site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नख्खु खोलामा बगेर बाँचेका राजको गुहार– अस्पतालबाट डिस्चार्ज भएपछि कहाँ जाने ?

ललितपुर । पाटन अस्पताल लखनखेलको चिल्ड्रेन वार्ड, बेड नम्बर ३५२ । झ्याप्प दाह्री, जिंग्रिङ्ग कपाल, खुट्टामा ड्रेसिङ गरेका एक युवक टोलाइरहेका थिए । बेडभरी पोकापन्तौरा, केही प्याकिङका खानेकुरा । 

‘तपाईंहरूको डिस्चार्ज भयो, हो ?’ एक्कासि कुनै नौलो स्वर सुन्दा उनी झस्यांग भए । 
मलिन स्वरमा बोले : “अहँ छैन ।” 

‘‘खाना खानुभएन छ त ?’’

“भोक नै लाग्न छाड्यो, के खानु र ?” उल्टै प्रश्न गरेर उनी एकटकले अघिल्तिर हेर्न थाले । 

नख्खु खोलाले बगाएको आफ्नो सर्वस्वबाट केही बचेको खबर कसैले सुनाउँला कि ? गरिखाने ‘वायल्डिङ मेसिन’ले फलाम जोडेझैँ छियाछिया भएको मन जोड्ने कुनै आधार भेटिन्छ कि ?

अनि हेर्दाहेर्दै नख्खुको छालभित्र हराएकी भतिजीको आवाज कतै सुनिन्छ कि ? यस्तै यस्तै भावले टोलाइरहन्छन्, २७ वर्षीय राज साह । जसले शनिबारको बाढीमा नख्खु खोलामा बग्दै ज्यान जोगाएका थिए । 

६ वर्षीया भतिजी मेघना साहसँगै पाँच टाँका लगाएको खुट्टा खोच्याउँदै भित्र–बाहिर गरिरहन्छन्, राज । 

‘‘तीन घण्टासम्म कसरी छानोमै फस्नुभयो तपाईंहरू ?’’ 

घटनाबारे राजले बेलिविस्तार लगाए 
झन्डै तीन वर्षदेखि ललितपुरको भैँसेपाटीनजिक नख्खु खोलानजिकै हामी ग्रिल कारखाना चलाइरहेका थियौँ । मेरो दाइ राजु, उहाँका दुईटी छोरी र म बस्थ्यौँ । ललितपुर महानगर–१४ मा पर्ने टहरो खोलाभन्दा केही माथि नै थियो, झन्डै ५० मिटर । हामीले टहरा बनाउँदा चैतको महिनामा खोला निकै सानो थियो । बर्खामा कहिलेकाहीँ बढेको देखिन्थ्यो । 

धेरै ठूलो पानी पर्दा कारखानाभित्र हल्का छिथ्र्यो, यसपालि बर्खामा पानी पसेन । शुक्रबार दाइको साथी देवराज कार्की पनि आउनुभएको थियो । दिनभर काम गरेर राति पाँचजना मस्त निन्द्रामा थियौँ । दाइ राति १ बजे उठेर हेर्दा पानी परेको तर, तलै देख्नुभएछ । 

फेरि बिहान ५ बजे दाइ नै पहिले उठ्नुभयो । पानी त कारखानाभित्र छिरेर झन्डै कम्मरसम्म आइसकेछ, हामी त्यहाँबाट सुरक्षित ठाउँ खोज्दै निस्कियौँ । निस्कँदा नगद पैसा, कागजात अरु केही बोक्ने होस् भएन, मैले मोबाइल मात्रै बोकेँ, हतार–हतार पाँचैजना त्यहाँबाट भाग्यौँ । 

खोला तरेर पारी जान नसक्ने देखेपछि अलि माथि रहेको टहरोमा जाने सोच्यौँ । ब्लकले बनेको डेढ तलाको टहरो थियो, त्यहाँ कोही थिएनन् । त्यहाँ पानी छिर्दैन भन्ने लागेर बस्यौँ । तर त्यसमा पनि विस्तारै पानी भरिँदै गयो । खोला, बाटो हुँदै चारैतिरबाट पानी भरिँदै गयो । 

हामी भएको ठाउँसम्म पानीले डुबायो । प्लाष्टिकको कुर्सीमा चढेर छानो उप्कायौँ सबैजना छानोमा बस्यौँ । त्यहाँसम्म पानी आउँदैन भन्ने ढुक्क थियो । 

patan-1727696533.jpg
 

त्यति बेलासम्म किनारमा थुप्रै मान्छे जम्मा भइसकेका थिए, फोटो र भिडियो खिच्दै थिए । कोही पारी आऊँ भन्दै कराउँदै थिए । कोही पुलिस आउँछ, चिन्ता नगर भन्दै थिए । चारैतिरबाट पानीको सतह बढ्दै गयो । 

यहीबीचमा हामीले पुलिसलाई पटक–पटक फोन गर्दा लागेको थिएन । घरबेटी, चिने जानेका सबैलाई फोन गरिसकेका थियौँ, सबैले पुलिस आउँछ, उद्धार गर्छ भनिरहे । 

रमिता हेर्ने र फोटो, भिडियो खिच्नेको भीड थियो । हामी पानीले भिजिरहेका थियौँ । धेरै चिसो भएर नानीहरू कामिरहेका थिए । हाम्रो पनि त्यही हालत थियो । यतिकैमा हाम्रो कारखानाका मेसिन, तीनवटा बाइक, जस्ता हाम्रै आँखाअगाडि बगाउँदै लग्यो । 

अन्तिमपटक दाइले साहुजी मिश्रीलाल श्रेष्ठलाई अब हामी बाँच्छौँ कि बाँच्दैनौँ तपाईं आउन सक्नुहुन्छ भन्दै फोन गर्नुभएको थियो । त्यति लामो समय पनि उद्धार गर्न कोही नआएपछि मैले आश मारेर फोन चलाउनै छोडिदिएँ । त्यहाँको वडाध्यक्ष अनि खै को–कसले फोन गर्दै थिए । 

दुई घण्टापछि पारीबाट कसैले दिएको डोरी हाम्रो हात पर्‍यो, तीनैजनाले डोरी बेस्स्री समाएका थियौँ । मैले जेठी भतिजी मेघनालाई दाहिने हातमा र डोरी देब्रे हातमा समाएको थिए । डोरीसँगै पारीबाट क्यारेट पनि पठाएका थिए, तर क्यारेट हामीसम्म आइपुगेन । दाइ त्यही क्यारेट समाउने प्रयासमा हुनुहुन्थ्यो । 

कान्छी भतिजी सेतुलाई देवेन्द्र दाइले समाउनुभएको थियो, तीनजनाले नै डोरी बलियोगरी समाएका थियौँ । देवराज दाइले पानी घट्दैछ भन्दै हामीलाई आस देखाउँदै हुनुहुन्थ्यो । तर, खोला झन्झन् बढ्दैथ्यो । 

यतिकैमा एउटा ठूलो रुखको मुढा आएर ब्लकको टहरोमा बेस्सरी ठोक्कियो र टहरो गल्र्यामगुर्लुम झर्‍यो । हामी एकैचोटी खोलामा पुग्यौँ । तल पुग्दासम्म मेरो एउटा हातमा डोरी र अर्को हातमा मेघना थिइन् । तर, डोरी चुँडियो, मलाई लाग्यो– अब कुनै पनि हालतमा बाचिँदैन । 

मेघनालाई मैले झन् दह्रो गरी समाए । मरे पनि बाँचे पनि छोड्दिनँ भनेर । हामी दुईजनालाई खोलाले बीच–बीचतिर लगेको थाहा पाएँ दाइहरूलाई छेउ छेउतिर लगेजस्तो देखेँ । 

पानीभित्र मलाई दुई तिरबाट बेस्सरी गह्रौँ चिजले थिचेको जस्तो धेरै पीडा भयो, पौडिन खोजेँ तर सकिनँ । कता पुग्दैछु, कतिबेर भयो थाहा छैन । निकै बेरपछि हातले घरको गेटजस्तो भेटेँ, समाउन सकिनँ । फेरि झारजस्तो भेटेँ बेस्सरी समाएँ ।

माथिबाट एकजना महिला र पुरुष, बुंगुर बुंगुर भन्दै आउनुभयो । बुंगुर होइन मान्छे पो रहेछ भन्दै हामीलाई तान्नुभयो, को हो चाहिँ थाहा छैन । मेघनाको पेटमा पानी पुगिसकेको रहेछ । मैले पनि पानी खाएको थिएँ । उहाँहरूले पेट थिचेर निकाल्नुभयो । अनि एकजना पुलिस सरको गाडीमा राखेर हामीलाई यहाँ ल्याएको  ।  

दाइहरू छेउतिर बगेको देखेर बाँच्छन् भन्ने आस थियो । तर, देवेन्द्र दाइ र कान्छी सेतु...
यति बेलिविस्तार लगाएर टक्क अडिए राज । 

दाइ खै त ?

उहाँ खाली उतै जानुहुन्छ, सेतु बगेको ठाउँनेरै बस्नुहुन्छ रे, यहाँ बस्न मान्नुहुन्न । उहाँलाई सेतु र साथी कतै भेटिन्छ कि भन्ने आस छ अझै । 

अस्पतालमा मेघना र राजलाई उनै साहुजी मिश्रीलालले हेरविचार गरिरहेका छन् । अस्पतालका अनुसार मेघनालाई कुनै भित्री स्वास्थ्य समस्या छैन । आँखाको डिलको सामान्य चोट निको हुँदै गएको छ । दुई दिन एचडीयुमा राखेर वार्डमा छिन् । राज भने शनिबार नै डिस्चार्ज भएका थिए । 

हाम्रो टहरो भएको ठाउँनिर एउटा ट्रक उत्तानो परेर बसेको अलिअलि देखिन्छ । त्यसमा अड्किएर केही मेसिनहरू बचेका छन् कि । अरु त केही आस छैन, मिश्रीलालले झिनो आस राखेर भने । 

यता मेघनालाई भने बहिनी हराएको खबर सुनाएका छैनन् बाबु र काकाले । बारम्बार सोध्छिन्– ‘बहिनी कहाँ छिन्, यहीँ ल्याऔँ न, राज भन्छन्– यतै छिन्, निको भएपछि भेट्ने ।’ “मोबाइलमा हेरेको जस्तै गरी बगाएको नि हामीलाई खोलाले..” मेघनाले बाल भावमा बोलिन् । 

“अब यहाँबाट गएपछि फेरि स्कुल जाने । साँच्ची यूकेजीमा मेरो ए प्लस आएको नि,” उनले एकै श्वासमा सुनाइन् । 

बाँच्ने आस नै मारेका राज शरीर अंगभंग नभएकामा नै आफूलाई भाग्यमानी ठान्छन् । फेरि उसैगरी मेसिन राखेर आफ्नो कर्म गरेर जीवन चलाउने इच्छा छ उनको । 

“मृत्यु पर्खिरहँदा पनि उद्धार गर्न नसकेको सरकारमाथि त आस छैन । तर, नेपाली दाजुभाइ दिदी–बहिनीले सहयोग गर्नुभयो भने हामी गरिखान सक्छौँ” उनले झिनो आस राख्दै भने । 

“नेपाली समाजले नै सहयोग गर्ला भन्ने ठूलो आस छ, नत्र त हामी अस्पतालबाट निस्किएर जाने कहाँ त...?”

पीडितलाई सहयोग गर्न चाहनुहुन्छ भने तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ :

राजु साह
सम्पर्क नम्बर
९८१८२७२०८६
९८५११३९७२५

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro