site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहकारी प्रकरणले तातेको पोखरा, पीडित र रास्वपा आमनेसामने !

पोखरा । सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा आइतबार नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परे । सूर्यदर्शनसहित आधादर्जन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँभन्दा बढी रकम गएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले गरेको कारबाही सिफारिसको आधारमा जोशीलाई आइतबार नै काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । सोमबार जिल्ला अदालत कास्कीले जोशीमाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको समय दिएको छ । उनको सरकारी वकिलसमक्ष मंगलबारदेखि बयान लिइने छ ।

सूर्यदर्शन सहकारीका पीडितले गत माघ २२ गते तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १८ जनाको नाममा पूरक जाहेरी दिएका थिए । नामै किटान गरेर जाहेरी दिए पनि लामिछानेभन्दा अगाडि जोशी पक्राउ परे ।

व्यावसायिक साझेदार जोशी पक्राउ परेपछि लामिछानेलाई पनि प्रहरीले पक्राउ गर्न सक्ने संशयका साथ आइतबार रास्वपा कार्यालयमा कार्यकर्ताहरू भेला भए । भेलालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने बताए ।

रास्वपाका शुभेच्छुक तथा आबद्ध सदस्यहरूले पनि सामाजिक सञ्जालमा लामिछानेविरुद्ध षड्यन्त्र भएको दाबीसहितका पोस्ट गरे । प्रतिवादस्वरूप विभिन्न ठाउँमा भेला हुन आग्रह गरे ।

पोखरामा सोमबार भएको रास्वपाको प्रदर्शन पनि प्रतिवादकै लागि थियो । अन्य स्थानभन्दा पोखरामा सहकारी प्रकरण चर्को पनि देखिन्छ । लामिछाने सहकारी प्रकरणमा जोडिएको घटना पनि पोखराबाटै सुरु भएको थियो ।

Andolan-(1)-1727108102.jpg
गत सालको मंसिरमा एक सार्वजनिक कार्यक्रममा लामिछानेमाथि खोया प्रहार भएको थियो । उक्त प्रकरणपछि लामिछानेको नाम सूर्यदर्शन सहकारीमा जोडिन थाल्यो ।

पोखरा महानगरले गरेको छानबिन प्रतिवेदनमा पनि उनी प्रबन्ध निर्देशक हुँदा सहकारीबाट रकम गएको खुलासा भयो । सूर्यदर्शन सहकारीका पीडितहरूले त्यसपछि माघ २२ मा पूरक जाहेरी नै दिए । लामिछाने त्यतिबेला रास्वपाका सभापतिमात्र थिए । तर, उनीमाथि पूरक जाहेरी परेको केही महिनापछि उनी गृहमन्त्री बने ।

गृहमन्त्री बनेपछि अनुसन्धानलाई दबाएको भन्दै सहकारी पीडित उनीप्रति झनै आक्रोशित बने । यतिसम्म कि केही दिन अगाडि पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्न आएका लामिछानेलाई पीडितहरूले कालोझन्डा देखाए । कार्यक्रमस्थल पुग्न प्रहरीको सहारा लिने अवस्था आयो ।

कार्यक्रमस्थल पुग्दा उनले ‘सहकारी ठग’को आरोप सुन्नुपर्‍यो । ढोका लगाएर गरिएको कार्यक्रममा उनकै पार्टीका सदस्यहरूले सहकारीको विषय प्रस्ट पार्नुपर्ने प्रश्न राखे ।

Andolan-(3)-1727108101.jpg
सहकारी प्रकरणमा प्रश्नैप्रश्नमा जेलिएका लामिछानेलाई पछिल्लो समय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्दै कारबाही नै सिफारिस गर्‍यो ।

उनीसहित कारबाही सिफारिस भएका जोशी पक्राउ परेपछि सोमबार सहकारीपीडितले लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने मागसहित प्रदर्शन गरे ।

अर्कोतिर लामिछानेलाई फसाउन खोजिएको भन्दै रास्वपाले पनि उनको पक्षमा प्रदर्शन गर्‍यो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको गेटबाहिर एकैठाउँमा सहकारीपीडित र रास्वपा समर्थकहरू आमनेसामने भए ।

लामिछानेलाई पक्राउ गरिए कास्की नै ल्याइने भएकाले पोखराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । सोमबार सहिदचोकदेखि पोखरा महानगरपालिकाको गेटबाहिरसम्म प्रहरी तैनाथ गरिएको थियो ।

प्रदर्शनका क्रममा केहीबेर स्थिति तनावजस्तो देखिए पनि दुवै पक्षले आ–आफ्नो प्रदर्शन गरे ।

जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा म्याद थप गर्न लैजानु अगाडि रास्वपाका कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय कास्कीको सामुन्ने धर्ना दिँदै विरोध गरेका थिए । उता, जोशीसहित लामिछाने र जीबी राईलाई समेत पक्राउ गर्नुपर्ने भन्दै अदालतबाहिर सूर्यदर्शन सहकारी पीडितहरू नाराबाजी गर्दै थिए ।

Andolan-(4)-1727108101.jpg

जसै सहकारी पीडितले लामिछानेको समर्थनमा प्रदर्शन भइरहेको चाल पाए, नाराबाजी गर्दै उनीहरू पनि जिल्ला प्रशासन कार्यालय अगाडि पुगे । रास्वपाका कार्यकर्ताहरूले लामिछानेलाई सरकारले षड्यन्त्र गरेर फसाउन लागेको भन्दै प्रदर्शन गरेका थिए ।

‘षड्यन्त्रकारी मुर्दावाद’, ‘भ्रमको खेती बन्द गर’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘सहकारी पीडितलाई न्याय दे’लगायत नारा लगाउँदै रास्वपाका समर्थकहरूले प्रदर्शन गरे । उनीहरूले मिडिया ट्रायल बन्द गर्न माग राखे ।

पार्टी सभापति लामिछानेलाई सरकारले फसाउन लागेकाले सांकेतिकरूपमा विरोध प्रदर्शन गरेको रास्वपा गण्डकीका सभापति एकराज न्यौपानेले बताए । सूर्यदर्शन सहकारी ठगीको अभियोगमा लामिछानेलाई पक्राउ गर्न सक्ने हल्ला सुनेकाले प्रदर्शन गरेको उनको भनाइ छ ।

उता, सहकारी पीडितहरूले चाहिँ ‘जनताको पार्टीको नामबाट ठग्ने होसियार’, ‘राष्ट्रिय पार्टी बनाएर ठगी गर्ने होसियार’लगायत नारा लगाए ।

सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारी ठगीमा कारबाही गर्न अवरोध गर्न लागेको देखेर प्रदर्शन गरेको बताए ।

Andolan-(2)-1727108100.jpg
कार्यकर्ता पीडितको पक्षमा नभई लामिछानेका लागि आएको पीडितहरूको भनाइ थियो । पीडितका लागि न्याय माग्दै गर्दा ठूलो रकम लामिछाने प्रबन्ध निर्देशक भएको बेलामै सहकारीबाट गोर्खा मिडियामा लगानी भएकाले त्यो रकम फिर्ता हुनुपर्ने आफ्नो माग रहेको पनि श्रेष्ठले बताए ।

अर्का सहकारी पीडित सानोकाजी बसौलाले लामिछानेलाई समातेपछि जीबी राईसमेत पक्राउ पर्ने र आफूहरूले बचत गरेको रकम फिर्ता पाउनेमा आशावादी रहेको सुनाए ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro