site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित राजदूत भट्टराईबारे अझै गरिएन निर्णय 
रामकृष्ण भट्टराई । फाइल तस्बिर ।

काठमाडौं । श्रीलंकाका निम्ति प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईका विषयमा संसदीय सुनुवाइ समिति अझै अनिर्णीत बनेको छ । सोमबार सिंहदरबारमा बसेको बैठक थप छलफलका निम्ति भन्दै स्थगन गरिएको हो ।

समिति सभापति ईश्वरी न्यापानेले मंगलबार (भोलि) पुनः बैठक बस्ने बताइन् । “थप छलफल गर्नुपर्ने भएकाले भोलि बस्ने गरी आजको बैठक स्थगित भएको छ,” उनले बाह्रखरीसँग भनिन् ।

भट्टराईले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र उपलब्ध गराउन सकेका छैनन् । सोही कारण समितिले निर्णय गर्न नसकेको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राजदूतमा सिफारिस हुने व्यक्ति नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ । तर, भट्टराईले हालसम्म योग्यता पुग्ने शैक्षिक प्रमाणपत्र समितिमा बुझाएका छैनन् ।

यही असोज ३ गते बसेको समिति बैठकबाट परराष्ट्र मन्त्रालयमार्फत भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र मागिएको थियो । “उहाँको शैक्षिक योग्यताको प्रमाणपत्र अझै प्राप्त भएको छैन । परराष्ट्र मन्त्रालयले डकुमेन्ट प्राप्त भएमा उपलब्ध गराउने भनि पत्र पठाएको छ । त्यसैले अब के गर्ने भोलि निर्णय हुन्छ,” स्रोतले भन्यो ।

समितिका एक सदस्यका अनुसार, भट्टराईले भारतमा अध्ययन गरेका हुन् । त्यहाँको शैक्षिक प्रमाणपत्र बुझाउन उनी हच्किएका छन् ।

सरकारले ०८१ साउन १४ गते एकैसाथ १८ देशका निम्ति नेपाली राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । श्रीलंकाका लागि नेपाली राजदूतमा भट्टराईको नाम सिफारिस गरिएको थियो ।

१८ मध्ये संसदीय सुनुवाइका निम्ति १७ जनाको मात्र नाम पठाइएको थियो । एकजनाको नाम फिर्ता लिइएको थियो ।

संसदीय सुनुवाइपछि असोज ३ गते बसेको समितिको बैठकबाट १७ मध्ये १६ जनाको नाम अनुमोदन गरिएको थियो । आवश्यक कागजात (शैक्षिक प्रमाणपत्र) नपुगेको भन्दै श्रीलंकाका निम्ति राजदूतमा सिफारिस भट्टराईको सुनुवाइ स्थगन गरिएको थियो ।

समितिको बैठक आइतबार (हिजो) पनि आह्वान गरिएको थियो । तर, भट्टराईको शैक्षिक प्रमाणपत्र उपलब्ध नभएकाले बैठक बस्दै नबसी स्थगन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro