काठमाडौं । नेपाली चलचित्र उद्योगमा यो वर्ष नयाँ निर्देशकको रजगज हुने देखिएको छ । वैशाखदेखि हालसम्म रिलिजमा आएका चलचित्रमध्ये धेरै डेब्यु निर्देशककै छन् ।
यो वर्ष धेरै कमाउने ‘बोक्सीको घर’देखि बक्सअफिसमा निकै कमजोर देखिएको ‘देवी’सम्मका चलचित्रका निर्देशक नयाँ हुन् । हरेक हप्ताजसो रिलिज हुने एकपछि अर्को चलचित्रका निर्देशक डेब्यु छन् ।
‘बोक्सीको घर’बाट सुलक्षण भारतीले नेपाली चलचित्र उद्योगमा निर्देशकका रूपमा प्रवेश गरे । ‘घरज्वाइँ’बाट अनिल बुढामगर निर्देशकका रूपमा भित्रिए ।
‘खुस्मा’बाट अशोक थापामगर, ‘देवी’बाट संजोग राई र ‘बाटो रोड टु डेथ’बाट मदन थापा चलचित्र निर्देशनमा यही वर्ष भित्रिए । नायक रमित ढुंगानाले पनि यो वर्ष निर्देशनमा डेब्यु गरे । ‘नमेटिने घाउ’ मार्फत उनले डेब्यु गरेका हुन् ।
यसबाहेक पनि थुप्रै निर्देशक छन्, जो डेब्यु डिरेक्टरका रूपमा भित्रिएका छन् । यो क्रमले वर्षैभर निरन्तरता पाउने भएको छ ।
‘उनको स्वीटर’बाट नवीन चौहान, ‘वसन्त’बाट प्रकाश सपूत, ‘लाज शरणम्’बाट कुमार कट्टेल, ‘कार्साङ’बाट यम शेर्पा, ‘एक्टर’बाट राजन भुसालले निर्देशकीय डेब्यु गर्दै छन् ।
‘विमान– ९एनएबीबी’बाट लोकेश बज्राचार्य, ‘होस्टेल–३’बाट सशान कँडेल र ‘फेरि रेशम फिलिलि’बाट निरोज महर्जनले पनि यही वर्ष नेपाली रजतपटमा निर्देशकका रूपमा प्रवेश गर्दै छन् । ‘ह्रस्व दीर्घ’बाट नेपाली चलचित्रको निर्देशकका रूपमा चन्द्र पन्त भित्रिँदै छन् ।
शुक्रबार (हिजो) रिलिज भएको चलचित्र ‘सानो संसार’बाट सिद्धार्थ पुडासैनीले निर्देशनमा डेब्यु गरेका छन् । अर्को हप्ता रिलिज हुने ‘बेहुली फ्रम मेघौली’बाट दुई निर्देशक चलचित्र नगरीमा प्रवेश गर्दै छन् । यो सिनेमाबाट सजन काफ्ले र आकाश बराल निर्देशकका रूपमा नेपाली रजतपटमा डेब्यु गर्दै छन् ।
यीबाहेक पनि केही निर्देशक नेपाली चलचित्र उद्योगमा पाइला टेक्दै छन् । यो वर्ष चलचित्र नगरीमा निर्देशक बनेर भित्रिएका अधिकांश सिनेकर्मी स्वयं उनीहरूको चलचित्रका लेखक पनि हुन् ।
हालसम्म रिलिज भएका मध्ये केही चलचित्र बक्सअफिसमा राम्रैसँग चले भने केहीले आशा गरेजस्तो व्यापार गर्न सकेनन् । ‘बोक्सीको घर’, ‘घरज्वाईं’ले बक्सअफिसमा आफूलाई अब्बल प्रमाणित गरेका छन् । ‘खुस्मा’ले पनि त्यो लय समातेको छ । रिलिज भएका अन्य डेब्यु निर्देशकका चलचित्रले भने आफूलाई बक्सअफिसमा उम्दा प्रमाणित गर्न सकेनन् । आउने चलचित्रले कस्तो व्यापार गर्छन्, त्यो हेर्न बाँकी छ ।
नयाँ निर्देशक आउनु आफैँमा राम्रो भए पनि उत्सव नै मनाउनुपर्ने अवस्था नरहेको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । यो वर्ष हालसम्म आएका निर्देशकको काम हेर्दा खुसी भइहाल्नुपर्ने अवस्था नभएको उनको भनाइ छ ।
“जसरी निश्चल बस्नेत, दीपेन्द्र के खनाल र रामबाबु गुरुङ सुरुमा आफ्नो चलचित्र लिएर आउँदा समग्र नेपाली चलचित्र उद्योग र दर्शकमा उनीहरूको दोस्रो चलचित्रलाई लिएर प्रतीक्षा थियो, अहिले नयाँ निर्देशक आउँदा त्यो देखिएको छैन,” ज्ञानेन्द्र भन्छन्, “अहिले मजाले चलेका चलचित्रका निर्देशकलाई नै दर्शक र निर्माताले खोजिरहेका छैनन् ।” यसको कारण चलेका चलचित्र पनि औसत मात्र हुनु रहेको उनको बुझाइ छ ।
केही निर्देशकमा सम्भावना पनि देखिएको छ । पहिलो चलचित्रमा हरेक निर्देशकले वर्षौँदेखि मिहिनेत गरेको हुन्छ । “पहिलो चलचित्रमा जुन जुनुन हुन्छ, त्यो दोस्रो चलचित्रमा हुँदैन,” उनी भन्छन्, “तर, एउटै चलचित्रबाट जज गर्न मिल्दैन । दोस्रो चलचित्र हेरेपछि कस्तो निर्देशक हो भनेर भन्न सकिन्छ ।”
चलचित्र विभिन्न कारणले चल्ने भन्दै उनी त्यसमा निर्देशकको भूमिका कति छ भन्ने विषयले अर्थ राख्ने टिप्पणी गर्छन् । ‘बोक्सीको घर’ निर्देशकको मात्र मिहिनेत र क्षमताले नचलेको उनको बुझाइ छ ।
“बोक्सीको घर चल्नुमा यसको कथा र प्रस्तुति होला नै, यसबाहेक केकी अधिकारीको इफोर्ट र गीत पनि हो भन्ने लाग्छ,” ज्ञानेन्द्र अगाडि थप्छन्, “यो चलचित्रमा केकी अधिकारी नभएको भए प्रकाश सपूतको गीत आउँदैन थियो होला । प्रकाशको गीत नभएको भए यो सिनेमाको हाइप नै बन्दैन थियो होला । हाइप नभएको चलचित्र चल्ने सम्भावना कम हुन्छ ।”
चलेका निर्देशकले नै दोस्रो सिनेमा निर्देशनका निम्ति पर्खिनुपर्ने, मिडिया र निर्माताले नखोज्नु भनेको उसको चलचित्र औसत मात्र भएको बुझ्नुपर्ने उनको धारणा छ ।
यो वर्ष हालसम्म आएका नयाँ निर्देशकबाट नेपाली चलचित्र उद्योगले आस गर्नुपर्ने अवस्था नदेखिएको उनी प्रस्टै बताउँछन् । दोस्रो चलचित्रबाट आफूलाई प्रमाणित नगरेसम्म कसको निर्देशकीय क्षमता कति भन्न नसकिने उनी सुनाउँछन् ।
“नयाँ निर्देशक भने चलचित्र उद्योगलाई नयाँ टेस्ट र व्यापार दिने गरी नयाँ टुइस्ट लिएर कोही आएको छैन । त्यसैले सेलिब्रेट नै गर्नुपर्ने अवस्था छैन,” ज्ञानेन्द्र भन्छन्, “न हामी पुरानाले नयाँ केही दिन सकेका छौँ न नयाँले नै दिन सकेका छन् । उही पुरानै अवस्थाबाट चलचित्र उद्योग गुज्रिरहेको छ ।”
अझै खरो शब्द प्रयोग गर्दै उनी ‘आए राम र गए राम’भन्दा केही उपलब्धि नभएको बताउँछन् । केही नयाँ लिएर आउने नभई ग्ल्यामरभित्र कसरी प्रवेश गर्नेभन्दा ठूलो उपलब्धि नदेखिएको उनी टिप्पणी गर्छन् ।
निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ तत्काल सहकार्य गरेर काम गरिहालौँ भन्ने खालका निर्देशक आफूले नदेखेको बताउँछन् । “यो वर्ष हालसम्म आएका सबै निर्देशकका सिनेमा त मैले पनि हेरेको छैन, केही सिनेमा भने हेरेको छु । नहेरेका चलचित्रका समीक्षा र प्रतिक्रिया सुनेको छु” उनी भन्छन्, “तर, योचाहिँ निर्देशक गज्जबको आएछ, काम गरौँ भन्ने आजसम्म भेटेको छैन ।”
‘लुट’ आएपछि जसरी नेपाली चलचित्रमा परिवर्तन आयो, त्यस्तै परिवर्तन ल्याउने निर्देशक आउने बेला भइसके पनि त्यो नदेखिएको उनी प्रस्ट पार्छन् । “अहिले जति पनि सिनेमा बनिरहेका छन्, एउटै प्यार्टनका बनिरहेका छन् । एउटा सफल चलचित्रको सिरिज वा नयाँ आए पनि त्यस्तै खालका आइरहेका छन्,” उनी भन्छन्, “हाम्रो पुस्ता त पुरानो भइसक्यो । अब नयाँले केही लिएर आउँछन् कि भन्ने हो । तर, हालसम्म त्यो भेटिएको छैन ।”
हालको पुस्तालाई सिकेर, पढेर र वर्ल्ड सिनेमा हेरेर आउने सुविधा छ । तर, उपलब्ध साधनस्रोत र सुविधाको अनुपातमा अब्बल निर्देशक नआएको उनको भनाइ छ ।
आफ्नो पुस्ताले काम गर्दै सिक्दै आएको रवीन्द्र सुनाउँछन् । हाल सुरुमै सिकेर आउन सुविधामा रहे पनि अपेक्षित प्रतिभावान् निर्देशक र राम्रा चलचित्र नआएको उनी बताउँछन् ।
“सबैसँग सबै क्षमता हुँदैन । कसैसँग कुनै त कसैसँग कुनै क्षमता हुन्छ । त्यही भनेर केहीसँग हामीले बोलाएर कुरा पनि गरेका छौँ,” रवीन्द्र प्रस्ट पार्छन् । तर, हामीले सोचेजस्तो भेटेका छैनौँ । अरूलाई जज गर्ने क्षमता हामीसँग छ/छैन त्यो पनि कुरा होला, कम्तीमा हामीलाई चित्त बुझ्ने व्यक्ति, आइडिया र स्टोरी नयाँ निर्देशकमा भेटेका छैनौँ ।”