site stats
बाह्रखरी :: Baahrakhari
देश
दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

राँझा (बाँके) । दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ । 

नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै आएका छन् । घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मूर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उनले बताए । 

“चौध–पन्ध्र जति मूर्ति तयारी अवस्थामा छन्, रंगरोगन गर्नमात्रै बाँकी छ, अरु तयारी हुँदै छ, अहिले कामले भ्याइनभ्याइ छ”, छोटुले भने,  “आजभोलि मूर्ति किन्न भारत जानु पर्दैन नेपालगञ्जमै ठाउँ–ठाउँमा बन्ने गरेका छन् ।”

Argakhachi Cement Island Ad

उनका अनुसार सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैँको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफैँ बनाएर बिक्री गर्ने गरिएको छ ।

दसैँको नवदुर्गामा नेपालगञ्जका टोल–टोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । कुनैबेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मुर्ति अहिले यहीँका कालीगढले प्रशस्त बनाउने गरेका छन् । दुर्गाभवानीका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छोटुले बताए ।  

नेपालगञ्जमै तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । यसबाहेक जानकी गाउँपालिकामा पनि मूर्ति बनाउने गरिएको छ । दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा दसैको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवानका मूर्तिमा पूजा गर्ने चलन छ ।

बाँकेको जानकी–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिन रात उनी माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त छन् । सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका राजकुमारको यो पुर्ख्यौली पेसा हो ।  

“पहिला घरमा सानो–सानो मूर्ति बनाउथ्यौँ पछि ठूलो बनाउन लागे, दुर्गा मातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु”, राजकुमारले भने, “नवरात्रको बेला ‘सिजन’ हो, पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ, मेहनत धेरै छ ।”

उनका अनुसार २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा चारदेखि पाँच हजारसम्म नाफा हुन्छ । राजकुमारले आफू जस्तै अन्य ६ जनालाई रोजगारीसमेत दिएका छन् । उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । 

“सबैले आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्ने गरेका छौंँ, चिनेजानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, मूर्तिकार राजकुमारले भने, “धेरैजसो ‘रेगुलर’ ग्राहक छन । तर चिनेको आधारमा एकजनालाई छुट गर्दा धेरै जनासँग घाटा खानुपरेको छ ।” रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्