site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसमविद्लाई प्रश्न– मनसुन बाहिरिएपछि के हुन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । मनसुन नेपालबाट बाहिरिने सँघारमा छ । बाहिरिने अवस्था सुरु भएको छ । तर, बाहिरिइसकेको छैन । मनसुन बाहिरिन विभिन्न कोणबाट अनुकूल स्थिति बन्नुपर्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

देशभरबाट एकैपटक मनसुन बाहिरिँदैन । अनुकूल स्थिति भएका भूभाग हुँदै क्रमिक रूपमा मनसुन बाहिरिने उनले जानकारी दिइन् । “मनसुन बाहिरिनका लागि विभिन्न क्राइटएरियाहरू हुन्छ – हावाको हुन्छ, पानीको हुन्छ, तापक्रमको हुन्छ,” उनले बाह्रखरीसित भनिन्, “अहिलेसम्म क्राइटएरियाहरू पुगिसकेको अवस्था छैन ।”

त्यस्तो क्राइटएरिया ‘मिट’ भएपछि महाशाखाले मनसुन बाहिरिएको बुलेटिन जारी गर्ने उनले बताइन् । नेपालमा करिब चार महिना मनसुनी वायुको प्रभाव रहन्छ ।

Dabur Nepal
NIC Asia

मनसुन बाहिरिने क्रम सुदूरपश्चिम प्रदेशबाट सुरु हुन्छ । त्यसपछि क्रमिक रूपमा कोसी प्रदेश हुँदै बहिर्गमन हुन्छ । यसको प्रवेश जुनमा कोसीबाट हुन्छ । विस्तारै त्यो फैलिएर सुदूरपश्चिमसम्म पुग्छ ।

“सुदूरपश्चिममा वर्षाको मात्र सम्भावना अलिकति कम भएको हो । मनसुन बाहिरिइसकेको छैन,” उनले भनिन्, “सुदूरपश्चिममा क्रमिक रूपमा सुधार देखिएको छ । मनसुन बाहिरिइसकेको चाहिँ छैन ।”

यो अक्टोबरको पहिलो हप्तापछाडि मनसुन बाहिरिने सम्भावना बढेर जाने उनले बताइन् ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति भने गुज्रिइसकेको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो पनि मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् । 

मनसुन बाहिरिने भनेको के हो ?
मनसुन पूर्वी प्रणाली हो । पूर्वबाट बहने हावा हो । पश्चिमीले पूर्वी वायुलाई विस्थापित गरेपछि क्रमिक रूपमा मनसुन बाहिरिने उनले जानकारी दिइन् ।

“पश्चिमी वायुको दबदबा भइसकेको छैन । देशैभर पश्चिमी वायु फैलिइसकेपछि – जताजता पश्चिमी वायुको प्रभाव रह्यो, त्यतातिरबाट मनसुनी वायु हट्दै जाने, मनसुनी वायुको प्रभाव कम हुने र पश्चिमी वायुको प्रभाव बढ्ने हुन्छ,” उनले स्पष्ट पारिन् ।

पश्चिमी वायुको यात्रा भने एकदम लामो हुन्छ । मेडिटेरियन सी (भूमध्यसागर)देखि आउँछ यो । अफगानिस्तान, पाकिस्तान हुँदै पश्चिमी वायु नेपालसम्म आइपुग्ने उनले बताइन् ।

यो वायु नेपालसम्म आइपुग्दा सुक्खा हुन्छ । आफ्नो बाटोमा जलवाष्प छोड्दै आउँछ । “मेडिटेरियनबाट आउनेबित्तिकै त सुक्खा हुँदैन, तर बाटोमा ठूलो ल्यान्डमासलाई पार गर्दै गर्दै, पानी पार्दै पार्दै, मोस्चर (जलवाष्प) छोड्दै आउने भएकोले नेपालसम्म आइपुग्ने बेलामा यो अलिकति सुक्खा भइसकेको हुन्छ,” उनले भनिन् ।

मनसुन बाहिरिएपछि के हुन्छ ?
मौसमविद् मानन्धरले भनिन्, “मनसुन पूरै बाहिरिइसकेपछि पश्चिमी वायुको प्रभाव रहन्छ ।”

उनले थपिन्, “पश्चिमी वायुको प्रभाव रहे पनि देशमा स्थानीय वायुको प्रभाव बनिरहन्छ ।”

मनसुन बाहिरिएपछि पोस्ट मनसुन सुरु हुन्छ । पश्चिमी वायुको प्रभाव रहे पनि त्यो त्यति मजबुत हुँदैन । “पश्चिमी वायु मनसुनजस्तो स्ट्रङ हुँदैन । कमजोर वायु प्रणाली हुन्छ,” उनले भनिन् ।

पोस्ट मनसुनमा स्थानीय वायुको प्रभावले सानोतिनो ‘सिस्टम’ बन्न सक्छ । र, मेघगर्जन/चट्याङसहित वर्षा हुने हुन्छ । “त्यस्तो खालको वर्षा पोस्ट मनसुनमा हुने हुन्छ,” उनले भनिन् ।

उनका अनुसार, पोस्ट मनसुन र प्रिमनसुनमा विशेष गरी वेस्ट बंगाल र अरेबियन सी (अरबसागर) माझमा चक्रवातहरू बन्ने गर्छ । चक्रवातको असरले, कहिलेकाहीँ चक्रवातीय वायु प्रणालीका कारणले पनि वर्षा हुने गर्छ ।

“जब मनसुन सकिन्छ, तब मनसुनी वायुको प्रभाव हटेर पश्चिमी वायु, स्थानीय वायु र केही विशेष परिस्थितिमा चक्रवात बनिहाल्यो भने चक्रवातीय वायुको प्रभावले वर्षाहरू हुने गर्दछ,” उनले भनिन् ।

त्यो मनसुनी वायुजस्तो निरन्तर पानी पर्ने हुँदैन । दिनरातभर वर्षा हुँदैन । क्षणिक हुन्छ । “त्योचाहिँ क्षणिक, एउटा सिस्टम आउने बेलासम्म मात्रै हुन्छ,” उनले भनिन्, “सिस्टम हटिसकिसकेपछि फेरि पश्चिमी वायुको दबदबा हुन्छ । पश्चिमी वायुको जुन क्यारेक्टर छ सुक्खा हावा, त्यस्तै हुने गर्दछ ।”

मनसुन अवधिबाहेक नेपालमा अधिकांश महिना पश्चिमी वायुको प्रभाव रहन्छ । यो अवधिमा मात्र मनसुनीले पश्चिमी वायुलाई विस्थापित गर्ने उनले स्पष्ट पारिन् । “जुन ट्रपिकल रिजन (उष्णप्रदेशीय क्षेत्र)मा नेपाल छ, यो ट्रपिकल रिजनमा बाह्रै महिना पश्चिमी वायु नै चल्ने ठाउँ हो । मनसुनका चार महिनाको लागि मात्र मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्ने हो,” उनले भनिन् ।

प्रिमनसुन र पोस्ट मनसुनमा स्थानीय वायुको प्रभाव हुन्छ । पश्चिमी वायुको प्रभाव भने नेपालमा मनसुनबाहेक सबै समयमा हुने उनले जानकारी दिइन् । “मनसुनमा पूर्वी वायु आउने हो । बाँकी सबै महिनाहरूमा पश्चिमी वायु नै नेपालमा बगिरहेको हुन्छ,” उनले भनिन् ।

थोरै पानी पर्ने महिना
अक्टोबर र नोभेम्बर पोस्ट मनसुनको अवधि हो । नेपालमा नोभेम्बरमा सबैभन्दा थोरै पानी पर्ने उनले बताइन् । “अक्टोबर र नोभेम्बरलाई पोस्ट मनसुन भन्छौँ । नेपालको परिप्रेक्ष्यमा कुरा गर्नुपर्दा सबैभन्दा सुक्खा महिना नै नोभेम्बर हो,” उनले भनिन्, “नोभेम्बरमा सबैभन्दा थोरै पानी पर्ने गर्दछ ।”

प्रिमनसुन र पोस्ट मनसुनको समयमा चक्रवातहरू बनेर वर्षा हुने सम्भावना हुन्छ ।

पोस्ट मनसुनपछि के ?
पोस्ट मनसुन सकिएपछि विन्टर सिजन आउँछ । जाडो महिना आउँछ । डिसेम्बर, जनवरी र फेब्रुअरीलाई जाडो महिना भनिने उनले बताइन् । “जाडो महिनामा स्थानीय वायुभन्दा पनि पश्चिमी वायुकै प्रभाव रहन्छ । त्यति बेला पश्चिमी वायु एकदम स्ट्रङजस्तो हुन्छ,” उनले भनिन् ।

जाडोमा पश्चिम नेपालमा धेरै पानी पर्ने हुन्छ । पूर्वमा धेरै पानी पदैन । त्यति बेला त्यही पश्चिमी वायुको कारणले गर्दा यस्तो हुने उनले स्पष्ट पारिन् । “तर, मनसुनमा जस्तो धेरै पर्दैन । पूर्वमा भन्दा पश्चिममा बढी पानी पर्ने मात्र हो,” उनले भनिन्, “ठूलो पानी, धेरै पानी पर्ने सम्भावना कम नै हुन्छ, जाडो महिनामा । त्यो सिजनमा । त्यसपछि फेरि प्रिमनसुन हो ।”

शनिबारसम्मको मौसम
आउँदो शनिबारसम्मका निम्ति देशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । “हल्कादेखि मध्यम वर्षाको सम्भावना हुन्छ नै । कोसी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना हुन्छ,” उनले भनिन् ।

उनका अनुसार, यो अवधिमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने वर्षाको सम्भावना कम छ । “हुँदै नभएको होइन, सम्भावना कम छ । त्यतातिर (सुदूरपश्चिम, कर्णाली र लुम्बिनी) मनसुनी वायु क्रमिक रूपमा हट्नेचाहिँ देखिएको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro