site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं । गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठित कार्यदलका संयोजकहरु आजदेखि कार्यक्षेत्रमा खटिएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठजना सह–सचिव बुधबार खटिएको जानकारी दिए । बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपालञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी,सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई अति भारी वर्षका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने कार्यदेश छ । क्षतिग्रस्त सडकहरुको शीघ्र मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद्पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहनेछन् । कार्यदललाई आगामी असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधी दिइएको छ । 

कार्यदलले दैनिक रुपमा प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दशजना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरुमा खटाइएको जानकारी दिए । 

“हामीले दशजना अधिकतलाई बाढी/पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ,” अधिकारीले भने, “उहाँहरुले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउनेलगायत काम गर्नेछ ।”

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्