site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘डोरम्याट’मा अभिव्यक्त छवि

छविरमण सिलवाल कविता लेखिरहन्छन्, कहिले फुटकर रूपमा, कहिले एकल संग्रह त कहिले संयुक्त कवितासंग्रह ।

बाँच्नका खातिर व्यवसाय गर्नुका अलावाको समय अधिकतर कविता लेखिरहनु, पोस्ट गरिरहनु, वाचन गरिरहनु, कृतिको रूपमा प्रकाशन गरिरहनु सनातनी कार्य हो ।

त्यसो त कथा, बालसाहित्य, नियात्रा लेख्ने, पुस्तक समीक्षा गर्ने, एफएम रेडियोमा साहित्यिक कार्यक्रम चलाउने जाँगर पनि छविरमण चलाइरहेकै देखिन्छन् ।

Dabur Nepal
NIC Asia

नेपाली साहित्यमा, अझ भनौँ कविता विधामा नाम चलेका कवि हुन्, छविरमण । काभ्रेली कविता फाँटको त उनी दरिला खम्बै हुन् ।

विगतमा उनका सहृदयी स्वरहरू (संयुक्त संग्रह–२०५९), छुपुछुपु (बालकवितासंग्रह–२०६०), मनको शिविरबाट (कवितासंग्रह–२०६७), यतैकतै (संयुक्त कवितासंग्रह–२०७७) प्रकाशित छन् ।

यस हिसाबले यो पाँचौँ कृति तथा एकल कवितासंग्रहका रूपमा तेस्रो कृति मान्नुपर्दछ, डोरम्याट कवितासंग्रहलाई । यसका अलावा सिर्जनाका लहरहरू (समीक्षा–२०६४), ग्रीनवीचको साँझ (नियात्रा–२०७५) पनि प्रकाशित गरिसकेका छन् ।

यस्तै, सबैभन्दा राम्रो माल र म किन डराउँछु शीर्षकका बालउपयोगी पुस्तकहरू रुम टु रिडबाट छापिइसकेका छन् ।

डोरम्याटमा ३० वटा कविता समेटिएका छन् । अधिकतर कविताहरूमा समसामयिक राजनैतिक तथा सामाजिक विकृतिविरुद्ध चोटिला प्रहार गरिएका छन् । त्यसमध्ये कृतिकै नाम शीर्षकको डोरम्याट कविता त मथिंगल नै हल्लाउने खालको छ– 
महाराज !
कतिन्जेलसम्म चल्नेछ
हाम्रो छातीमाथि हजुरको राज ? (पृष्ठ १२)

नेताहरूले जनता अनि कार्यकर्ताहरूलाई कति विघ्न प्रयोगमाथि प्रयोग गरिरहेका छन् भनेर सचित्र पारेका छन्, यो कवितामा । सिंहदरबार, मान्छे, नेता (टाउको लुकाउने प्रसंगमा), बुंगा अनि युगपुरुष, वधशाला, भगौडा ठेकेदार विषयका कविताहरूमा यस्तै आक्रोश पोखेका छन् कविले । 
हराएको ठेकेदारजस्तै देखिने त्यो मान्छे
सिंहदरबारभित्र भर्खरै फुत्त छिरेको छ रे ! (पृष्ठ ८५)

यस संग्रहमा बा, आमा, छोरामाथि लेखिएका कविता पनि समेटिएका छन्, तर बाप्रति धेरै । स्मृतिमा बा, बाको तस्बिर, धुवाँको सिँढी शीर्षकका बासम्बन्धी कविता एक से एक छन् । मुटु नै गाँठो पर्ने खालको छ, ठाउँठाउँमा ।

तर, जुठो थाल शीर्षकको कवितामा भने महिला–पुरुष सरोबरीको विषय उठान गरेका छन् उनले र लेखेका छन्– 
हरे ! कस्तो कुरा गर्छ यो !
आइमाईको जुठो पनि 
लोग्नेले खान्छन् त ? (पृष्ठ ५४)

आस्थाको भग्नावशेष, गन्तव्यहीन यात्रा, समय त्रासदी, फूलको हाँसो, आँसु, रोकिएको समय, रङ्ग, वर्जित श्रद्धाञ्जली, सावधान, चाहना, अदृश्य ईश्वर शीर्षकका कविताहरूमा आफ्नो दिक्दार मनोभावहरू पोखेका छन् कविले ।

रुख, काम नलाग्ने सामानजस्ता कविता छोटा तर वातावरण एवं पर्यावरणीय दृष्टिले मार्मिक छन् ।
...थाहा छैन तिनलाई
मैले नै
अन्तिममा खरानी बनाउनुपर्छ । (पृष्ठ ५५)

सिरिया युद्धमा मारिएका बच्चाहरूलाई समर्पित पृथ्वी कसको शीर्षक कविता विगतमा नेपालको माओवादी सशस्त्र द्वन्द्व, रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन युद्धमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
के यो पृथ्वी तिम्रो आफ्नै हो
या तिमीले तिम्रा लागि मात्र
रजाइँ गर्न बनाउन लगाएका हौ ? (पृष्ठ ६२)

दुख्ने कुरा शीर्षकको कविता राष्ट्रियताले ओतप्रोत छ । कवि दुखेसो पोख्छन्–
बेला बेलामा दुख्ने
टनकपुर, सुस्ता र लिपुलेकको घाउ
निको गर्न सक्ने 
कोही जन्मेनन् । (पृष्ठ ६६)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro