनीमा चिप्लिएका छैनन् । चुकेका छैनन् ।

समग्रमा ‘मन मूर्च्छना’ मुक्तकसंग्र्रह पठनीय र संग्ररहणीय बनेको छ ।
(चितवन)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro