site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
संसद्लाई निर्देशन तामेल गर्ने भातृसंस्थामा परिणत खोजेको परिणाम

लामो समय चालु रहँदै भदौ मसान्तमा अन्त्य भएको संघीय संसद्को अधिवेशनकालमा आशालाग्दो संकेत देखिएको छ - ‘लाखौँ सहकारीपीडित नागरिकको बचत फिर्ता हुने ।’ सहकारी रकम हिनामिना, दुरुपयोग र अपचलनका हकमा संसद्ले विशेष छानबिन समिति बनायो भने प्रतिवेदन पनि अधिवेशनकालमै आएको छ ।

अब, संसदीय समितिको प्रतिवेदन कार्यान्वयन भएको खण्डमा वास्तवमै संसद्प्रति नागरिक आस्था बढ्नेछ । तर, सहकारी घोटालामा संलग्न पात्रहरू सामान्य छैनन् । कोही त राजनीतिक दलकै नेतृत्वमा छन् भने अधिकांश तिनीहरूबाटै संरक्षित छन् ।
 
त्यसकारण यस प्रतिवेदनले पनि 'हात्ती आयो हात्ती आयो फुस्सा'को नियति भोग्ने हो कि भन्ने आशंका छ । जब कुनै काण्डमा ठूलाबडा जोडिन्छन् तब अनेक प्रपञ्च गरी प्रतिवेदन सडाइने र दोषी पात्रहरू झन् शक्तिशाली रूपमा देखापर्ने हाम्रो नियति बनेको छ ।

जे भए पनि अधिवेशनको महत्त्वपूर्ण उपलब्धि संसद्मा जनताले बेहोर्नुपरेका समस्यामध्येकै अनियमितता र भ्रष्टाचारको विषयमा गहन छलफल हुनु हो । यो अधिवेशनकालमा अनियमितता, सार्वजनिक साधन, स्रोतको हिनामिना दुरुपयोग तथा भ्रष्टाचारका विषयमा अघिल्ला अधिवेशनभन्दा बढी चर्चा र छलफल भए । यसलाई जनताले राम्रो कामको रूपमा लिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अब जनताले सहकारीमा राखेको पैसा फिर्ता हुनुपर्छ । राजनीतिक दलका नेताकार्यकर्ता र टाठाबाठाबाट अर्बौंको रकम हिनामिना र अपचलन भएको देखिएको छ । तिनलाई पनि कानुनीरूपमा तह लगाउनुपर्छ । 
सहकारीको रकम अपचलन छानबिन विशेष समितिले तथ्यसहित लिपिबद्ध गरी प्रतिनिधि सभामा प्रतिवेदन पनि पेस गरिसकेको छ । नेपाल सरकारले पनि यसका सुझाव र सिफारिसहरूलाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । अब, त्यो तत्काल कार्यान्वन भएको हेर्ने जनअपेक्षा छ ।

यसका सुझाव र सिफारिस इमानदारीपूर्वक कार्यान्वयन गरियो भने अनियमितता र भ्रष्टाचारका घटना कम हुँदै जाने देखिन्छ । 

Royal Enfield Island Ad

यति महत्त्वपूर्ण कार्यभार प्राप्त संघीय संसद्को चौधौं अधिवेशन चार महिनाभन्दा बढी चालु रही २०८१ भदौ मसान्तमा अन्त्य भएको छ । सहकारी छानबिनबाहेकका संसदीय कर्म हेर्ने हो भने आशालाग्दो स्थिति छैन । 
संसद्सँग धेरै अपेक्षा थिए । किनभने संघीय संसद्, नेपालको सर्वोच्च नीति तथा विधि निर्माण गर्ने, संघीय  सरकारका नीति, योजना, कार्यक्रम र बजेटको खर्च, कार्यान्वयन तथा भौतिक उपलब्धिको अनुगमन र निगरानी गर्ने तथा  राष्ट्र र जनताले भोग्नुपरेका समस्याबारे छलफल गरी जनता एवं देशलाई समृद्ध र समुन्नत बनाउने अनि समग्र पूर्वाधार निर्माणका नीति निर्माण गर्ने संवैधानिक सर्वोच्च संस्था हो ।

कार्यकारिणी अर्थात् सरकार प्रतिनिधि सभाको विश्वासबेगर एक मिनेट पनि सत्तामा रहन नसक्ने भएकाले कार्यकारिणीले प्रतिनिधि सभाको विश्वास सधैँ प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाले संघीय संसद्लाई थप सशक्त बनाएको देखिन्छ । 

निश्चय नै, अरू सार्वजनिक संस्थाहरूको कामको जसरी निष्पक्ष र स्वतन्त्ररूपले अनुगमन र मूल्यांकन गरिन्छ त्यसरी नै संघीय संसद्को पनि विगत चार महिनाको कामको निष्पक्ष र स्वतन्त्र मूल्यांकन तथा समीक्षा आवश्यक हुन्छ । तर, हामीकहाँ यसको नितान्त अभाव छ । 

जनताले यसरी संघीय संसद्को स्वतन्त्र मूल्यांकन र समीक्षा नगर्ने हो भने संघीय संसद् निस्क्रिय बन्दै जाने देखिन्छ । यसका कमीकमजोरी र त्रुटिहरू समयमै औंल्याएर थप बिग्रिनबाट जोगाउनु जनता जनार्दनको पनि कर्तव्य हो ।

यसरी जनताद्वारा निर्वाचित संस्थाको कामको मूल्यांकन र समीक्षा गर्ने चलन विकसित देशमा नियमितरूपमा हुने गरेको छ । नेपालमा भने नागरिकले यो भूमिका निर्वाह गर्न नसक्दा सरकारका तीनै अंगहरू, कार्यपालिका, न्यायपालिका र व्यवस्थापापिका एवं अन्य सार्वजनिक संस्थाहरू प्रभावकारी सेवा सुविधा प्रदान गर्न र वस्तु वा सेवा उत्पादनमा जिम्मेवार बन्नसकेको देखिँदैन ।

यस्तो मूल्यांकनले संघीय संसद्लाई परिमार्जित, परिस्कृत, सक्रिय र प्रभावकारी बनाउन पनि  ठूलो भूमिका खेल्छ ।  संघीय संसद्को विगत चार महिनाको कामको उपलब्धि के कति भयो त ?

संसद्का चार महिनाका कामले देशमा आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक र पूर्वाधारका विकास र समृद्धिका क्षेत्रमा प्रभावकारी काम गर्नसकेको देखिँदैन । संसद् आफ्नै संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्नसमेत वञ्चित रहन गयो । संसद्का अधिकांश बैठकहरूमा सदस्यहरूको उपस्थिति न्यून रहने गरेको अवस्थामा कसरी राष्ट्र र जनताले बेहोर्नुपरेका समस्या, नीति र विधि निर्माणमा यसको भूमिका सक्रिय तथा प्रभावकारी रह्यो भन्ने र ?

बजेटसम्बन्धी विधेयक पारित गर्नु संसदको नियमित जिम्मेवारी हो । साथै यस अधिवेशनबाट संक्रमणकाणीन न्यायसम्बन्धी चर्चित कानुन पारित भयो । त्यसबाहेक संसद्का कामकारबाही हेर्दा उपलब्धि मान्न सकिने कुनै निर्णय भएन । 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबाहेक अरू पाँच विधेयकहरूको हैसियत सामान्यस्तरका रहेकाले र यी विधेयकले जनता र राष्ट्रको आर्थिक समृद्धि र पूर्वाधार विकासमा कुनै ठोस भूमिका खेल्ने नदेखिँदा विधि निर्माण प्रक्रिया उपलब्धिपूर्ण मान्न सकिँदैन । निश्चय नै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि त्यससम्बन्धी अन्योल र समस्या हट्ने जनअपेक्षा छ । यसलाई राम्रो कुरा नै मान्नुपर्ने हुन्छ ।
 
नेपालमा संसद्लाई राजनीतिक दलहरूले विधि निर्माताभन्दा पनि आफ्नो निर्देशन तामेल गर्ने भातृसंस्थामा परिणत गर्न खोजेको देखिन्छ । विनाकारण लामो समयसम्म संसद्लाई काम गर्न नदिई बन्द गराउनु यसको एउटा उदाहरण हो । दलहरूको यो काम नेपालको वर्तमान संविधन र कानुनविपरीत छ । यस्तो काम गर्ने अधिकार कुनै पनि दललाई छैन । तर पनि संघीय संसद्लाई विनाकारण बन्द गराउने काम भइरहेको देखिन्छ । 
अर्को बिर्सन नहुने कुरा के हो भने संसद् राजनीतिक दलको हतियारका रूपमा उपयोग हुन थाल्यो भने यसले कुनै प्रभावकारी भूमिका खेल्न सक्दैन । यो जनता र राज्यको लागि थप भारमात्रै हुन पुग्छ । संसद्लाई पञ्चायती शासनकालमा झैँ निर्देशित राष्ट्रिय पञ्चायतको भूमिकामा लान खोज्नु भनेको प्रतिगमनलाई स्वीकार्नु हो । 

संसद्का पदाधिकारी तथा सदस्यहरू र राजनीतिक दलका नेताहरूले खुलारूपमा बहस र छलफल गर्न अत्यावश्यक देखिएको छ । देशलाई सशक्त, समृद्ध र विकासमैत्री बनाउने हो भने संसद्लाई दलहरूले स्वतन्त्र संवैधानिक संस्थाको रूपमा विकास गर्न आवश्यक सहयोग गर्नुपर्छ ।

वास्तवमा कुनै पनि लोकतान्त्रिक मुलुकमा संघीय संसद् दलको भातृ संस्थाको रूपमा रहने व्यवस्था संविधाानमा राखेको पाइँदैन । नेपालको संविधानले पनि संसद्लाई दलको निर्देशन र नियन्त्रणबाट चल्ने संस्था बनाउन खोजेको देखिँदैन । 

यी विविध कारणहरूले गर्दा  नेपालको संघीय संसद् सशक्त र प्रभावकारी बन्न सकेको छैन । संघीय संसद्ले अधिवेशनमा त्यस्तो कमजोरी हटाउनेछ ।

वार्षिक बजेट तथा नीति र कार्यक्रम पारित गर्ने एवं संक्रमणकालीन न्याय दिने विषय खासगरी तीन ठूला दलहरू, कांग्रेस, एमाले र माओवादीको नियमित जिम्मेवारीका विषय पनि हुन् । समाज रूपान्तरण गर्ने, जनता र राष्ट्रले बेहोर्नुपरेका समस्या समाधान गर्ने सवालमा केही ठोस काम गर्न सकेनन् भने राजनीतिक दलको अर्थ र महत्त्व पनि रहँदैन । 

यस्ता विषयमा कानुन बनाउन सहमति गर्नु उनीहरूको राजनीतिक धर्म र चरित्र पनि हो । यी विधेयक पारित हुनुमा संसद्को उल्लेखनीय सक्रियता र भूमिका पनि रहेको पाइँदैन । सत्ता र शक्तिको दरुपयोग गर्ने चलन अन्तर्राष्टिय चरित्र पनि हो । सत्ताामा रहनेहरू नजानिँदो गरी सत्ता र शक्तिको दुरुपयोग  र भ्रष्टाचार गर्ने मुलुकमा जापान, चीन, भारत, बंगलादेश, श्रीलंका देखिएका छन् । नेपालमा पनि यही कोटीमा गणना हुन्छ । 

यस कुरातर्फ हाम्रो संसद् र राजनीतिक पार्टीहरूले विस्तृतरूपमा बहस र छलफल गरी राष्ट्रलाई अनियमितता र भ्रष्टाचारबाट मुक्त गराउन प्रभावकारी भूमिका खेलेको खण्डमा संसद्तिर नागरिकका आँखा तान्न सकिन्छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता र प्रशासकहरूलाई भ्रष्टाचारीको आरोपबाट मुक्त गराई आर्थिक सुशासन कायम गर्न गराउन र सार्वजनिक साधनस्रोतको अधिकतम उपयोग गर्न यस्ता अभियान अगाडि बढाउन अत्यावश्यक हुन्छ । यस्तो जनमुखी र राष्ट्रमुखी काम अगाडि बढाई आफनो भूमिका थप सशक्त र प्रभावकारी बनाउन संसद्को सक्रियताको अपेक्षा निरन्तर छ ।
(पूर्वसचिव, संसद् सचिवालय)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro