site stats
बाह्रखरी :: Baahrakhari
खेल
चन्द्रपुरविरुद्ध एपीएफको आधा दर्जन गोल

काठमाडौं । रेनुका नगरकोटेको दुई गोलप्रेरित विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा चन्द्रपुर नगरपालिकाविरुद्ध ६–० को सहज जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एपीएफलाई सहज जित दिलाउन रेनुकाले दुई गोल गरिन् । यस्तै, सविता रानामगर, गीता राना, रश्मी घिसिङ र प्रीति राईले समान एक गोल थपे ।

खेलको १८औँ मिनेटमा सविता रानामगरले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । ३२औँ मिनेटमा रेनुकाले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । ३५औँ मिनेटमा रेनुकाले नै एपीएफको अग्रतालाई ३–० मा पुर्‍याइन् ।
पहिलो हाफमा तीन गोल थपेको एपीएफले दोस्रो हाफमा पनि तीन गोल नै थप्यो ।

५२औँ मिनेटमा रश्मीले गोल गर्दै एपीएफको अग्रतालाई ४–० मा पुर्‍याइन् । ८४औँ मिनेटमा प्रीतिले गोल गरेपछि एपीएफले चन्द्रपुरविरुद्धको अग्रता ५–० मा पुर्‍याएको थियो । त्यसको चार मिनेटपछि नै गीताले पेनाल्टीमार्फत गोल गरेपछि एपीएफले ६–० को जित पक्का गरेको हो ।

प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो । चन्द्रपुरको भने यो पहिलो हार हो । यसअघिका दुई खेलमा चन्द्रपुर बराबरीमा रोकिएको थियो ।

लिगमा आजै भएको पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले संकटा क्लबविरुद्ध १–० को जित निकालेको छ । वालिङको जितमा विदेशी खेलाडी सिसे नान्टोंगोले ३९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्