
काठमाडौं । पतञ्जलिको जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा बहस गर्न ३५ जना कानुन व्यवसायीले नाम टिपाएका छन् ।
बुधबार विशेष अदालतमा हाजिर भएका नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित ३५ जनाले नाम टिपाएका हुन् ।
तर, समय अभावका कारण थोरै अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ । बहसपछि थुनछेक आदेश हुनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।