site stats
बाह्रखरी :: Baahrakhari
देश
यी स्थानमा भयो ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । काठमाडौंका केही स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको छ । २४ घण्टाको मापनमा रेकर्ड ब्रेक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा भएको छ । नेपालमा रेकर्ड राख्न थालियताकै त्यहाँ २४ घण्टामा यो सर्वाधिक वर्षा मापन भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

“यहाँ (एयरपोर्ट)मा हिजो बिहान ८ः४५ देखि आज बिहान ८ः४५ बजेसम्म २४ घण्टामा यति वर्षा मापन भएको हो,” उनले बाह्रखरीसित भने, “यहाँ २४ घण्टामा यो अहिलेसम्मकै बढी वर्षा भएको प्रारम्भिक विवरणमा देखिएको छ ।”

Argakhachi Cement Island Ad

उक्त स्थानमा यसअघि २४ घण्टामा सर्वाधिक वर्षा सन् २००२ जुलाई २३ मा १७७ मिलिमिटर मापन भएको उनले बताए ।

उनका अनुसार, शनिबार बिहान (पछिल्लो २४ घण्टा) अरू केही स्थानमा पनि रेकर्ड ब्रेक वर्षा मापन भएको छ ।

ललितपुरको चापागाउँ स्टेसन (वर्षा मापन केन्द्र)मा ३२३ मिलिमिटर वर्षा भएको छ । त्यहाँ यसअघि २४ घण्टामा सर्वाधिक वर्षा २००२ जुलाई २३ मै २००.५ मिलिमिटर मापन भएको उनले जानकारी दिए ।

यस्तै, काठमाडौंको पानीपोखरीमा २२५.२ मिलिमिटर वर्षा भएको छ । त्यहाँ यसअघि २४ घण्टामा धेरै वर्षा सन् १९७१ जुन १४ मा १९८ मिलिमिटर मापन भएको उनले बताए ।

उनका अनुसार, काठमाडौंकै बूढानीलकण्ठमा पनि रेकर्ड ब्रेक वर्षा भएको छ । त्यहाँ १८७.३ मिलिमिटर वर्षा भएको हो । बूढानीलकण्ठमा यसअघि २४ घण्टामा सर्वाधिक वर्षा २००२ जुलाई २३ मा १५९ मिलिमिटर भएको उनले जानकारी दिए ।

ललितपुरको खोकनासहित अरू केही स्थानमा पनि रेकर्ड ब्रेक वर्षा भएको जस्तो देखिएको उनले बताए । तर, त्यो विवरण यकिन हुन बाँकी छ ।

“अरू केही स्टेसनमा पनि रेकर्ड ब्रेक भएको जस्तो देखिन्छ,” उनले भने, “तर, त्यो आधिकारिक रूपमा अहिले नै भन्न सकिने अवस्था छैन । अहिले भनिएको रेकर्ड पनि प्रारम्भिक रूपमा देखिएको हो ।”

गएको बिहीबार रातियताको अविरल वर्षासँगै बाढीपहिरो, डुबानबाट देशभर जनधनको ठूलो क्षति भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्