काठमाडौं । यो वर्ष सुरु भएयता आधा दर्जनभन्दा धेरै चलचित्र नयाँ निर्देशकका रिलिज भइसके । वर्षको अन्त्यसम्म यो संख्या बढेर डेढ दर्जनको हाराहारीमा पुग्ने निश्चित भइसकेको छ ।
नयाँ निर्देशकका केही चलचित्र चले पनि – जस्तै, ‘बोक्सीको घर’, ‘घरज्वाइँ’, ‘खुस्मा’ । तर, यी चलचित्रका निर्देशक को थिए ? धेरैलाई थाहा छैन ।
‘सानो संसार’ रिलिज भयो । अर्जुन कुमारको सिनेमा भनेर नाम आयो । ‘बेहुली फ्रम मेघौली’को राम्रो हाइप बन्यो । निश्चल बस्नेतको चलचित्र भनेर नाम आयो । ‘बोक्सीको घर’ रिलिज भयो । केकी अधिकारीको चलचित्र भनेर धेरैले बुझे । ‘घरज्वाइँ’ रिलिज भयो । पैसा पनि कमायो । दयाहाङ र मिरुना मगरको चलचित्र भनेर धेरैले चिने । ‘खुस्मा’ रिलिज भयो । बक्सअफिसमा राम्रो उपस्थिति जनायो । धीरज मगर र उपासना सिंह ठकुरीको चलचित्र भनेर प्रचार भयो ।
‘पूर्णबहादुरको सारङ्गी’ रिलिज हुँदै छ । विजय बराल र प्रकाश सपूतको चलचित्र भनेर बजारमा प्रचार भइरहेको छ । ‘एक्टर’ रिलिज हुँदै छ । प्रदीप खड्काको चलचित्र भनेर पब्लिसिटी भइरहेको छ । ‘कार्साङ’ आउँदै छ । दयाहाङको चलचित्र भनेर पब्लिसिटी भइरहेको छ ।
माथि उल्लिखित चलचित्र जसको भनेर प्रचार गरियो अथवा जसको भनेर चिनियो, ती कि निर्माता कि कलाकार हुन् ।
चलचित्र निर्देशकीय माध्यम हो । त्यसैले चलचित्रमा निर्देशकलाई ‘सिप अफ दी क्याप्टेन’ भनिन्छ । निर्देशकले जस्तो बनाउन चाह्यो, चलचित्र त्यस्तै बन्छ । निर्देशकले सिनेमाका विभिन्न डिपार्टमेन्टलाई जसरी चाह्यो, त्यसरी काम लिन सक्छ । राम्रो चलचित्र बनाउने उद्देश्यले उसले चाहेअनुसार आफ्नो टिमबाट काम लिन सक्छ । लिनु पर्छ पनि ।
तर, हाल अपवादबाहेक यो देखिएको छैन । अपवादमा मिनबहादुर भाम आए । ‘साम्बाला’ आउँदा मीन भामको चलचित्र आयो भन्ने थियो । ‘गाउँ आएको बाटो’ आउँदा नवीन सुब्बाको चलचित्र आयो भन्ने भयो । ‘मनसरा’ आउँदा ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको चलचित्र रिलिज भयो भनेर प्रचार भयो । ‘डिग्री माइला’ आउँदा रामबाबु गुरुङको चलचित्र भनेर पब्लिसिटी भयो ।
चलचित्र रिलिजको संख्या हेर्दा यी निर्देशक अपवाद हुन् । यीबाहेकका अधिकांश चलचित्र आउँदा निर्माता वा कलाकारका नाममा आए ।
डेब्यु निर्देशकको पुरानाजस्तो पहिलो सिनेमामा नाम आउँदैन । केही हदसम्म स्वाभाविक हो । तर, रिलिजअगाडि उनीहरूले बजारमा पठाउने सामग्री (पोस्टर, टिजर, ट्रेलर)ले यो सिनेमा कसको हो भनेर कौतूहल सिर्जना गर्न सक्नुपर्छ । चलचित्रको कन्टेनले निर्देशकको खोजी गर्ने अवस्था सिर्जना हुनुपर्छ ।
“‘ऐना झ्यालको पुतली’ आउने बेलामा रिलिजअगाडिको कन्टेनले सुजित बिडारीको चलचित्र आउँदै रहेछ भन्ने थाहा थियो,” निर्देशक मनोज पण्डित भन्छन्, “त्यस्तै अवस्था नयाँ निर्देशकले आफ्नो चलचित्रको कथा, कथ्यशैलीबाट गर्न सक्नुपर्छ ।”
रिलिजअगाडि सम्भव नभए प्रदर्शनमा आइसकेपछि कुन निर्देशकको चलचित्र रहेछ भनेर खोज्ने सिनेमा बनाउनुपर्नेमा उनी जोड दिन्छन् ।
तर, अहिलेसम्म यो अवस्था देखिएको छैन । यही नै विडम्बना हो । चलचित्रमा निर्देशक देखिनुपर्छ, त्यो भइरहेको छैन ।
दर्शकले फलानो कलाकारको चलचित्र हेर्न जाने भन्ने भाष्य स्थापित भइसकेको छ । जबकि, हुनुपर्ने फलानो निर्देशकको सिनेमा हेर्न जाने भन्ने थियो । यसलाई अलि खरो शब्दमा भन्ने हो भने कलाकारलाई देखाएर सिनेमा चलाउने प्रयास भइरहेको छ । कलाकारलाई बेच्ने काम भइरहेको छ ।
कलाकार फ्रन्टमा देखिएर पृष्ठभूमिमा निर्देशक बस्नु भनेको चलचित्रका निम्ति आफैँमा घातक पक्ष हो । कलाकारको स्टारडम हुनु राम्रो हो । यदाकदा कलाकारको स्टारडममा निर्देशक ओझेलमा पर्नु पनि स्वाभाविक हो । तर, गुमनाम नै हुनु उनीहरूको क्षमतामाथिको प्रश्न हो ।
जहाँ चलचित्र राम्रो बन्छ, त्यहाँ निर्देशकको काम स्वतः फ्रन्टमा देखिन्छ । निर्देशकको खोजी हुन्छ । जबसम्म नेपाली चलचित्र उद्योगमा निर्देशकको खोजी हुँदैन, फलानो निर्देशकको सिनेमा हेर्न जाने भन्ने भाष्य स्थापित हुँदैन, तबसम्म नेपाली चलचित्रको स्तरोन्नति हुँदैन । निर्देशक मनोज पण्डित यसलाई ‘सिनेमा मर्दै’ गरेको अवस्था भएको टिप्पणी गर्छन् ।
हाल सिनेमा हेर्दा कलाकारमा मात्र आकर्षण देखिन्छ । कलाकारको लुक्स कस्तो छ, कलाकारले कसरी नाचेको छ भन्नेमा दर्शक जानु भनेको निर्देशन कमजोर हुनुको प्रमाण हो । कुन कलाकार छ भनेर खोजिनु स्वाभाविक हो । तर, त्यससँगै खोजी हुनुपर्ने विषय सिनेमाको कथावस्तु के छ भनेर हो ।
यथार्थमा अहिले कलाकार हेर्नका लागि सिनेमा हो भन्नेजस्तो भएको छ । जबकि, समय धेरै अगाडि बढिसक्यो । कलाकारका अनुहार त सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्छ । फेसबुक र टिकटकमै लाइभ बस्छन् । सिनेमामा हेर्ने कथा हो । कलाकार त कथा भन्ने माध्यम हुन् । त्यसैले चलचित्रमा कलाकार निर्देशकजस्तो हुनु हुँदैन । तर, अहिले कलाकारचाहिँ निर्देशकजस्ता भएका छन् ।
पृष्ठभूमिमा गुमनाम निर्देशक छायाकारजस्ता भएका छन् । त्यसैले कलाकारका चलचित्र हेर्ने हो जस्तो भएको छ ।
राम्रो सिनेमा बनाउन व्यक्तिमा निर्देशकीय भोक हुनुपर्छ । कथा भन्ने हुटहुटी हुनुपर्छ । आफ्नै कथ्यशैली विकास गर्न सक्नुपर्छ ।
निर्देशकको ट्याग लगाउन मात्र वा सिनेमाको ग्ल्यामरमा छिरिहालौँ भन्ने सोचले निर्देशनमा आउँदा पनि धेरै हदसम्म समस्या भइरहेको स्वयं चलचित्रकर्मी टिप्पणी गर्छन् ।
कलाकारको स्टारडमलाई छिचोल्न नसक्नु निर्देशक सिनेमामा निरीह हुनुको मुख्य कारण रहेको निर्देशक दीपेन्द्र के खनालको बुझाइ छ । चलचित्रमा मिहिनेत कम, कथ्यशैली पुरानै, कथा राम्रो नहुनु नै निर्देशक ओझेलमा पर्नुको कारण रहेको उनी बताउँछन् ।
आफू कमजोर भएपछि निर्देशकले कलाकारलाई भजाउँछन् । अगाडि सार्छन् । जहाँ निर्देशक बलियो हुन्छ, त्यहाँ स्टारपावर भएको कलाकार भए पनि निर्देशकको नाम अगाडि आउँछ । नवीन सुब्बाको चलचित्रमा दयाहाङ राई थिए । तर, यसमा निर्देशककै नाम अगाडि आएको थियो ।
‘मनसरा’ उपेन्द्र सुब्बाको दोस्रो चलचित्र थियो । यसमा हाल बजारमा पहिलो रोजाइमा रहेका कलाकार दयाहाङ र मिरुना थिए । तर, उपेन्द्र सुब्बाकै चलचित्र भनियो ।
यसले जहाँ निर्देशक कमजोर छ, त्यहाँ कलाकारको नाम अगाडि आउने प्रस्ट हुन्छ । जहाँ निर्देशक बलियो छ, त्यो चलचित्रमा उसकै नाम आउँछ । दर्शक र सञ्चारमाध्यमले पनि उनीहरूलाई नै खोज्छन् ।
नेपालमा लोभलाग्दो नाम भएका निर्देशक सीमित छन् । त्यसमा पनि फलानो निर्देशकको चलचित्र आउँदै छ भनेर प्रतीक्षा गरेर बस्ने निर्देशकको संख्या लोभलाग्दो निर्देशकहरूको सूचीबाट पनि छाँटिन्छ । त्यसैले नेपाली चलचित्र उद्योगमा निर्देशकभन्दा पनि कलाकार हाबी छन् । निर्देशकका भन्दा पनि कलाकारका सिनेमाजस्ता देखिन्छन्, पर्दामा र सञ्चारमाध्यम दुवैमा ।
जहाँ निर्देशकको कलात्मकताले कलाकारको छविलाई थिच्छ, त्यहाँ चलचित्र राम्रो हुन्छ । जहाँ निर्देशकमाथि कलाकार हाबी हुन्छन्, त्यहाँ चलचित्र कमजोर हुन्छ ।