उचाइ छ र पो उचाल्छ उमंग गहिराइले ।
अब उकालो नै उकालो चढिरहनु छ हामीलाई । जंगलभित्रको उकालो चढ्दा सौन्दर्याभिशप्त अनुभूति उचालिँदै छ । उकालो चढ्ने भनेको साहस बटुल्ने हो, निखार ल्याउन खोज्ने हो जीवनवृत्तमा । उकालो चढ्दा फेदीतिरका र फेदीपरका स्मृतिहरूले एक किसिमको हुरी फिँजाइरहन्छन् सम्झनाहरूमा ।
अत्तरियाबाट डडेलधुरा एक सय छत्तिस किलोमिटर भन्ने सूचना लेखिएको देखेथेँ एउटा माइलस्टोनमा । पहाडी सडक पार गर्न गाह्रो छ बसलाई । सडकहरू सफा छैनन् । मोडहरू र घाउहरूले सडक अप्ठेरो बनिरहेछ ।
उकालो चढ्नु र चढ्दो उमेर पार गर्नु उस्तैउस्तै हो । फेदीबाट उकालोतिर लाग्नु प्रेमाभिभूत तन्मयताको परिणाम बढाउनु हो । उकालाका उचाइहरू स्पर्श गर्दै अघि बढ्नु भनेको तलतलका दृश्यहरूमा रमाउन सजिलो हो रहेछ । तलका मायालु स्मृतिहरूलाई सँगालेर उमांगित बन्नु पनि हो ।
अत्तरिया जंगलमा हनुमान्को ठूलो मूर्ति बनाएछन् हिन्दुहरूले । दुई वर्षअघि त्यतातिर जाँदा त्यो मूर्तिलाई कपडाले घुम्लुङ्ङ बेरिएको थियो । अनावरण नगरिएकाले आँखा छोपिएको गान्धारीजस्तो देखिन्थ्यो हनुमान् मूर्ति । अनावरण गरिसकेपछि निकै शक्तिशालीजस्तो आभास दिन्थ्यो मूर्तिले ।
अलि परतिर सुतिरहेका बुद्धको मूर्ति देख्दा भने रुखरुखै दौडने हनुमान् र शान्तिको कामनामा सुतिदिने बुद्धलाई किन एकै ठाउँमा प्रतिस्थापन गरियो बुझ्न सकिएन ।
“यस्तो घनघोर जंगलभित्र किन बनाएका होलान् हनुमान् र बुद्ध मूर्ति ? यस्तो मूर्ति त केही नउम्रने चट्टाने डाँडाहरूमा बनाएका भए हुन्थ्यो नि, कमसेकम देवदर्शन गर्ने निहुँमा केही शारीरिक परिश्रम पनि पर्थ्यो होला,” मेरो सहयात्रीको अभिव्यक्ति ।
“हो नि, देवमूर्ति र देवस्थल बनाउने नाममा जंगल स्वाहा पारेर, जनावर र चराचुरुंगी भगाएर र उर्वरा माटोमा कंक्रिटको थुप्रोले ढाकेर कहाँ हुन्छ र मान्छेका लागि राम्रो ? यस्तो ठाउँमा बीस–तीसवटा थप रुख रोपिदिने, राम्रा पोखरीहरू खनिदिने र केही जंगली जनावरहरू थपिदिने भए कति राम्रो हुन्थ्यो भावी पुस्ताका लागि ।
मन्दिर बनाउने नाममा जंगल फँडानी गर्ने, सडक अवरोध गर्ने, मलिलो माटो पुरिदिने र जथाभावी चन्दा उठाएर निजी पोल्टो भर्ने प्रवृत्तिलाई रोक लगाउने परिपाटी नबसेसम्म समाज झन्झन् छाडा बनिरहन्छ,” मेरा कुरालाई हो मा हो मिलाए बैतडी, डडेलधुरा र डोटीका मित्रहरूले ।
जंगल असाध्यै सुन्दर छ त्यतातिर । जंगलको समुद्र छिचोल्दै उकालो लागिरहन्छ एकनासले हामी चढेको बस । जंगल सुस्तरी सुसाइरहेछ, मन पनि फुरफुर गरिरहेछ पुतलीझैँ ।
जंगलकै माझमा भेटियो पन्ध्र–बीस घरले बनेको एउटा गाउँ । “बूढीतोला गाउँ हो यो,” चिनाउनुभयो बैतडीका मित्रले । “उः माथि छ नाचेन्थली गाउँ,” थप्नुभयो उहाँले । बीस–पच्चिस गाउँलेहरू स्याउला बोकेर झर्दै छन् गाउँतिर ।
अलि पर पछिल्तिरबाट हेर्दा मान्छे नदेखिने, स्याउलाका भारीहरू टुकुटुकु हिँडिरहेका जस्तो देखिने । त्यतातिर घ्यु, दही, दूधको व्यापार राम्रो हुने बताउनुभयो डोट्याली मित्रले ।
“के गर्नु, जिन्दगी स्याउलामै जन्मन्छ, स्याउलामै मर्छ । जंगलका बाघ, भालुसँग जुधेर र बाँदर, चराचुरुंगीसँग अन्न जोगाउँदा जोगाउँदै जिन्दगी सकिन्छ यतातिर,” थप्नुभयो डडेलधुरे भाइले ।
बस उकालो चढिरहेछ । ट्राफिक भीड छैन त्यतातिर । जंगलकै माझमा एउटा थाप्लामा भेटियो अर्को सानो गाउँ, गुचुमुच्च बसेको सडकको छेउछाउमा ।
“लौ है, यता आउनुस् यता ।”
“लोकल चामल, लोकल मासको दाल र लोकल कुखुरा ।”
“भाँगोको अचार, घ्यु र दहीसँग मिठो खाना ।”
“रायोको साग, मूलाको अचार, गोलभेँडाको चटनी ।”
ढोकाढोकाबाट चिच्याइरहेछन् महिलाहरू । हाम्रो बस टुसुक्क बस्न नपाउँदै धुइरो चल्यो हाम्रो बस वरिपरि । दुई यात्री झरेर सात यात्री चढेपछि बसको ढोका बन्द भयो ।
होटेलको बाहिरभित्र जतासुकै भात खानेहरूको लहर छ । पकाउनेहरू पकाइरहेछन् । खानेहरू खाइरहेछन् । त्यो ठाउँको नाउँ नै रहेछ, खानीडाँडा । चिसो हावा, चिसो पानी, लोकल अन्न–अनाजको परिकार । स्वादिष्ट हुने नै भयो । सरसफाइ र सजावटमा अलि बढी ध्यान दिने हो भने हाम्रा खोच, गाउँ र गौडाका होटेल, रेस्टुरेन्टहरूले अरू प्रसिद्धि पाउने थिए ।
“मेरो गर्दनबाट कसरी रगतको धारा ?,” म त आत्तिएँ । दायाँतिर सर्टको बाउला पनि भिजिसकेछ रगतले । साथीलाई देखाएँ । छुरो रगत देखेर आत्तिनुभयो उहाँ पनि । हल्लीखल्ली गर्यौँ ।
“आत्तिनु पर्दैन । भगवान्को पर्साद हो,” सँगै उभिनुभएको मान्छेको आवाज आयो ।
निगालेका लीलाराम आचार्य हुनुहुँदो रहेछ उहाँ । बसको प्यासेजमा र प्यासेजको दायाँबायाँ सिटमा बस्ने प्रायः सबैका थाप्लामा, टाउकामा, कपडामा, पिठ्युँमा, छातीमा झरिसकेका रहेछन् रगतका धारा ।
लीलाराम आचार्यलगायत ती सातजना सबैले ठूलाठूला भारी बोकेर चढेका थिए खानीडाँडाबाट । भारी बिसाउन मानेनन् । बोकी नै रहेका थिए बसभित्र पनि ।
“आज राति द्यौरालीलाई पाँच सय बलि दिएको क्या ! त्यही पर्साद ल्याया हुँ,” निकै गर्बिलो पाराले बोल्नुभयो लीलाराम ।
“पर्साद ज्युँमा परेर त झन् खुसी हुनुपन्र्या हो, क्यान उतर्सिया हौ त ?,” अर्की आमा बोल्नुभयो ।
ती सातैजनाले पहिरिएका सबै कपडा रगतले लथपथ भिजेका थिए । डुङडुङ गन्हाइरहेथे उनीहरू । देवप्रसादलाई मान्छेले टेकेको ठाउँमा राख्नु हुँदैन भनेर बलिका बोकाहरू पो बोकिरहेका रहेछन् उनीहरूले ।
हामीहरूले उनीहरूसँग बाक्लै गर्यौ कुराकानी ।
“द्यौरालीमा बलि किन दिने ?”
“देउता खुसी पार्न नि ! केही भाकल हुन्छ, त्यो पूरा गर्न पनि बोका, कुखुरा बलि दिनुपर्छ ।”
“केको लागि दिनुभयो त बलि ?”
“मेरो एक छोरा र एक छोरीको बिहे होओस् भन्ने मागेका थियौँ, यसपालि भयो । त्यसबापत दुईदुई गरी चार बोका बलि दियौँ । उः उनको छोरा कतार जान पायो, त्यसको खुसियालीमा दुई बोका बलि दिए । उनको छोरा मलेसियाबाट यसपालि फर्केबापत तीन बोका बलि दिए । उनलाई भने डाक्टरले क्यान्सर भएको भन्यो, त्यो बेथाले छोडोस् भनेर तीन बोका बलि दियौँ । हामी सातजनाले मात्र उन्नाइस बोका बलि दियौँ आज राति । कसैले देउतासँग मागेर र कसैले मागेको कुरा पूरा भएर भाकलबापत बलि दिएका हौँ द्यौरालीमा ।”
“यी द्यौरालीमाई त असाध्यै शक्तिशाली छिन्, बलि दिन सकियो भने मागेको कुरा पुर्याएरै छोड्छिन् ।”
“ए, देवीदेवताहरूलाई पनि घुस ख्वाए, भेटी चढाए, बलि दिए मात्र आफ्ना हुँदा रहेछन्, नत्र त खराब पो हुँदा रहेछन्, हगि !”
“देउताको अर्घेलो सोच्ने कस्ता पापी हुन् यिनी ? त्यही भएर यी पढेका मान्ठासँग देउताको कुरा गर्नु बेकार छ भनेको ।”
“यो सारा संसार कसले सृष्टि गरेको ?”
“उही देउताले त हो नि । जनावर, मान्छे, रुख, पानी, माटो सबै देउताले ।”
“देउता पनि पापी रहेछन्, आफैँले सृष्टि गरेको बोका, कुखुरा खान पर्ने ! देउता आफैँले सृष्टि गरेका हुन् भने आफ्नै सन्तान बोका, कुखुरालाई मान्छेले काटेपछि खाइदिने अत्याचारी भएनन् र भन्या ! यत्रो सृष्टि देउताले नै गरेका हुन् भने मान्छेले ख्वाएपछि मात्र खान पाउने भन्ने पनि हुँदैन नि, मन लागे आफैँले खाइहाल्ने थिए नि ।”
“त्यो त हो, तर पुर्खादेखि चलेको रीत नै यस्तै छ । बाउबाजेले चलाएको रीत नमाने अनिष्ट हुन्छ भन्छन् ।”
“त्यसो होइन, देउताको नाममा मान्छेले निरीह पशु मारेर खानका लागि चलाएको हो यो बलिको चलन । किन भालु, चितुवाजस्ता हिंस्रक जनावरलाई बलि दिन सक्तैन मान्छेले ? घरमा छोराछोरीझैँ पालेका निरीह बोका, कुखुरा च्वाटच्वाटी काटेर कहाँ हुन्छन् देवता खुसी ? टाठाबाठाले देवता छ भने, देवताको पुजारी आफैँ बने । देवतालाई खुसी पार्न निरीह पशुलाई बलि दिने भ्रम फैलाए र आफू बसीबसी प्रसादको नाममा मासु हसुर्न थाले ।”
“त्यो त तम्ले भनेका ठिकै हउ, तर द्यौता नै नमाने घरमा अनिष्ट भैजान्छ नि ।”
“के अनिष्ट हुन्छ ! घर सफासुग्घर नभए, मान्छे फोहोरी, अल्छी र अज्ञानी भए पो हुन्छ अनिष्ट । आजसम्म द्यौतालाई बलि दिएर कोही नमरेको छ ? कोही बिरामी नभएको छ ? कोहीले विध्वंस गर्न छोडेको छ ? समाजमा मान्छे सुधार्ने कुरा पो बढाउनुपर्छ, पढ्ने कुरा बढाउनुपर्छ । गरेको कामले अरूलाई हानि नहुने कुरा पो सोच्नुपर्छ । हेर्नुहोस् त, यस्तरी एकैपटक काटिएका बोका महिनौँ घरमा राखेर खान थालेपछि रोग लाग्छ नि, होइन ?”
“त्यो त हो । पोहोर हाम्रो निगाले गाउँमा बलिको बासी मासु खाएर तीनजना मरे । बेलाबेलामा त्यस्तो त भइरहन्छ, तर शास्त्रले नै बलि दिनु भन्ने लेखिएर त चल्यो होला नि बलि दिने चलन ।”
“हेर्नुस्, हिन्दुले मानेको ठूलो शास्त्र भनेको वेद हो कि होइन ? वेदमा नै यस्तो लेखिएको छ—
इममूर्णायुं वरुणस्य नाभिं त्वचं पशूनां द्विपदां चतुष्पदाम् ।
त्वष्टु ः प्रजानां प्रथमं जानिन्नमग्ने मा हिश्सी परमे व्योम ।।
यसको अर्थ हुन्छ— जस्तोसुकै बोका, उँट आदि चौपायाहरू र पन्छीहरूजस्ता दोपायाहरूलाई पनि मार्नु हुँदैन ।
‘नमार’ भनिएको हो । फेरि, शास्त्रमा गलत लेखिएको छ भनेर गल्ती काम गरिरहनु पनि भएन नि, होइन !”
“त्यो त हो । शास्त्रमै पनि मार्नु हुँदैन भनेर लेखेको त रहेछ नि, हगि ?”
“हो, त्यसो भए अबदेखि आफ्ना मनोइच्छा पूरा गर्ने नाममा आफ्नै सन्तानजस्ता बोका, कुखुरा, राँगा, परेवालाई बलि दिन बन्द गरौँ । फोहोर र बासी खानेकुरा खान र फोहोरी बन्न पनि छोडौँ, कि कसो ?”
“कुरा त ठिकै गर्या हउ । हामी यो कुरा गाउँमा पनि भन्छौँ । हाम्रो त ओर्लने ठाउँ आया । नेपालका मान्छे, कुरा त ठिकै गर्या हउ, राम्ररी जाऊ ।”
उचाइ चढ्दाचढ्दै विस्तारै बाँझका रुखहरू पातलिँदै छन् । सल्लाका थुम्क्याइला रुखहरू झुपुक्कझुपुक्क उभिएर हावासँग सल्लीपिर हल्लँदै छन् । सल्लाको खोटो संकलन गरिएका टिनहरूको चाङ देख्न पाइन्छ ठाउँठाउँमा । रोजिन एन्ड टर्पेन्टाइन उद्योगहरूले त्यतातिर बर्सेनि खोटो संकलन गर्ने कुरा थाहा भयो डडेलधुरे भाइबाट ।
खानीडाँडाबाट उकालो चढेपछि परपर हरिया पहाडहरूको बीचबीचमा ससाना बुकुराहरू देखिन्छन् । तिनीहरू आदिम गाउँजस्ता लाग्दछन् । मान्छेको चहलपहल त्यति देखिँदैन । गाई, बाख्रा र भेडाहरू भने सलबलाइरहेका देखिन्छन् बरु । मान्छेभन्दा वस्तुभाउको संख्या पो बढी छ कि जस्तो लाग्दछ । ठाउँको कारण मान्छेलाई बाँच्न परेको छैन ।
हल्यान्डतिर पानीमाथिको डुंगामा घर अड्याएको र जीविका चलाएको देखेथेँ । मरुभूमिमा ताता बालुवाको रापमा झ्याल नै नभएका घरमा पनि रमाएरै बसेको देखियो । हाम्रै हिमालतिर हिउँले पूरै ढाकेका घरहरूभित्र महिनौँ हलचल नगरी बस्नेहरू कति हुन्छन् कति । एउटा घरबाट अर्को घरमा पुग्न हप्तौँ हिँड्नुपर्ने ठाउँहरूमा रमाएर बाँच्नेहरू त हाम्रै देशका हिमाल र पहाडहरूमा कति छन् कति ।
पारिपारि भित्ताहरूमा टाँसिएका एक–दुईवटा घरका मान्छेहरूले कसरी भेट्दा हुन् स्वास्थ्य सुविधा ? कसरी पाउँदा हुन् अक्षरका रापहरू ? कसरी छुँदा हुन् ज्यान जोगाउने र ज्यान फस्टाउने मूल मन्त्र ? जंगलमा दौडँदै जीविका गर्ने चितुवा र चिलभन्दा के पो फरक छ र उनीहरूको जिन्दगी ! न राज्यले दिएको योजनाको हरक पुग्छ त्यहाँसम्म न नागरिक हुनुको मर्म पुग्छ त्यहाँसम्म । न कसैको ईष्र्या न कसैको लोभ, न मात छ पुगीसरीको । चराझैँ उडिरहेछ जीवन, चराझैँ रमाइरहेछ मन ।
प्राकृत गाउँहरूमा आँखा छोड्दाछोड्दै चट्टाने काखबाट उँभो लाग्न थाल्छ हाम्रो बस । जंगल पातलिएको छ । सल्लाका रुखहरू फाट्टफुट्ट छन् । बाँझका झाङहरू फाट्टफुट्ट छन् । लामा पुच्छर भएका काला, राता र पहेँला चराहरू रुखमा होइन, चट्टानका चुच्चाहरूमा फुरफुरिँदै च्याँच्याँचुँचुँ गरिरहेछन् । माथितिर डाँडाको टुप्पो छोपेर पूर्वतिर लाग्दै छ कुहिरो । नांगा चट्टान काटिएर बनाइएका साँघुरा सडकमा वेग नघटाई गुडाइएका गाडीहरू कुन सड्को फाल हाल्छन् कि भन्ने डर पनि पलाइरहन्छ ।
“लौ, भासुको भीर पनि हेर्नुहोस्, ज्यान पनि हल्का पार्नुहोस्,” सडकको किनार च्यापेर गाडी रोकियो । गाडीबाट ओर्लंदैमा खुरमुरिएला भीरबाट भन्ने डर । माथि हेर्यौँ, आकाश मात्र देखिन्छ । तल हेर्यो, आकाश मात्र देखिन्छ । दायाँतिर गाह्रो लगाएर उठाएको जस्तो सुलुत्त परेको चट्टाने पहाड छ । बल्लतल्ल चट्टान खोपेर कन्दनीजस्तो कोरिएको छ सडक । झुक्किएर सडकबाहिर चालकका आँखा परे भने त्यो गहिराइले रिँगटा लागेरै असन्तुलित बन्न बेर छैन गाडीको गति ।
साँघुरो भएकाले सडकको अन्तिम किनारमा टेकेर गुडिरहनुपर्ने गाडीको बाध्यता । बसको बायाँतिर बसिरहेका मान्छेले त गाडी सडकमा होइन, आकाशमा गुडिरहेको ठान्दो रहेछ । वाकवाक, रिँगटा र डरले मुटु हल्लिरहँदा पेटका पक्वान्न सबै निस्कन थाल्दा रहेछन् धमाधम ।
बसको अन्तिम सिटमा बस्ने एउटी दिदीले के सुरु गर्नुभएथ्यो वाकवाकीको कहानी, त्यो फैलिएर तेह्रजनालाई रित्यायो । बस भने डुङडुङी गह्नाउने ढल पो बन्यो । तै, हामीलाई भने छोएन त्यो रोगले । एक कदम मात्र बस छेउ लाग्यो भने यात्री मात्र होइन, बसकै पनि टुक्राटुक्री फेला पार्न गाह्रै पर्छ त्यो ठाउँमा । घुसमुन्टिने हो कि हामीलाई बोक्ने चलायमान घर !
एउटा गहिरो डरले भने मुटुको चाल बढाइरह्यो । काठमाडौंदेखि एक्लैले बस कुदाएर लैजान सक्ने त्यो सिखुटे ज्यानलाई पुलुक्क हेरेँ मैले । उनी एकनासले हाँकिरहेथे ।
भासुको भीरमा एलाइन्मेट कोर्दा धेरै इन्जिनियर र ओभरसियरले ज्यान जोखिममा पारेको कहानी सुनाउनुभएथ्यो मलाई सडक विभागका डिभिजिनल इन्जिनियर दिनेशप्रकाश बस्नेतले । चट्टान काट्दाकाट्दै चट्टानबाट खसेर, सर्पले डसेर, डाँडातिरबाट बाँदरले लडाइदिएको ढुंगाले लछारिएर र ब्लास्टिङका बाक्ला छिद्राहरूले उछिट्टिएर जीवन निमिट्यान्न पार्नेहरू पनि धेरै भए भन्ने पनि सुनाउनुभएथ्यो बस्नेतजीले ।
हामीकहाँ घटनाको अभिलेख राख्न कमै ध्यान दिइन्छ । कमसेकम भासुको भीरबाट सडक खोल्दा जीवन जोखिममा पार्ने र जीवन सखाप पार्नेहरूको जीवनवृत्त र भासुको भीरको जीवनगाथा समेटेर एउटा स्यानो संग्रहालय मात्र खोलिदिने हो भने भावी पुस्तालाई त्यस किसिमको ज्ञान र ती महान् कार्यकर्मीहरूको सधैँँ सम्मान हुने थियो । जोखिम जित्न उचालिने हातहरूलाई सलाम ठोक्न पछि पर्नु हुँदैन अब ।
यात्रालाई आशाका किरणहरूले तानिरहन्छन् । अनुभवसिद्ध दिग्बोधहरूले दह्रो बनाउँछ यात्रालाई । त्यसो त यात्राका वेदना र उच्छवासहरू, पीडा र मर्महरू, विस्मयका अनन्त रेखाहरू सबैसबैले सिकाउने हुन् जीवनलाई । द्विविधा, सन्त्रास र स्मृतिहरूले दिइरहन्छन् अघि बढ्ने ढाडस । मान्छेले चट्टान र पहाडसँग लडेर प्रकृतिलाई आफूअनुकूल बनाउन सक्तछ भन्ने एउटा उदाहरण भेटेँ मैले भासुको भीरबाट ।
चट्टान होइन, चरीजस्ती लाग्छिन् मलाई मेरी भासु । मन नकोट्ट्याउने हो भने, मुटुमा उत्सर्ग नपलाउने हो भने, आँखामा मायाको बगैँचा नसजाउने हो भने चट्टानबाहेक के हुन सक्तछ र मान्छे ? मलाई मेरी भासुले घरबाट निकालिन्, हिँडाइरहिन् रातबिरात र नाघ्न लगाइन् अजस्र बस्ती र शृंखलाहरू !
म भासुको मुटु खोपेर लेख्न खोज्दै छु धड्कनमा स्पन्दन, र कोर्न खोज्दै छु उनीभित्र आगो हुनहुनाइरहेको गतिशील चित्र । आजसम्म कुनै पनि चट्टानले रोक्न सकेको छैन आकर्षणलाई, थिच्न सकेको छैन कुनै पनि पहाडहरूले साहसलाई । म भासुका चट्टानदार छातीमा संसार ब्युँझाउने घामजस्तो मायाको रंगीन तरंग कोर्न चाहन्छु । भासु साटिरहन्छन् मसँग सुस्केरा ।
चट्टानबाट पार गरेर परपर सुदूर प्रदेशमा पुगिसकेका छौँ हामी । हाम्रा आँखा र स्पर्शमा लालीगुराँसका थकित बोटहरूले पनि गर्दै छन् वाचा गर्भाधानको । साहसको यात्रामा प्रेमरस भरिनुमा ठूलो खुसी छरिएको छ । मेरी भासु अब अजङ होइन, अमिट बनेकी छिन् । रमाएको छु त्यसैमा म, अप्ठेरो पहाडमा भासु भेटिएकी छिन् । अप्ठेरो र अगममा भासुको सौन्दर्य खोस्रन पाउनु यात्राको जाज्वल्यमान उपलब्धि लाग्छ मलाई ।
भासुको भीर काटेपछि अलि ओरालो लाग्छ बाटो । त्यहीँ भेटिन्छ, सहजपुर बजार । दायाँपट्टि अलिमाथि देखिन्छ, जनमुक्ति सेना सातौँ डिभिजनको कार्यालय । बायाँपट्टि छ बुकुरा नै बुकुराको बजार सहजपुर बजार । बजारकै छेउबाट अझ उत्तर–पश्चिम हानिन्छ बस । पहाडी बजार, सफासुग्घर हुनुपर्ने, जतासुकै फोहोर छ । पहाडको काखमा चिटिक्कका घर, चिटिक्कका बाटो, व्यवस्थित आवतजावत, घर वरिपरि फूलका बोटहरू — कति रमाइलो हुन्छ बस्ती ।
सहजपुरमा त्यो देखिएन । जतासुकै प्लास्टिकजन्य फोहर छन् । जतासुकै लेदो, बोक्रा र कुहिएको घुरन फालिएका छन् । मान्छेहरू भुइँमै थचक्क बसेर सुल्फा तानेर बुङ्बुङ्ती धुवाँ उडाइरहेछन् । त्यो अलि सुहाएन मानव सभ्यतालाई । वरिपरिका ध्यानमग्न सल्लाका रुखहरू र ध्यानमग्न पहाडहरूले समेत लाज मान्दै छन् सहजपुरे चालामाला देखेर ।
सहजपुर बजारमै ओर्लियो पूजाका बोका बोकेका सातजनाको समूह ।
हामी फल्टुँडेमा पुग्दा दिउँसो, मध्याह्न हुन लागिसकेको थियो । पहाडकी रानी हो फल्टुँडे, मायाकी खानी हो फल्टुँडे । आउने जाने जोसुकैलाई माया गर्न जानेकी छ फल्टुँडेले । दही, दूध मागे पनि दिन्छे, खीर, कुरौनी र घ्यु मागे पनि दिन्छे । वरिपरिका हरियोपरियो पकाउँछे, सुरासुन्दरी उभ्याउँछे । जे दिन्छे मन जितेर दिन्छे । जे लिन्छे मन जितेर लिन्छे । पहाडको टाकुरामा टुक्रुक्क बसेकी छे । हावाकै वेगले बोलाइरहन्छे हरिया डाँडाहरूलाई र तलतलका खोचहरूलाई ।
फल्टुँडेपछिको सानो घुम्ती सकिएपछि कैलाली जिल्लाको सिमाना सकिन्छ र सुरु हुन्छ, डोटी जिल्ला । सामान्यतः कैलाली जिल्ला भनेपछि तराईका समथर फाँट मात्र भएको जिल्ला भन्ने आमबुझाइ छ । तर, पहाड, भीर, पाखा र उबडखाबड पनि त कम छैन नि कैलालीमा ।
डोटी जिल्ला सुरु हुनेबित्तिकै सल्लाका रुखहरूले ढाकिएको, सिमल र सल्लाहरू आमनेसामने बनेर उभिएको एउटा डाँडो भेटियो । डाँडाकै काखमा थली परेको ठाउँमा भेटियो चहलपहल बोकेको बजार । डाँडाहरूको त त्यतातिर जुलुस नै छ भने पनि हुन्छ ।
वारि डाँडा, पारि डाँडा, माथि डाँडा, तल डाँडा । मानौँ, डाँडा नै डाँडाको समुद्र वा डाँडा नै डाँडाको बादल भुल्काहरू । त्यही डाँडाहरूमध्येमा चिटिक्क परेका घरहरू हुनु, बस्तीको बीचबाट पिच बाटोले छिचोल्नु, पूर्वदेखि पश्चिमसम्मका मान्छेहरू आवतजावत भइरहनु, आउने जाने सबैलाई खाना, खाजा, सर्बत, सोमरस ख्वाईपियाई गरिरहनु, तराईतिरबाट उकालेका स्याउ, केरा, आँप, चाउचाउ, बिस्कुट, लत्ताकपडा र भाँडाकुडा झुन्ड्याइरहनु, पहाडतिरका घ्यु, कागती, कुखुरा, सागपात र दहीदूध आउने जानेलाई सजाइरहनु र चखाइरहनु, टाढाटाढाबाट आएका गाउँलेहरूलाई टेलिभिजन, मोबाइल, क्यासेट, रेडियो र गीत भजनका चक्काहरू बेचिरहनु — साँच्चै सुन्दर र लोभलाग्दो देखिँदो रहेछ । पहाडको थुम्कामा बाक्लो जंगलभित्र फैलँदो बस्ती मन रमाउँदो रहेछ, रसाउँदो रहेछ ।
‘बुडर’ लेखिएको देखियो त्यो बजारको बीचतिर । डोटीको छतिवन गाउँ विकास समितिमा पर्दो रहेछ बुडर ।
होटेलहरूको घन्चमन्च छ बुडर बजारमा । होटेल रावलकी बहिनीले त खानाका लागि असाध्यै बोलाएकी थिइन् । गोल परेर फैलँदै अलि परपर छरिँदै छ बुडर बजार । फैलँदै गरेको बस्तीसँगै सल्लाका रुखरुखमा र घरका धुरीधुरीमा फैलिरहेका बौद्ध तोरणहरू देख्दा त्यहाँका मान्छेहरू अलि बढी नै बौद्धमार्गमा आकर्षितजस्तो लाग्छ । बगलमा फैलिएको खेतका गराहरूले भने बुडरवासीहरू व्यापारमा मात्र होइन, अन्न उमार्ने कलामा पनि पोख्त छन् । जाँगरिला छन् भन्ने पुष्टि हुन्छ ।
बुडरबाट एउटा सानो सडक जोगबुडातिर लाग्यो । हामी भने उत्तरपूर्वतिर मूलबाटो छोडेनौँ । अलि पर धारापानी नामको स्यानो बस्तीले स्वागत गरिरहेछ । त्यसभन्दा पनि अघि बढेपछि भेटिएको छ अर्को बजार, गौराबजार । त्यतैको डाँडामा सरकारी उपस्थिति देखाउन बसेको रहेछ, प्रहरी चौकी घण्टेश्वर ।
त्यहाँ केही बेर रोकियो हाम्रो बस । त्यहीँ लेखिएको रहेछ, ‘डोटीको सीमा समाप्त, डडेलधुराको सीमा आरम्भ ।’ केही बेरमै तीन जिल्ला टेक्न पाइएको खुसी पनि छरिएको देख्छु म मेरो सहयात्रीमा ।
हामी घनघोर जंगल र घनघोर लेकमा कुदिरहेछौँ । भोकले अलि कक्रक्क पारेको छ पेटलाई । सार्वजनिक साधनमा गुडेपछि सार्वजनिक निर्णय नै मान्नुपर्छ, आफूलाई मन लाग्दैमा कहाँ पाइन्छ र ?
त्यो घना हरियो र घना चिसो लेकमा गुड्दा जाडोले छोइरहेछ । अघिल्लो दिन नारायणगढदेखि धनगढीसम्म हुँइकिँदा पसिनाका धाराले लपक्कै भिजेका थिए शरीर ढाकेका कपडाहरू । त्यो लेक पार गर्दा भने पातलो बर्को नै मागेको छ ज्यानले । दुई वर्षअघि अठसट्ठी सालको माघ २१ गते त्यही सडक भएर जिल्ला विकास समितिले गरेका कामहरूको निरीक्षण गर्न गएको थिएँ म । त्यतिखेर हिउँले पूरै ढाकेको थियो सडक । हिमकलाहरू देखिएथे रुखका हाँगाहरूमा र भीरका थुम्का र थलीहरूमा ।
‘यो हबुल्डेको लेक हो सर, यहाँ कहिल्यै गर्मी हुँदैन,’ डडेलधुराकै रामबहादुर भाटले भनेको सम्झन्छु म । उचाइसँगै जलवायुका कति सुन्दर परिवर्तनहरू भेट्न सकिन्छ हाम्रो देशमा । हिउँसँग जुधेर, हिउँको चिसो रसले जराजरामा भिजाएर केही न केही फलाइरहेछन् त्यो भेगका मान्छेहरूले । उखरमाउलो गर्मीले नछोएपछि सधैँँ फुर्तिलो, सधैँँ जाँगरिलो बन्छ मान्छेको ज्यान पनि ।
“ए भाइ, भोकले त लड्न लागिसकियो, भात ख्वाउनु पर्दैन भन्या ?,” दिउँसो १ बजे भातकाँडा पुगेपछि चालकलाई भनेँ मैले ।
“हो, यहीँ त हो ख्वाउने, उः त्यो होटेलमा मिठो पाइन्छ खाना,” भातकाँडा होटेलअघिल्तिर रोके भाइले बस । होटेलको मुन्तिर आलुचा, आलुबखडा र आरुका फलहरू लटरम्म झुलिरहेथे ।
हरहर भएको आँतमा आलुबखडा टोकूँ कि जस्तो पनि नलागेको होइन । लामो यात्रामा हिँड्दा जे पायो त्यहीमा मुख छोडियो भने सल्याकसुलुक बन्न पनि के बेर शरीरलाई ! यात्रामा ठिक खानपान, ठिक निद्रा, ठिक सुस्ताइको ख्याल गरेन भने बित्यास पर्न पनि के बेर ? आलुचा र आलुबखडा सम्झेर मुखमा पानी रसायो । मन बाँधेर भात खानतिर लागियो ।
भातकाँडामा भात, दाल, तरकारी र अचार मज्जैसँग चाङ लगाइयो पेटमा । भात अलि चिसो रहेछ । त्यति मिठोचाहिँ होइन । भोक जाग्न थालेपछि स्वादको शक्तिले लुगलुग नकापी सुक्खै छैन ।
“ए साहुजी, भात त हिजोकै पर्यो कि कसो, तातोको धुकधुकी पनि छैन नि !,” मैले भनेँ ।
“कहाँ सर, यो ठाउँको नाम नै ‘भातकाँडा’ थाहा छैन हजुरलाई ? हिउँदमा त पकाएर झिक्न नपाउँदै चिसोले भात त काँडाजस्तो तिखो भइहाल्छ । त्यसैले यो ठाउँको नाम नै भातकाँडा रहेको हो । भर्खर पकाएको हुँ सर, चिसो भइहाल्यो त मै क्या गरूँ ?,” हाँसे साहुजी ।
“जति चिसो हुने भए पनि आगोमाथि राखेको भए त भइहाल्थ्यो नि !,” हामी हाँस्यौँ र खाइरह्यौँ टिमुरको अचारसँग ।
भातकाँडा छोडेर अलिकति अघि बढ्नेबित्तिकै एउटा स्वागतद्वारमा लेखेको देखियो— अमरगढी नगरपालिकामा यहाँहरूलाई स्वागत छ ।
डडेलधुराको सदरमुकाम खलंगाको नगरपालिका हो यो । अलि पर गएपछि एउटा खोचमा टुक्रुक्क बसेकी छे स्याउलीबजार । यही बजारबाट दुईतिर मोडिन्छ सडक । एउटा पूर्वदक्षिण डोटी सिलगढीतिर, अर्को उत्तरतिर अमरगढी नगरपालिकाको डडेलधुरा बजारतिर ।
स्यानी भए पनि फुर्तिली छे स्याउली । आवतजावत गर्नेलाई भातभान्सा मिलाएकै छे । गाउँ र सहरको किनबेच गराएकै छे । सल्लाको फेदमा सुकसुकाउँदो छे स्याउली । बाँझको बारीमा ब्युँझेकी छे स्याउली ।
बस रोकियो । चालक र सहचालकसँग एक रातमै धेरै हिमचिम बढेको थियो । सहयात्रीहरू सबैसँग मिठो मित्रता गाँसिइसकेको थियो । छुट्टिने बेलामा सबैले दुःख मान्यौँ । रोकिन कसैले हुँदैनथ्यो । रोक्न कसैलाई हुँदैनथ्यो । हामीलाई छोडेर बस बझाङतिर लम्कियो डडेलधुरा बजार हुँदै । हामी स्याउलीबजारमै ओर्लियौँ ।
“डडेलधुरामा स्वागत छ हजुरहरूलाई,” केशव आचार्य र दुर्गा आचार्य दुवैजनाको एकै स्वर फिँजियो हाम्रा कानहरूमा । हातहात मिले । साथसाथ मिले ।
“ए ! को आउँदै हुनुहुन्छ भनेको त दाज्यू पो हुनुहुँदो रहेछ,” मलाई देख्नेबित्तिकै आश्चर्य व्यक्त गर्नुभयो दुर्गाजीले । उहाँलाई दुईजनामध्येको म पनि हुँ त्यहाँ जाने भन्ने थाहा नै रहेनछ ।
“दाज्यूलाई यहाँ भेट्न पाएर कस्तो खुसी लाग्यो मलाई,” खुसीले रूँलारूँलाजस्तो गर्नुभयो दुर्गाजीले । उहाँहरू साथीसाथी त अंकमाल गरिरहनुभयो धेरै बेर । बैतडीतिरबाट आएको बसले प्वाँप्वाँ हर्न बजाएपछि मात्र सल्लोको फेदतिर सम्हालियौँ हामी ।
बाआमा र दाइदिदीसँगै मेला भरेको बेला खुसीले लोलाएकी बालिकाझैँ हाम्रो मिलनको खुसियालीमा मसक्क मस्किइन् स्याउलीनानी । घुम्दै फिर्दै त्यति टाढासम्म यात्रा गर्न पाएको खुसियालीमा मक्ख मक्खियौँ हामी पनि । केही बेरअघिसम्म बादलको बर्कोमा लुकिरहेको घाम पनि फुत्रुक्क ओर्लियो स्याउलीबजारमा ।
बैतडी, बझाङ र डडेलधुराबाट झर्नेहरू झोल र ठोस सँगसँगै हुल्दै छन्, काठमाडौं, कोहलपुर र धनगढीतिरबाट उक्लनेहरू दूधझैँ उम्लेर घरी वल्लो घरी पल्लो पसलमा पुल्पुलिरहेछन् । डोटीतिरबाट भित्रिनेहरू भसभस्ती भस्काइरहेछन् खल्तीको तातो न्यानो ।
किन्नेको भन्दा बेच्नेको फुर्ति छ स्याउलीबजारमा । औँसी बनेर ओर्लनेहरू पूर्णे बनेर उक्लन्छन् स्याउलीबजारबाट । एकक्षणको हाँसो दामको सर्वनासो भइरहेछ कैयौँको स्याउलीबजारमा । जोई पैसा गन्दैमा मक्ख, पोइ पैसा सक्दैमा मस्त पनि देखियो स्याउलीबजारमा ।
स्याउली खाजाघरमा सुस्ताउन खोज्दै छौँ हामी चार ।
“के चखाऊँ हजुरहरूलाई ? उहाँदेखि थाकेर आउनुभएको छ । तोरा जुस खाऊ कि गुराँसको सर्बत ? अथवा, चिसो चिया, लोकल कुखुरा र भुजा ? कि ल्याऊँ चिसो बियर, कालिजको छोयला र चैनपुरे चिउरा ?,” एकै श्वासमा मेनु बताइन् बहिनीले ।
बम्बैकी हिरोइनजस्ती पो धपक्क बलेकी रहिछन् साहुनी । त्यस्तै फुर्तिला र ग्राहकको मन जित्न सफल साहुनी बहिनीहरूको चुरीफुरीले नै चम्केको हो जस्तो लाग्यो स्याउलीबजार । ग्राहकले सामान मात्र होइन, सम्मान पनि चाहन्छन् भन्ने कति मजासँग बुझेकी छिन् ती साहुनी बहिनीले ।
हामीले तोरा जुस पियौँ । गुराँसको सर्बत चाख्यौँ ।
“फर्कने एक दिनअघि नै फोन गर्नुहोला, म तोरा जुस, गुराँसे सर्बत, गहत, सिमी र भाँगो मगाइराख्छु, लैजानुपर्छ है फर्कंदा,” कैयौँ वर्षपछि भेटिएकी बहिनी फुर्केझैँ एकैक्षणमा कोसेली पठाउनेसम्म कुरा गर्न भ्याइन् साहुनी बहिनीले ।
“के गर्नु हजुर, दुई छोरा काठमाडौं र एक छोरी पोखरामा पढ्छन्, आफूले यसो दुःखजिलो नगरे कसरी जुटाउनु खर्चबर्च ? बुढा उही हुन् ट्वाँटबहादुर !”
बहिनीको बोली भुइँमा खसिनसक्तै भुतभुताउँदै र लरखराउँदै भित्रिए झुम्म दाह्री पालेका र ठ्वास्स गह्नाएका एक अधबैँसे । अघिसम्मको हँसिलो अनुहारमा एकाएक ग्रहणले छोप्यो बहिनीको । केही बेर चुपचाप बन्यौँ हामी ।
“अरूलाई फकाईफकाई बियर र रक्सीमा डुबाउँदाडुबाउँदै बुढा पो बनेछन् हगि बिजुलीपानीमा पौड्ने ?,” साहुनी बहिनीलाई भनेँ मैले ।
‘के गर्नु दाज्यू, ‘लागू’ ले मँ र तँ भन्दो रहेनछ,” झर्न लागेको तारा बन्यो बहिनीको अनुहार ।