जताततै बाढी नै बाढी भएपछि पानीबाट फैलने महामारीको जोखिम बढ्नु आश्चर्यको होइन । आश्चर्य त सरकारले त्यसको आकलन गरेर रोकथामको पूर्वतयारीमा ध्यान नदिनु हो । दुर्भाग्य, नेपालमा भने जे नहुनु पर्ने हो त्यही भइरहेको हुन्छ ।
राजधानी उपत्यकामै बाढीपछि उद्धार प्रभावकारी भएन । बाढीका कारण ठूलो जनधनको क्षति भयो । उपत्यकाका कतिपय स्थानमा धारामा पानी आएको छैन । यस्तै कतिपय ठाउँमा खानेपानीमा ढल मिसिएको छ ।
ललितपुरको नख्खु खोलामा भएको बाढीबाट जनधनको खती त भएको छ नै स्थानीयहरू बाढीग्रस्त क्षेत्रमा फैलिएको दुर्गन्ध र प्रदूषणका कारण महामारी फैलने त्रासले आत्तिएका छन् । सिनु तह नलाग्दा र खानेपानी आपूर्ति खलबलिँदा सधैँ महामारीको डर हुन्छ ।
बाढी पहिरोलगायतका विपत्तिले खानेपानी प्रदूषित बनाएपछि विभिन्न सरुवा रोग फैलेका अनेकौँ उदाहरण छन् । हुनत, २०५० सालको बाढीपछि नेपालमा महामारी फैलन पाएको थिएन । तर, बङ्गलादेश, पाकिस्तान, हाइटी, सुडान आदि मुलुकमा हैजालगायतका महामारी फैलेको थियो ।
विशेषगरी खानेपानीको स्रोतमा मानव मलमूत्र, सिनुलगायत मिसिएपछि प्रदूषित पानीका कारण हैजालगायतको सरुवा रोग फैलने गर्छ । यस्तो सङ्क्रमण रोकथाम गर्न नसक्नेबित्तिकै रोगले महामारीको रूप लिन्छ । अहिले यही कारणले नख्खुलगायत क्षेत्रमा महामारीको डर बढेको हो ।
प्राकृतिक प्रकोपपछि उद्धारको पहिले चरणदेखि नै स्वच्छ खानेपानीको प्रबन्ध मिलाउन प्राथमिकता दिनुपर्छ । तर, उद्धार र सहायताको चापमा स्वच्छ खानेपानीको प्रबन्ध गर्न भने प्रायः बिर्सिइने गरिएको देखिन्छ । सम्भवतः नख्खुमा पनि स्वच्छ खानेपानीको प्रबन्ध भएको छैन ।
बाढीग्रस्त क्षेत्रमा महामारी फैलिए त्यसले भयावहरूप लिन सक्छ । साथै, त्यो सरकारको असफलता र चरम नालायकीको उदाहरण बन्नपुग्छ । यसैले बाढीबाट स्वच्छ खानेपानीको आपूर्ति खलबलिएको र विस्थापितलाई बसोवास गराइएको ठाउँमा तत्काल खान योेग्य सफा पानी पुर्याउन प्राथमकिता देऊ !
काठमाडौं उपत्यकामा नियमित आपूर्ति गरिँदैआएको खानेपानी नै पनि मानव प्रयोगका लागि योग्य मानिदैन । सामान्य स्वास्थ्य चेतना भएका परिवारले समेत पानी उमालेर वा जारको पानी किनेर खाने गर्छन् । विडम्बना, प्रशोधित भनिएको जारकै पानीमा समेत हानिकारण प्रदूषण भेटिने गरेको छ ।
यसैले सरकार र बाढीग्रस्त क्षेत्रका बासिन्दा सबै नै दूषित खानेपानीका कारण महामारी नफैलोस् भन्नेमा सजग हुनु जरुरी हुन्छ । विशेषगरी सरकारले स्वच्छ खानेपानीको आपूर्ति सहज बनाउने र बजारमा पानीको गुणस्तरको प्रभावकारी अनुगमन गर्नुपर्छ ।
जनसाधारणले पनि व्यक्तिगत सरसफाइ र स्वच्छतामा हेलचेक्रयाइँ गर्नु हुँदैन । खानेपानी किनेर खानेहरूले पनि त्यसको गुणस्तरप्रति सजग हुनुपर्छ । सामान्य सावधानीको अभावमा महामारी फैलियो भने त्यसको हानि बाढीको भन्दा कम हुनेछैन । त्यसको दोष प्रकृतिलाई दिन पनि पाइनेछैन ।