site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्टार्टअप कर्जाका लागि पाँच हजार कम्पनीको आवेदन, कतिले पाउलान् ?

काठमाडौं । सरकारले दिने स्टार्टअप कर्जाका लागि करिब पाँच हजार कम्पनी तथा फर्मको आवेदन परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ देखि ३१ गतेसम्म आवेदन बुझाउने मिति तोकेको थियो ।

यसअवधिमा करिब पाँच हजार कम्पनी तथा फर्मले स्टार्टअप कर्जाका पाउन परियोजना प्रस्तावसहित आवेदन दिएका हुन् । तीमध्ये १८ सय वटा आवेदन भौतिक रूपमा प्रतिष्ठानमा बुझाइएको छ । बाँकी आवेदन अनलाइन प्रणालीमार्फत परेका छन् ।

अनलाइनबाट परेकामा धेरै आवेदन पूर्ण नभएका कारण उनीहरूको हकमा के गर्ने भन्ने विषयमा प्रतिष्ठानले बैठक बसेर निर्णय गर्ने भएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले अनलाइनबाट परेका करिब २५ सय आवेदन पूर्ण भएको र बाँकी अपूर्ण पनि रहेको बताए । “करिब पाँच हजार आवेदन परेका छन् । अनलाइनबाट परेका केही अपूर्ण छन् तिनीहरूको हकमा के गर्ने भनेर बैठक बसेर आज या भोलि निर्णय हुन्छ,” प्रतिष्ठानका सूचना अधिकारी घिमिरेले भने ।

‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ अनुसार १० वर्ष ननाघेका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम रहेका कम्पनीले सहुलियत कर्जाका लागि आवेदन दिन पाउने भएका थिए ।

आवेदन बुझाएका कम्पनीहरू अब चरणबद्ध छनोट प्रक्रियाबाट जानेछन् । त्यसबाट छनोटमा पर्ने कम्पनीहरूले सहुलियतपूर्ण कर्जा पाउने छन् । पाँच देखि २५ लाखसम्म तीन प्रतिशत ब्याजदरमा मिल्ने कर्जा एक वर्षपछि भुक्तानी सुरु गरेर पाँच वर्षमा सरकारलाई फिर्ता भुक्तान गरिसक्नुपर्छ ।

गत वर्ष सरकारले आवेदन दिएका करिब १६ सयभन्दा बढीमध्ये छनोटमा परेका १६० भन्दा बढी स्टार्टअप उद्यमलाई कर्जा प्रवाह गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro