site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरु भयो कांग्रेसको सयदिने संगठन सुदृढीकरण अभियान, केके हुनेछ ?

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि पुस १६ सम्मका लागि १०० दिने संगठन सुदृढीकरण अभियान थालेको छ । जिल्लामा गएर सबै समस्याको समाधान र समाधान हुन नसकेका विषयमा समाधानको सुझाव लिएर आउने गरी कांग्रेसले ७७ जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाएको हो ।

अभियान आजैदेखि सुरु हुने भने पनि सबै प्रतिनिधिहरूले पत्र बुझिसकेका छैनन् । सबै प्रतिनिधिले पत्र नबुझिसकेकाले जिल्ला प्रतिनिधिको सूची पनि सार्वजनिक गरिएको छैन ।

“७७ जिल्लाका प्रतिनिधिहरूको टुंगो लागिसकेको छ । धेरै जनाले पत्र बुझिसक्नुभएको छ,” कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलालले भने, “केही प्रतिनिधिहरूले पत्र बुझ्न बाँकी छ ।”

उनले सबैले पत्र बुझेपछि जिल्ला प्रतिनिधिहरूको सूची सार्वजनिक गर्न सकिने बताए । प्रतिनिधिलाई बैठकका लागि पाँचबुँदे, अभिमुखीकरणका लागि तीन मुख्य र आठ सहायक गरी ११ बुँदे, सदस्यताका लागि चारबुँदे, भ्रातृ संघ तथा सुभेच्छुक संस्था र सम्पर्क समितिको समन्वयका लागि चारबुँदे कार्यादेश तोकिएको छ ।

यस्तै, अभिलेखीकरणका लागि तीनबुँदे, पार्टीमा रिक्त भएका पदपूर्तिका लागि दुईबुँदे र स्थानीय तहका जनप्रतिनिधिसँग समन्वयका लागि तीनबुँदे कार्य क्षेत्राधिकार (टीओआर) दिइएको छ ।

कांग्रेसले प्रतिनिधिहरूलाई समसामयिक विषय भनेर नेपाली कांग्रेसएमालेबीच भएको सातबुँदे सहमतिको विषयमा समेत बुझाएर पार्टी र सदस्यहरूको कर्तव्य सम्झाउने बुँदा राखेको छ ।

त्यसबाहेक पार्टीको महासमितिबाट पारित दस्तावेज र पार्टीले लिएका मुख्य बुँदा, संविधान संशोधनको विषय र त्यसमा पार्टीको निर्णयसहित जनसरोकारका विषयमा सहकारी ठगीका विषयदेखि बचतकर्ताको रकम फिर्ता गराउने विषयमा पनि जिल्ला तहका नेता कार्यकर्तामा जागरण ल्याउने कांग्रेसको प्रयास छ ।

कांग्रेसले जिल्ला तहका विवाद समाधान, सदस्यता वितरण, पदाधिकारीको जिम्मेवारी बाँडफाँट, पार्टी र जनप्रतिनिधिबीचको समन्वय तथा समसामयिक विषयमा जिल्ला तहका नेताहरूको बुझाइको तहसहितको प्रतिवेदन बुझाउन प्रतिनिधिहरूलाई ढाँचासमेत दिएको छ । प्रतिनिधिहरूले तोकिएको ढाँचामा प्रतिवेदन केन्द्रमा बुझाउनुपर्ने छ ।

“यो पूर्णतया पार्टीको आन्तरिक सांगठनिक विशेष अभियान भएकाले प्रतिनिधि अभिमुखीकरण, बैठक, सम्मेलन, सांगठनिक गतिविधि, समन्वय, पार्टीभित्र देखिएका समस्या र समाधानका उपायमा केन्द्रित हुनुपर्ने छ,” केन्द्रीय प्रतिनिधिलाई दिइएको निर्देशनमा भनिएको छ, “यस अभियानमा सार्वजनिक कार्यक्रम, अभिमुखीकरणबाहेक औपचारिक आशनग्रहण, मन्तव्यलगायत कार्यक्रम रहने छैनन् ।”

केन्द्रीय प्रतिनिधिलाई कांग्रेसले जिल्लाको विवरण, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह, कांग्रेसबाट जितेका जनप्रतिनिधिको विवरण, सम्बन्धित तहमा रहेका क्रियाशील सदस्यतासहितका विवरणको दस्तावेजसमेत दिएर पठाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro