site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँसँग जोडिएको दर्शन खोज्ने प्रयास गर्नुपर्छ
SkywellSkywell

(उमेरले ७७ वर्षमा हिँड्दै गरेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी राजनीतिमा सक्रिय छन् । संघीय संंसद्का सदस्य समेत रहेका केसीले दसैँका विभिन्न अनुभव सुनाएका छन् । दसैँ मात्र नभएर धेरै पर्वले मौलिकता गुमाउँदै गएको, चाडपर्वलाई क्षणिक उल्लास र दम्भ प्रदर्शनको माध्यम बनाउँदै लगिएकामा उनले चिन्ता जाहेर गरेका छन् । समाज विस्तारै जडसूत्रवादी र आत्मकेन्द्रित हुँदै गएको उनको बुझाइ छ । प्रविधिको विकासले समाजलाई आत्मकेन्द्रित बनाउँदै लैजाँदा चाडपर्व पनि यान्त्रिक बन्दै गएको र मौलिकता मासिँदै गएको उनी बताउँछन् ।)

गाउँमा बुवाआमा, आफू काठमाडौंमा । कहिले दसैँको बिदा हुन्छ र स्कुल छाडेर घर पुग्ने भन्ने हुन्थ्यो । बिदा हुने एक दिन, दुई दिनअघि नै दौडादौड गर्दै गाउँ पुगिन्थ्यो । पुग्दा त्यस बेलाको दसैँमा जुन शान्ति, मनमा भिन्नै खालको उत्साह र एउटा रमाइलोपनको महसुस हुन्थ्यो, त्यो त अब फेरि फर्किएर आउँदैन जिन्दगीमा ।

त्यस्तो किन पनि हुन्थ्यो भने, एक त बुवाआमासँग वर्ष दिनपछि पुगिन्थ्यो, अर्को गाउँको वातावरण भिन्नै खालको थियो – जुन अहिले छैन । दसैँ आएपछि गाउँका मान्छेले सामूहिक रूपमा वर्षाले बिगारेको बाटो, बाटोका भक्तिएका पर्खालहरू सबै बसेर लगाउने, बाटो सम्म पार्ने, हरेक घरबाट एकदुई मुठा बाबियो ल्याएर लट्ठा बाटी लिंगेपिङ हाल्ने, काठ कहाँ छ भनेर खोजीखोजी काटेर रोटेपिङ बनाउने संस्कार थियो त्यस बेला । फलानो दिन खसी काट्ने भनेर कुर्ने गर्थ्यौँ । त्यो रमाइलो, त्यो आत्मीयता र बाल्य जीवनमा  बिताएको पल कहिले पनि फर्किंदैन र त्यस्तो आनन्द अनुभूति कहिल्यै भएन र अब हुँदैन पनि ।

KFC Island Ad
NIC Asia

त्यस बेलाको दसैँभन्दा पनि त्यस बेलाको गाउँघर रमाइलो हो । आफैँले सफासुग्घर गरेर राख्नुपर्छ, बिग्रेको बाटोघाटो आफैँ बनाउनुपर्छ भन्ने जो आफ्नोपन र सामूहिकता थियो, त्यो हो रमाइलो ।

अहिले त त्यो आफ्नोपन, सामूहिकता र स्वाभिमान यसरी पराश्रित भएर गयो – घरअगाडि रुख ढलेर बाटो छेकिएको छ भने वडाध्यक्ष आएर हटाइदिएन, गाउँपालिका/नगरपालिकाले गरिदिएन भन्ने सोचाइ विकास भएको छ । अहिले विकास भएको पराश्रित सोचाइ देखेर कहिलेकाहीँ म आफैँ छक्क हुन्छु ।

Royal Enfield Island Ad

अहिलेको दसैँ भनेको जिम्मेवारीको दसैँ । धेरै बोझ र धेरै भारी विभिन्न ढंगले आइरहन्छ । यी सबै कुराको जिम्मा आफैँले लिनुपर्दाखेरि कहिलेकाहीँ अप्ठ्यारो, कहिलेकाहीँ ठिकै छ भन्ने र कहिलेकाहीँ रमाइलो मिसमासको अनुभूति हुन्छ ।

दसैँ आफैँमा सद्भावनाको पर्व, मित्रताको पर्व मात्र होइन, यसको दार्शनिक पक्ष हेर्ने हो भने अझ समृद्ध छ । यो असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, व्यभिचारमाथि सदाचारको विजयको पनि पर्व हो । परिवार मात्र होइन, परिवारबाहिर पनि समग्र समाजसँग सद्भावना र शुभेच्छा आदानप्रदानको पर्र्व हो ।

हिन्दुहरूका लागि त यसको धार्मिक, आध्यात्मिक महत्त्व समेत छ । किनभने, आद्यशक्ति, जगत्जननी भवानीको पूजाअर्चना गरेर मनाइने र उहाँको आशीर्वाद लिने पर्व पनि हो ।

यो पर्वले दिने एउटा सन्देश समाजमा महिलाहरूको सम्मान पनि हो । हाम्रो संस्कार, संस्कृति र आध्यात्मिक दर्शनबाट नै नारीको सम्मान शक्तिको स्वरूपमा स्थापित भएको रूपमा पनि दसैँलाई हेर्न सक्छौँ ।

हाम्रा अन्य चाडबाडको पनि आ–आफ्नै विशेषता र महत्त्व छन् । दसैँसँगै जोडिएर तिहार आउँछ । तिहारमा दीपावली हुन्छ । त्यो दीपावली भनेको अँध्यारोबाट उज्यालोतर्फको यात्राको रूपमा लिन सकिन्छ । समाजमा रहेको, मानिको मनमा भएका सबै विकृति–विसंगतिहरूलाई हटाउने र दिदीभाइ, दाजुबहिनीबीचको सद्भावनाको दर्शन त्यसमा भेटिन्छ । त्यति मात्र नभएर तिहार पर्वले हरेक जीवको सम्मान पनि सिकाउँछ, 
जसरी गीतामा– 
विद्या–विनय सम्पन्ने बाह्मणे गविहस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।
भनेर भनिएको छ । 
गाई, हात्ती र चण्डाल, कुत्ता, सर्प के बाह्मण ।

यो हाम्रो दर्शन आत्मवत् सर्वभूतेषु अर्थात् प्राणीलाई समान मान्ने दर्शन हो । कहिलेकाहीँ राजनीतिक दर्शनको कुरा आउँछ । कुनै राजनीतिक दर्शन छैन, सबैलाई समान हेर्ने । हाम्रो धर्म नै सबैलाई समान ढंगले हेर्न सक्दछ ।

आत्मवत् सर्वभूतेषु – मेरो आत्मलाई मैले जति सम्मान गर्छु, त्यतिकै तपाईंको आत्मलाई सम्मान गर्नुपर्दछ भन्ने दर्शन हो । चोट पर्दा मलाई जति दुख्छ, मैले तपाईंलाई दिएको चोट पनि त्यतिकै दुख्छ । त्यसैले सबैले सबैलाई सम्मान गरौँ भन्ने हो ।

यति मात्र होइन, हामी पशुपन्छीलाई पनि पूजा गर्छौँ । तिहारमा कागपूजा गछौँ । गाई, गोरुपूजा गर्छौँ । कुकुरपूजा गर्छाैँ । यो सबै आत्मवत् सर्वभूतेषु अर्थात् सबै प्राणीलाई समान ठान भन्ने दर्शनबाट अभिप्रेरित छ ।

नेवार संस्कृतिमा म्हः पूजा हुन्छ । म यसलाइ विशेष महत्त्वका  साथ हेर्छु । म्हः भनेको मेरो शरीर र आत्मा हो । मान्छेले जबसम्म आत्मनियन्त्रण गर्न सक्दैन, त्यति बेलासम्म केही पनि गर्न सक्दैन । त्यसैकारण आत्मा नै परमात्माको रूप हो भन्ने हाम्रो संस्कार हो । त्यसकारण म्हः पूजा भनेर आफूले आफैँलाई पूजा गर्ने संस्कृतिलाई म उम्दा संस्कृतिका रूपमा लिन्छु ।

अर्को छ, छठ पर्व । जलमा बसेर सूर्यको पूजा, उदाउँदो र अस्ताउँदो दुवै सूर्यको पूजा – यी सबै चाडहरूको जो लर्को लागेर आउँदै छ, यी पर्वहरूको दार्शनिक महत्त्वसहित मनाउन सबैमा प्रेरण मिलोस् भनी शुभकमना व्यक्त गर्दछु ।

दसैँलाई परिवारको मिलन मात्र नभएर टाढाटाढादेखिका आफन्तसँग र गाउँका मानिसहरूबीच एकार्काको संवाद गराउने पर्वका रूपमा पनि लिइन्थ्यो । सहरमा पढ्न गएकाहरूले सहरका सूचना लिएर जाने, गाउँमा वर्षभरिका घटनाहरूबारे सहर गएकाहरू अपडेट हुने, सहरमा बस्नेले राष्ट्र र समग्र विश्वमा के भइरहेको छ भन्ने चासो राख्नेहरूलाई बुझाउने एउटा जो शैली र संस्कार थियो, त्यसलाई भने शिक्षा र चेतनाको विस्तारसँगै स्मार्ट मोबाइल र इन्टनेटले विस्थापित गरिदिएको छ । अहिले सहरमा बस्नेले थाहा पाउने सूचना गाउँमा बस्नेले पनि थाहा पाउँछन् र त्यसको औचित्य घटेर गएको छ ।

त्यस बेलाको थिति अत्यन्त रमाइलो थियो । म गाउँमा सम्मान नै गरिने परिवारमा जन्मिएको हुँ । म एसएलसी पास गरेर घर गएको बेला चर्चा भएको थियो– लौ, फलानो काजीको छोरा त पण्डा भयो ! यति ठूलो मानसम्मान भयो कि म शब्दमा व्यक्त गर्न सक्दिनँ । त्यसपछि आएर मान्छेहरूले हातमा लगाएका घडी फुकालेर– काजी, यो बिग्रिएको छ बनाइदेऊ न भनेको, धेरैजनाले रेडियो लिएर आएर हेरिदेऊ न, बनाइदेऊ न भनेको सम्झन्छु । एसएलसी पास गरेको मान्छेले कसरी बनाउने, कसरी जान्दछ र बनाउने ? तर, पण्डा भइसकेपछि सबै कुरा थाहा पाउनुपर्छ भन्ने मान्यता थियो । त्यो मेरो मनमस्तिष्कमा घडी बनाइदेऊ भन्ने, रेडियो बनाइदेऊ भन्नेहरूको चित्र अहिले पनि मेरो अघिल्तिर आइरहन्छ ।

जिल्लामै म पहिलोदोस्रो व्यक्ति होला, एसएलसी पास गर्ने । त्यसले गर्दा पनि मानिसहरूको मेराप्रति धेरै चासो थियो । अहिले त हरेक गाउँमा एमए पास गरेकाहरूको संख्या ठूलो छ ।

विस्तारै सामाजिक आत्मीयता आत्मकेन्द्रित हुँदै छन् । सम्बन्धहरू जडसूत्रवादी हुँदै गए । समाजभन्दा आफूकेन्द्रित हुने प्रवृत्ति विकास हुन थाले । व्यक्तिवादी जसलाई अंग्रेजीमा हेडोनिस्टिक भन्छन् – मैले मलाई मात्र हेरेर, आफ्नो आनन्दका लागि मात्र निर्णय गर्ने शैली । यो प्रवृत्ति र सोचहरूबाट हाम्रा दर्शन, चिन्तनहरू र पर्वहरूको वास्तविकता पनि सिकाउनुपर्छ भन्ने लाग्छ ।

अहिले चेतनाको विस्तार भएको छ । सामाजिक रहनसहनमा ठूलो परिवर्तन आएको छ । हिजोजस्तो के छ कसो छ भन्ने संस्कृति बदलिएको छ । गाउँमै जाँदा पनि मानिसहरू आ–आफ्नै धुनमा केन्द्रित भेटिन्छन् । हाम्रो पुरानो ग्रामीणपन विस्तारै हराउँदै छ ।

मानिसहरू वल्लो घर, पल्लो घर, माथ्लो घर, वल्लो गाउँ, पल्लो गाउँ, माथ्लो गाउँ, तल्लो गाउँबीच विशेष सम्बन्ध र अन्तर्क्रिया हुन्थ्यो । त्यसले आफ्नै खालको मौलिकता प्रदान गरेको थियो । तर, अब त्यो मौलिकता गाउँगाउँमा पनि हराइसकेको छ ।

नयाँ पुस्तामा दसैँ मान्ने तरिका बदलियो । खालि मासु खाने, जुवातास खेल्ने र टीका लगाउने मात्र दसैँ होइन । असत्यविरुद्ध सत्यको विजय, अन्यायविरुद्ध, विकृति–विसंगति र व्यभिचारविरुद्ध मानिसमा सशक्तीकरण निर्माण गर्ने पर्व हो, दसैँ । हिजोको त्यो चेतना हराउँदै गएको छ । हिजोझैँ पिङ हाल्नुपर्छ, वरपिपले चौतारीमै अन्तरक्रिया गर्नुपर्छ भन्ने होइन, तर यसको दार्शनिक पक्षलाई भुल्नु हुन्न ।

(केसीसँग बाह्रखरीका रमेश वाग्लेले गरेको कुराकानीको सम्पादित अंश ।) 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro