site stats
बाह्रखरी :: Baahrakhari
देश
तिजमा बिहान ३ बजेदेखि पशुपतिका चारै ढोका खुला गरिने

काठमाडौं । तिज पर्वका निम्ति काठमाडौंको पशुपतिनाथ मन्दिरमा तयारी करिब पूरा भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले तिजका निम्ति आवश्यक सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

Argakhachi Cement Island Ad

उनले उक्त दिन भगवान् पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका निम्ति गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिणपट्टि जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको बताए ।

यस्तै, मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिर निस्किएर शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिए ।

पिंगलास्थानबाट वनकाली, चार शिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोका हुँदै चौँसट्ठी सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिर निस्किएर पञ्चदेवल पूर्वदक्षिणमा निर्मित जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको उनले बताए ।

तिलगंगा–राम मन्दिर हुँदै वाग्मती नदी पूर्व किनारबाट आर्यघाटनजिकको पुल भएर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्रांगणबाहेक) अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्