site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चाडपर्वमा निजी विमान कम्पनी चुस्त, निगम ‘ग्राउन्डेड’
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । चाडपर्वका अवसरमा बढी आर्जन गर्न निजी क्षेत्रका वायुसेवा कम्पनी चुस्त दुरुस्त हुँदै छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको हालत भने कन्तबिजोग छ ।
 
निगममा भएका विमान पनि ‘ग्राउन्डेड’ र ‘सी चेक’मा रहेपछि ध्वजावाहकमा ‘ध्वजा’ मात्र छ । अर्थात्, विमान छैन ।

निगमको अन्तर्राष्ट्रिय उडानका निम्ति चार र आन्तरिक उडानका लागि दुई विमान छन् । निगमसँग दुई ‘वाइडबडी’ र दुई ‘न्यारोबडी’ विमान छन् । एउटा वाइडबडी विस्तृत मर्मत ‘सी चेक’का निम्ति इटालीमा दुई महिनादेखि अलपत्र छ । अर्को वाइडबडी पनि सी चेकका लागि गएको साता इटाली पठाइएको छ ।

यस्तै, आन्तरिक उडानका निम्ति रहेका दुई ट्वीनअटर विमानमध्ये एउटा ‘ग्राउन्डेड’ छ । अर्को, उडान त हुन्छ, तर नगन्य मात्र । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकानुसार, सन् २०२३ मा आन्तरिक उडानमार्फत साढे ४१ लाख यात्रु ओहोरदोहोर गर्दा निगमका विमानबाट १३ हजार २०० जना मात्र थिए ।

Dabur Nepal
NIC Asia

आन्तरिक उडानतर्फ २०१८ मा २८ लाख ४७ हजारजनाले यात्रा गरे । तीमध्ये निगमका विमानबाट जम्मा ७९ हजार १०० (२.७८ प्रतिशत) जनाले यात्रा गरेका थिए । २०१९ मा ३१ लाख ८८ हजारले आन्तरिक यात्रा गर्दा ७४ हजार २०० (२.३२ प्रतिशत)ले निगमका विमान चढे ।

सन् २०२० मा १४ लाख ५७ हजार आन्तरिक हवाईयात्रुमध्ये २३ हजार ६०० (१.६२) जनाले निगमका विमानबाट यात्रा गरे । २०२१ मा ३५ लाख ५७ हजार यात्रुमध्ये २० हजार ४०० (०.५७ प्रतिशत), २०२२ मा ४४ लाखमध्ये १७ हजार ४०० (०.३८ प्रतिशत) र सन् २०२३ मा ४१ लाख ५० हजार ३२६ आन्तरिक हवाईयात्रुमध्ये १३ हजार २७८ (०.३१ प्रतिशत) जनाले मात्र निगमका विमानबाट यात्रा गरे ।

तथ्यांक हेर्दा निगमको बजार प्रत्येक वर्ष गुम्दै गएको देखिन्छ । निगमका विमान पटक–पटक ग्राउन्डेड हुँदा बजार हिस्सा र यात्रु ओसारपसार पनि क्रमशः कम हुँदै गएको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले ०८० मा बुझाएको प्रतिवेदनानुसार, व्यवस्थापनको लापरबाहीका कारण निगमले बर्सेनि आफ्नो बजार गुमाउँदै गएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ पनि व्यवस्थापनको लापरबाहीका कारण निमगले यात्रुको विश्वास गुमाउँदै गएको देखिन्छ । यही भदौ ११ गते निगमको न्यारोबडी (सगरमाथा) १५६ यात्रु लिएर हङकङ उड्ने तयारीमा रहँदा हाइड्रोलिकमा समस्या आएको भन्दै रद्द गरियो ।

भदौ ८ गते ग्राउन्डेड हुँदा मर्मतमा लापरबाही गरिएको थियो । हाइड्रोलिकको सिल्ड टाल्न सुपर ग्लुको प्रयोग गरिएको भन्दै नागरिक उड्ड्यन प्राधिकरणले विमान ग्राउन्डेड गराएको थियो । यसले नेपालको विमान अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बदनाम हुँदै आएको छ ।

अन्तर्राष्ट्रियतर्फ निगमले आठ देशका १० गन्तव्यमा उडान गरिरहेको छ । तर, निगमका गन्तव्य बढ्नेभन्दा उल्टो घट्दै छ । ०५० मा निगमले १३ देशमा उडान गर्थ्यो । हाल आठ देशमा खुम्चिएको छ । युरोपियन युनियन (ईयू)ले सन् २०१३ देखि कालोसूचीमा राखेको निगम सच्चिएर अघि बढ्नुभन्दा झन्झन् कमजोर हुँदै गएको छ ।

व्यवस्थापन निकै कमजोर रहेको र कुन पाटपुर्जा कहिले मर्मत गर्नुपर्छ भनी निगमको आफ्नै नियमावलीमा रहे पनि नियम पालना नगरिएको सांसद शिशिर खनाल बताउँछन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा खनालले निगममा चरम लापरबाही भएको जिकिर गरे ।

“नेपाल एयरलायन्सको कुन जहाजको पाटपुर्जा कहिले बिग्रन्छ सक्छ भनेर आफ्नै नियमावलीमा छ,” उनले भने, “कार्यतालिकाअनुसार कामै नभएको भनेर यसअघि बनेको समितिले रिपोर्ट नै दिएको छ । बिग्रेपछि बनाउनुपर्छ भनेर कुनै कार्यतालिकाअनुसार कामै भएको छैन भनेर रिपोर्ट आएको छ ।”

मर्मतका निम्ति पठाएको विमान लामो समयसम्म नआउने, कुन पार्ट कहिले मर्मत गर्नुपर्छ त्यो पनि नहेर्ने र निगमका पदाधिकारी विभिन्न बहाना बनाएर विदेश जाने, एउटा मुलुकमा बनाउने भन्दै अन्यत्र घुमेको र उनीहरूले नै निगम डुबाएको खनालको भनाइ छ ।

राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले व्याप्त निगम यथास्थितिमा चल्न नसक्ने भन्दै निजीकरण गर्नुपर्ने आवाज पनि उठाउन थालिएको छ । सी चेकका निम्ति गएको विमान एक महिनाभित्र आउनुपर्नेमा हालसम्म पनि नआएको भन्दै सांसद देवीप्रकाश भट्टचनले सरकारले निगम चलाउन नसक्ने भए निजी क्षेत्रलाई दिनुपर्ने बताए ।

“निगमसँग पनि चारवटा विमान छ । हिमालय एयरलायन्ससँग पनि चारवटा विमान छ । हिमालयको जहाज कहिले ग्राउन्डेड भएको समाचार आउँदैन, तर निगमको किन आउँछ ?,” उनले प्रश्न गरे ।

सरकारले निगम चलाउन नसक्ने हुँदा निजी क्षेत्रलाई दिनुपर्नेमा सांसद पशुपतिशमशेर राणा पनि सहमत छन् । “नेपाल एयरलाइन्सको समस्याको समाधान सरकारबाट हुने म देख्दिनँ । यसरी निगम चल्दैन । चलाउन निजी कम्पनीलाई दिऊँ । यसको हल निजीकरणबाट मात्र हुन्छ,” उनले भने ।

०७६ मा नेपाल सरकारका पूर्वसचिव सुशील घिमिरे संयोजक रहेको नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदलले पनि निगमलाई निजीकरणको सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताउँदै आएका छन् । “नेपाल एयरलाइन्स खस्किएको छ । अत्यन्तै कमजोर भएको छ । त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ । नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ,” मन्त्री पाण्डे भन्छन्, “यसको सुधारका लागि आवश्यक तयारी गरेका छौँ ।”

दुई महिनाअघि इटालीमा मर्मत गर्न पठाएको विमान आउँदो साता आउने र दसैँअघि चारवटै सञ्चालन गरिने निगमका प्रवक्ता (टेक्निकल) मनोजकुमार साहले बताए । “७ तारिखमा इटालीबाट रिलिज गर्ने प्लान उनीहरूले दिएका छन् । त्यहाँबाट ७ तारिखमा रिलिज भयो भने आउला,” उनले भने, “दसैँअघि दुवै विमान ल्याउने हाम्रो तयारी छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu