site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेसँगै कारोबार रकम घटेकोमा अर्थमन्त्रीको चिन्ता, १८ मिनेट खर्चेर पुनर्संरचनाबारे बोलेनन्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुगमनमा पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चिन्तित देखिन्थे । उनी चिन्तित मात्र हैन आफ्नो भाषणमा पनि आफू नेप्सेसँगै दैनिक कारोबार रकम घटेको देखेर चिन्तित भएको बताए । 

एक महिनाअघि साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यो कारोबार रकम हालसम्मकै उच्च हो । त्यही कारोबार रकमलाई देखाउँदै मन्त्री पौडेल अहिलेको कारोबारको अवस्था देखेर आफैँलाई प्रश्न सोध्न थालेको बताउँछन् । “हाम्रो बजारमा एक महिना अगाडि करिब ३० अर्बको कारोबार भएको थियो । अहिले पाँच/६ अर्बमा झर्नुको कारण के होला ?, म आफैँसँग यो प्रश्न सोध्छु,” उनले भने, “यो प्रश्नको जवाफ नपाएसम्म नेप्सेका जिम्मेवार पदाधिकारी र सचिवसँग पनि सोधिरहन्छु ।”

उनले नेप्सेका व्यवस्थापनसामु करिब १८ मिनेट आफ्नो बोली खर्च गरे । पहिले प्रस्तुति दिएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले नेप्सेलाई पुनर्संरचना गर्नुपर्ने कुरालाई जोड दिए । उनले अहिले भएको सरकारको स्वामित्व घटाएर सर्वसाधारण लगानीकर्ता र अन्य विदेशी साझेदार भित्र्याउन पर्नेमा पनि जोड दिए । उनीपछि बोलेका नेप्सेका अध्यक्ष शोभाकान्त पौडेलले पनि नेप्सेको पुनर्संरचना गनुपर्नेमा जोड दिएका थिए ।

नेप्सेमा लगानी बढाउनुपर्ने अवस्था भएकाले यसलाई पुनर्संरचना गरेर विदेशी साझेदारलाई भित्र्याउनुपर्ने पनि बताए । 

त्यस्तै, नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले अन्तर्राष्ट्रिय अभ्यासमा सरकारले दोस्रो बजार सञ्चालन नगरेको बताए । यसका लागि नेप्सेलाई बलियो बनाउन भए पनि पुनर्संरचना आवश्यक परेको बरालको भनाइ छ ।

तर, धितोपत्र बजारका अधिकारीहरूले यसरी सुझाव दिँदा–दिँदै पनि मन्त्री पौडेलले यो विषयमा कुनै कुरा निकालेनन् । बरू उनी बजार घटेकोमा नै चिन्तित थिए । राजनीतिक घटनाक्रमले गर्दा बजारमा उतारचढाव आउने भन्ने विषयलाई केन्द्रमा राखेर मन्त्री पौडेलले अहिले राजनीतिक घटनाक्रम केही नभएको र स्थिर सरकार बनेको समयमा पनि बजारमा लगानीकर्ताको मनोबल किन गिर्‍यो भन्ने आफ्नो चासो रहेको उनको भनाइ छ । 

संस्थागत संरचनाका कुराले गर्दा पनि बजारमा केही प्रभाव परेको भन्दै त्यसमा पनि आफ्नो चासो रहेको बताए । “नेपालको पुँजीबजारले भोगिरेका समस्या, संगठित संस्था र संस्थाभित्रका संरचनाहरूका बारेमा चर्चा हुने गरेको छ । पुँजीबजारको दीगो, भरपर्दाे र विश्वसनीयताको पक्षमा सरकार छ,” उनले भने, “दैनिक ३० अर्बसम्म कारोबार भएको र ३०४० विन्दुसम्म पुगेको परिसूचक अहिले ब्याजदर घट्दा पनि किन घटिरहेको छ । यो चिन्ताको विषय बनेको छ ।”

मन्त्री पौडेलले अधिकांश समय बजार घटेको र कारोबार रकम नबढेकोमा चिन्ता व्यक्त गरेका थिए । यसका लागि सिस्टमले काम नगरेको हो कि भन्ने पनि उनको जिज्ञासा थियो । यसका लागि बजारमा हुने गैरकानुनी क्रियाकलापमा पनि नेप्सेले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

तर, नेप्सेका अधिकारी र अध्यक्ष आफूले मन्त्रालयमा बुझाएको पुनर्संरचनाको फाइलको विषयमा मन्त्रीले बोल्छन् कि भनेर ध्यान दिएर सुनिरहेका थिए । मन्त्रीले भने बजार नबढेकोमा नै चिन्ता व्यक्त गरिरहे ।

नेप्सेको पुनर्संचनाका लागि सञ्चालक समितिले गत आर्थिक वर्ष २०८०/०८१ भित्र नेप्सेको प्राथमिक सेयर निष्कासन गर्ने गरी चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुर्‍याउन मन्त्रालयमा प्रस्ताव लगेको छ । उक्त पुँजीबाट ३० प्रतिशत सेयर कर्मचारीसहित सर्वसाधारणलाई र कुनै पनि एक संस्थालाई पाँच प्रतिशतभन्दा बढी नहुने गरी ३० प्रतिशत सेयर वाणिज्य बैंक, विकास बैंक, पुनर्बिमा कम्पनी, जीवन तथा निर्जीवन बिमा कम्पनी र अन्य सरकारी स्वामित्वका संस्थानलाई प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव छ ।

पुँजी प्रविधि तथा व्यवस्थापकीय क्षमता भएको विदेशी स्टक एक्सचेन्ज रणनीतिक साझेदारका रूपमा आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी बढीमा १५ प्रतिशत सेयर प्रदान गर्न सक्ने व्यवस्था प्रस्तावमा छ । तर, मन्त्रीलाई यस्तो विषयमाभन्दा सेयर सूचकांक र कारोबार रकममा मात्र चिन्ता छ । 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro