site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बिराजका बाबुछोराले यसरी गरे एकार्काको तारिफ

काठमाडौं । नायक तथा निर्देशक बिराज भट्टले नेपाली कमेडी वा लभस्टोरी चलचित्र कुनै पनि देशका सिनेमासँग तुलना नहुने बताएका छन् । एक्सन सिनेमा भने बलिउड र हलिउडसँग तुलना हुने उनको भनाइ छ ।

एक्सन जनराका सिनेमालाई कुनै पनि भाषा र भूगोलले नछेक्ने उनी बताउँछन् । अन्य जानराका चलचित्रका तुलनामा एक्सन सिनेमालाई बढी चुनौती रहेको उनको जिकिर छ ।

भोजपुरी सिनेमाबाट आफूले सिकेको एक्सनलाई नेपालीमा प्रयोग गर्ने उनी बताउँछन् । साउथका चलचित्र हेरेर एक्सन सिनेमा हेर्न बानी परेका नेपाली दशर्कलाई उच्च गुणस्तरको फिल्म दिने उनी सुनाउँछन् ।

Dabur Nepal
NIC Asia

‘१२ गाउँ’ विदेशी एक्सन सिनेमासँग प्रतिस्पर्धा गर्ने स्तरको चलचित्र बनेको उनको भनाइ छ । “दसैँमा आउने अरू दुईवटा चलचित्रभन्दा कसरी सुपरहिट बनाउने भन्ने मेरो उद्देश्य होइन । मेरो उद्देश्य नेपाली चलचित्रलाई कसरी माथि उकास्ने भन्ने हो,” बिराजले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, “अन्य जानराका चलचित्र अर्ग्यानिक मौलिक भन्ने हुन्छ, कुनै विदेशी सिनेमासँग तुलना हुँदैन । तर, जब हामी एक्सन फिल्म बनाउँछौँ – पठान, सलारजस्तो छ भन्ने कुरा आउँछ । त्यस्तो सिनेमा हामी बनाउन सक्छौँ ? हाम्रो बजेट सानो छ, यथार्थ यही हो ।” 

समीर भट्टको बडी ‘सलार’को हिरोको भन्दा राम्रो लागेको हुन सक्ने भन्दै व्यक्तिगत मिहिनेत र तयारीले नेपाली चलचित्र उद्योगलाई विदेशमा चिनाउनुपर्नेमा बिराज जोड दिन्छन् । एक्सन सिनेमा बनाउन ‘१२ गाउँ’बाट सुरुआत भएको भन्दै उनले आफू एकदुई चलचित्र बनाएर नहराउने प्रतिबद्धता जनाए ।

“मैले पैसा बढी भएर साउथको टेक्निसिएन राखेको होइन, कसरी नेपाली एक्सन सिनेमालाई राम्रो बनाउन सकिन्छ भनेर हो । कसरी नेपाली एक्सन सिनेमालाई विदेशमा लैजाने भनेर हो,” बिराजले भने ।

समीर भट्टले आफूले सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए । बुवा (बिराज भट्ट)लाई आदर्श मानेर उनकै योजनामा अगाडि बढिरहेको समीरले सुनाए ।

“मैले अहिले १२ गाउँमा जे गरेको छु र जति मिहिनेत गरिरहेको छु, यसको सबै देन मेरो बुवा नै हो । मैले जे गरिरहेको छु, यसमा २० प्रतिशत मात्रै मेरो देन हो, बाँकी ८० प्रतिशत बुवाकै देन हो,” उनले भने, “बुवा वास्तवमा रमाइलो मान्छे हो । ममी र मलाई हँसाइरहनुहुन्छ । तर, काममा भने उहाँ कहिल्यै रमाइलो गर्नु हुन्न । काममा सधैँ गम्भीर मान्छे हो उहाँ ।”

हरेक मान्छेको जीवनमा राम्रो गुरुको खाँचो हुने र त्यो आफ्ना लागि बुवा भएको उनले बताए । यसअर्थ आफू भाग्यमानी रहेको उनी बताउँछन् ।

बिराजजति एक्टिभ आफू हुन नसक्ने भन्दै समीरले बुवाको तारिफ गरे । आफूलाई बिराजको छोरा हुनुमा सधैँ गम्भीर गर्व रहेको र अब पनि सधैँ उनकै छोरा भनेर चिनिन पाउँदा खुसी लाग्ने उनको भनाइ छ ।

“अहिले मलाई सबैले बिराज भट्टको छोरा भनेर चिन्नुहुन्छ । अबको २० र ३० वर्षपछि पनि उहाँकै छोरा भएर चिनिन पाउँदा मलाई अझै खुसी लाग्नेछ,” उनले भने ।

सिनेमाका निम्ति भनेर आफूले मुम्बईमा बसेर १० वर्षदेखि तयारी गरेको उनले सुनाए । तर, आफू जुन चलचित्रमा काम गरिरहेको हो त्यसभन्दा पर गएर पछिका बारेमा धेरै नसोच्ने गरेको उनको भनाइ छ ।

“धेरै प्लानिङ गरेर काम गर्दा पनि सधैँ त्यसअनुरूप हुन्छ भन्ने हुँदैन होला । सोचेजस्तो भएन भने पीडा हुन्छ,” समीर भन्छन्, “त्यसैले वर्तमानमा म १२ गाउँको काममा छु । त्यसपछि बलिदानमा छु । यसमै म मिहिनेत गरिरहेको छु ।” 

बिराज भट्टको लेखन तथा निर्देशन रहेको चलचित्र यही असोज २४ गते फूलपातीका दिन रिलिज हुँदै छ । यो चलचित्रमार्फत समीर भट्टले नेपाली रजतपटमा डेब्यु गर्दै छन् ।

समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दै छन् । चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, सुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रस्तुतिमा निर्मित सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनील क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।

एक्सन–थ्रिलर ड्रामा ‘१२ गाउँ’का निम्ति बिराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली चलचित्रका सफल द्वन्द्व निर्देशक शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेलको छायांकन रहेको चलचित्र काठमाडौं, ललितपुर, वीरगन्ज र हेटौँडामा छायांकन गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro