काठमाडौं । नेपाली सिनेमा उद्योगमा केही यस्ता निर्देशक छन्, जो चलचित्र निर्देशन बिनाहतार ढुक्कले गर्छन् । निर्देशनमा हतार गर्दैनन् । हुन त केही वर्षयताका निर्देशक हेर्ने हो भने कतिपयले काम गरेका छैनन् । तीमध्ये कति निर्देशकले प्रोडुसर नपाएर काम पाइरहेका छैनन् ।
प्रोडुसर पाउँदा पाउँदै काम नगर्ने पनि थुप्रै निर्देशक छन् । जो हतार नगरी काम गर्छन् । व्यस्त देखिन वा पारिश्रमिककै निम्ति काम गर्दैनन् । आफूलाई भन्न मन लागेको कथा आफ्नै तरिकाले भन्ने अवस्था आए मात्र निर्देशन गर्छन् । अन्यथा निर्देशन नै गर्दैनन्, खाली हात बस्छन् ।
कमर्सियल भनिने चलचित्र निर्देशन गर्ने भए तत्काल प्रोडुसर पाउने अवस्था हुँदाहुँदै विषयप्रधान सिनेमा बनाउन वर्षौँ पर्खने निर्देशक पनि छन् । यो सूचीको अग्रपंक्तिमा नवीन सुब्बा, मिनबहादुर भाम, दीपक रौनियार छन् ।
यसबाहेक दीपाश्री निरौला, दिनेश राउत, निश्चल बस्नेत, प्रदीप भट्टराई, विनोद पौडेललगायत निर्देशक छन् ।
चलचित्र साहित्यको एक विधा हो । धेरैले त यसलाई साहित्यको सबैभन्दा कठिन विधा भन्छन् । कारण, चलचित्रभित्र साहित्यका धेरै विधा समावेश हुन्छन् । चलचित्रमा समावेश हुने कथा, गीत साहित्यका विधा हुन् । त्यसैले चलचित्रलाई साहित्यको ‘कम्प्याक्ट’ विधा पनि भनिन्छ ।
नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ दुई दशकपछि रिलिज भएको थियो । उनले बीचमा ‘गुडबाई काठमाडौं’ बनाए । तर, यो चलचित्र रिलिज भएको छैन । त्यसैले ‘नुमाफुङ’पछि रिलिज भएको उनको चलचित्र ‘गाउँ आएको बाटो’ हो ।
मिन भामको ‘कालो पोथी’पछि अब ‘साम्बाला’ रिलिज हुँदै छ । उनी करिब नौ वर्षपछि नयाँ चलचित्र लिएर आएका हुन् ।
दीपक रौनियार ‘हाइवे’ रिलिजको चार वर्षपछि ‘ह्वाइट सन’ लिएर आएका थिए । त्यसयता उनको फिचर फिल्म रिलिज भएको थियो ।
दीपाश्री निरौला, दिनेश राउत, निश्चल बस्नेत, प्रदीप भट्टराई, विनोद पौडेल पनि हातमा आएजति सिनेमा निर्देशन गर्न नहतारिने निर्देशक हुन् । यी निर्देशक वर्षमा बढीमा एउटा चलचित्र निर्देशन गर्छन् । यसमध्ये अधिकांशले एक वर्षमा एउटा पनि चलचित्र निर्देशन गर्दैनन् ।
निर्देशक प्रदीप भट्टराई व्यक्तिअनुसार कसले कति समयमा कति काम गर्ने निर्धारण हुने बताउँछन् । व्यक्तिको क्षमता र शरीरले पनि कति छिटो वा ढिलो काम गर्ने भन्ने निर्धारण हुने उनको भनाइ छ ।
यद्यपि, चलचित्र संसारकै कठिनमध्येको एक काम भएकाले वर्षमा धेरै गर्न नसकिने उनी बताउँछन् । एकै समयमा धेरै चलचित्रलाई समय दिन कठिन हुने प्रदीप सुनाउँछन् ।
“मेरो सन्दर्भमा त मलाई दुई वर्षभन्दा चाँडो चलचित्र बनाउन कठिन हुन्छ । मेरो दिमाग र शरीरले नै सक्दैन,” उनी भन्छन्, “नेपालमा वर्षमै दुई वा शोभन्दा धेरै चलचित्र निकाल्ने त निकै कम हुनुहुन्छ, उहाँहरूमा क्षमता भएरै होला । तर, वर्षमै दुई वा शोभन्दा धेरै चलचित्र ल्याउन सहज भने हुँदैन ।”
विश्वका जुनसुकै देशका उदाहरण हेर्दा कम्तीमा दुई/तीन अथवा सात/आठ वर्षमा मात्र सिनेमा लिएर आउने गरेको उनी बताउँछन् । हतारमा ल्याइएका चलचित्र राम्रो नरहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उनी जोड दिन्छन् ।
दिमागी र कलात्मक काम भएकाले चलचित्र निर्माण गर्न समय लाग्ने उनको भनाइ छ । जति धेरै समय भयो त्यति गल्तीहरू देखिने भएकाले निर्देशकले हतार गर्न नहुने उनको मान्यता छ ।
“नजिकबाट हेर्दा गल्ती कथा कमजोरी देखिँदैन, त्यसैले परबाट कमजोरी औँल्याउनुपर्छ भनिन्छ,” प्रदीप भन्छन्, “चलचित्र निर्माणको सन्दर्भमा पर अथवा टाढा भनेको केही समय ब्रेक लिँदै त्यसमा रहेका कमजोरी हेर्ने र सच्याउने भन्ने हो ।”
जति धेरै समय लिएर चलचित्र हेर्यो त्यति नै त्रुटि भेटिने उनी बताउँछन् । “५०औँ जनाको मिहिनेत रहेको चलचित्रमा मिहिनेत गर्नुपर्छ भन्ने हो । सकिन्छ भने त ठिकै हो । होइन एकै समय वा छोटो समयमा प्रोजेक्टलाई न्याय गर्न सकिँदैन भने समय लिएर काम गर्नुपर्छ भन्ने हो,” प्रदीप भन्छन् ।
दर्जनौँ मान्छेको भविष्यसँग जोडिएको चलचित्रमा लापरबाही गर्न नहुनेमा उनको जोड छ । “एउटा चलचित्रमा कति कलाकारको हिट वा फ्ल्प सिनेमा बन्दै छ भन्ने हुन्छ । कति निर्देशक स्वयंको करिअरसँग त्यो चलचित्र जोडिएको हुन्छ,” प्रदीप अगाडि थप्छन्, “त्योभन्दा पनि महत्त्वपूर्ण कुरा निर्माताको करोडौँ लगानीसँग जोडिएको हुन्छ ।”
निर्देशकको लापरबाहीका कारण निर्माता सडकमा आउने अवस्था हुने भन्दै उनी समय लिएर चलचित्र निर्माण गर्नुपर्ने बताउँछन् ।
आफैँले निर्देशन गरेको चलचित्रको पोस्टमा काम भइरहेका बेला अर्को सिनेमाको सुटिङमा निर्देशक हुँदा दिमाग र समय बाँडिने भन्दै राम्रो चलचित्र निस्कने सम्भावना कम हुने उनको भनाइ छ ।
त्यसैले निर्देशक स्वयं र कलाकारको करिअर, निर्माताको ठूलो रकम जोखिममा पर्ने र राम्रो चलचित्र बन्ने सम्भावना कम हुने भएकाले निर्देशकले समय लिएर काम गर्नुपर्नेमा उनी जोड दिन्छन् ।