केही व्यापारीको धनको घमण्ड र कतिपयको मनको पाखण्डले वीवादमा बल्झिएको गैरआवासीय नेपालीहरूको संस्था एनआरएन अभियान कुनैबेला मुलुकको लागि मलम झै थियो । देश बाहिरको नेपाली समाज मुलुकसँग जोडिएको सुखदुःख अनि विकास र विस्तारमा सहयोगी भूमिकामा सधैँ देखिएकै हो । देश संकटमा परेको बेला होस् वा भवितव्य या भूकम्प प्रवासी नेपाली समाज जुरुक्कै उठ्ने आवाज पनि हो । महाभूकम्पको चपेटामा पर्दा होस् वा कोरोनाको कहरसँग लड्दा गैरआवासीय नेपाली संघले देखाएको सहयोग र तत्परताले पनि धेरै कुरा प्रष्ट पारेको छ ।
विदेशमा बसेर मुलुकमा रेमीट्यान्स र सहयोग दिँदै आउने जमात पनि हो प्रवासी नेपाली समाज (डायस्पोरा) । जाति हुन, भूगोल या राजनीति अथवा गामबेसी नै जुन जुन नाम र ठामका आधारमा विदेशमा संघ संगठन खुलेका छन् तिनले पनि आआफ्नो क्षेत्रमा प्रशस्त सहयोग गर्दै आएका छन् । जे जसरी भए पनि प्रवासले देशको सम्मान गरेको छ भन्नुपर्छ र मान्नुपर्छ । यति हुँदाहुँदै पनि यो परोपकारी संस्था यतिखेर गन्तव्यमा अल्झिएको र विवादमा बल्झिएको देखिएको छ ।
वैदेशिक रोजगार होस् वा स्थायी, अस्थायी बसोबासका लागि विदेश पुगेका नेपालीको इतिहास कोट्याउने हो भने त्यति लामो छैन । कूटनीति र परराष्ट्र सम्बन्धका कारण सन् १९५० देखि फाट्टफुटट नेपाली प्रवास लागेको इतिहास छ । अझ एनआरएनका रूपमा बसोबास गर्दैआउने नेपालीको संख्या सन् २००० पछि ह्वात्तै बढेको तथ्याकंले बताउँछ । जे भए पनि यतिखेर प्रवासमा नेपाली समाजको सङ्ख्या बढ्दै गर्दा धेरै खाले सम्बन्धले आफूलाई बलियो बनाएका महसुस गरेको हुनुपर्छ । जस्तो नेपाली चलचित्र, कलाकारिता अनि नेपाली साहित्य र अभिभावक । यी त मात्र केही उदाहरण हुन् । रेमिन्टास र अन्य सम्बन्ध त मुलुकको आर्थिक उन्नतिसँग पनि जोडिएका छन् ।
यतिखेर डायस्पोरामा जति नेपाली छन्, जे गर्दै छन् ती पहिलो पुस्ताका नेपाली नै हुनुपर्छ । डाक्टर, इन्जिनियर, वैज्ञानिक होउन् या श्रमिक वा प्राविधिक । नेपालको माटो ,हावापानी, कलासंस्कृति र रहनसहन अनि राजनितीबाट प्रभावित पहिलो पुस्ताका नेपालीका लागि डायस्पोरा साँच्चिकै ऊर्बर बनेको छ र उन्नतिको आधार पनि ।
किनभने यिनै पहिलो पुस्ताका नेपाली अहिलेको गैर ङआवासीय नेपाली संघको ठूलो झुन्ड हो । मुलुकका कणकणसँग जानकार यी प्रवासीहरू आफूसँगै मुलुकको कलासंस्कृति, रहनसहन अनि राजनीति भुल्न चाहँदैनन् र सक्दैनन् पनि । यिनै कारण पनि प्रवासी नेपाली समाज मुलुकसँग लपक्कै टासिएको छ शरीरभित्रको मुटु झैँ ।
यी सबै कुरा जोड्ने महत्त्वपूर्ण माध्यम हो भाषा र भेषभुषा अनि कलासंस्कृति । पुस्ता हस्तान्तरणको प्रक्रियामा पुगेका नेपालीका लागि अहिलेको सबैभन्दा ठूलो चुनौतीका रूपमा बचाउनुपर्ने, जोगाउनुपर्ने यिनै कुरा भएका छन् ।
अहिले प्रवासमा दसैं तिहारमात्रै होइन तीज, ह्लोसार र छठ अनि माघी र होली पनि प्रशस्तै मनाइन्छ । पहिचान र परम्परा सकिने र मासिने वस्तु होइनन् । यी त बरु सद्भाव र संस्कारको महत्त्वका विषय हुन् ।
किनभने प्रवासी नेपालीहरूको दोस्रो पुस्ता भाषा अनि परम्पराको जर्गेनाको विषयमा कमजोर देखिएको छ । मुलुकसँग जोड्ने तारका रूपमा रहेको भाषा नै जीवन्त रहेन भने नेपालीको संख्या जति बढे पनि हामीबिचको सम्बन्ध सुमधुर हुन सक्दैन । लोकलयलाई “ह्वाट इज दिस” भन्ने पुस्ता अंग्रेजी गानामा रमाउन थालेपछि नेपालीत्व कायम कसरी रहला र ? तसर्थ विश्वभर फैलिएको एनआरएन र यसका सम्बद्ध राष्ट्रहरूले नेपाली भाषाको जर्गेना र कलासंस्कृतिको रक्षा गर्ने नयाँ अभिभारा पनि बोक्नुपर्छ ।
एनआरएन विश्वासिलो साझेदारका रूपमा संसारभर चिनिदै आएको परिप्रेक्षमा अबको यसको उद्देश्य नेपाली भाषा र भेषभुषाको रक्षा गर्नु पनी हो । सम्वन्धित देशहरूले भाषा कक्षा र कला, साहित्य र संस्कृतिको रक्षा गर्ने कार्यक्रम ल्याउनुपर्ने बेला आइसकेको छ । भाषा र संस्कृति नै नरहे हामी कसरी नेपाली रहौँला !
एनआरएनको सबैभन्दा ठूलो मागका रूपमा रहेको दोहोरो नागरिकता पाए पनि सोचेजस्तो हुनसकेको छैन । नागरिकता बोकेर पनि भिसा लिनुपर्ने बाध्यता छँदैछ । 'एकपटकको नेपाली सधैँको नेपाली' भन्ने नारालाई सफल पार्ने जिम्मेवारी पनी सकिएको छैन । यस्तो महत्त्वपूर्ण घडीमा तेरो र मेरो अनि कांग्रेस र कम्युनिस्ट, राप्रपा भन्दै राजनीतिक रंगमा रंगिने र संस्थालाई बन्धक बनाउनेलाई सबैले धारे हात लगाउनुपर्ने बेला आएको छ । गर्नुपर्ने कैयौं काम र काँधमा आएको जीम्मेवारी बिर्सेर परोपकारी अभियानमा पापी नजर लगाउनेहरूसँग सावधान हुनु आवश्यक छ । सबैले बुझ्नुपर्छ केही स्वार्थी धनाड्यमात्र होइन लाखौं प्रवासीको मायाप्रीतिले सिँचिएको साझा संस्था हो यो ! समानान्तर संस्था खोलेर पनि केही स्वार्थीहरूले अझै गिद्धे नजर लगाउन छाडेका छैनन् । पछिल्लो पटक कानुनी अल्झनमा फसेको एनआरएन तीन महीना त्यसै रुमल्लियो । अब यसलाई पुरानै लयमा फर्काउने र प्रवासीको विश्वास दिलाउनेमा बद्री केसीको नेतृत्व लाग्नुपर्ने देखिन्छ ।