site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आत्मविश्वासले दिलाएको ऐतिहासिक पदक
SkywellSkywell

काठमाडौं । “म सधैँ भन्छु, आफूमा विश्वास गर । आफूले आफूमा विश्वास गरेन भने हामीले केही पनि गर्न सक्दैनौँ । यो नै मेरो सबैभन्दा बलियो हतियार हो,” पेरिस पारालम्पिकमा ऐतिहासिक कांस्य जितेर स्वदेश फर्किएपछि पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दिएको सफलताको निम्ति सुझाव हो यो ।

पलेशा बुधबार बिहान स्वदेश फर्किइन् । उनलाई स्वागत गर्न खेलकुद नियामक निकायका सबैजसो पदाधिकारी विमानस्थल पुगेका थिए । यो ऐतिहासिक पदकको खुसियाली बनाउन राष्ट्रिय खेलुकद परिषद् (राखेप)ले पलेशालाई नगर परिक्रमा गरायो । यो नेपाली खेलकुदले विरलै देख्न पाउने दृष्य थियो ।

पलेशाले पेरिस पारालिम्पिक–२०२४ को के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जित्दै नेपाली खेलकुदमा इतिहास बनाएकी छन् । उपलब्धिलाई आधार मान्ने हो भने पनि पलेशाले पाएको सफलता नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् ।

Dabur Nepal
NIC Asia

ओलम्पिकमा नेपालको सहभागिता सन् १९६४ देखि सुरु भएको हो । पाराको प्रतिस्पर्धामा पनि नेपालले सहभागिता जनाउन थालेको दुई दशक पुगिसक्यो । तर, विश्व खेलकुदको सबैभन्दा ठूलो र बृहत् यस प्रतिस्पर्धामा पलेशाको पदकअघि छनोट चरण पार गर्नु नै नेपालको गर्विलो सफलता थियो ।

palesa-1-1725425831.jpgसन् १९८८ मा दक्षिण कोरियामा भएको २४औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले कांस्य जितेका थिए । तर, प्रदर्शनी खेल भएकाले पदक तालिका र नेपालको ओलम्पिक इतिहासमा उक्त पदकले आधिकारिकता पाउँदैन ।

प्रतियोगिताको रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभको चुनौती १५–८ ले पन्छाउँदै इतिहासर रचिन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । क्वार्टरफाइनलमा भने अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम २० सेकेन्ड सम्हालिन नसक्दा पलेशा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परिन् । हारका बाबजुद पलेशाले रिपेचज खेल्ने अवसर पाएकी हुन् । क्वार्टरफाइनलदेखि पराजित हुनेलाई मात्र रिपेचेज खेल्ने अवसर दिइएको थियो । पहिलो चरणमै हार बेहोर्नेलाई यो सुविधा थिएन ।

चार वर्षअघिको डर 

लगातार दोस्रो पारालम्पिक खेलेकी पलेशा टोकियो पारालिम्पिकमा पनि पदक भिडन्तमा चुकेकी थिइन् । उनले टोकियोमा पनि सोही तौल समूहको रिपेचेजमा सर्वियाकी मरिजालाई नै हराउदै कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । तर, कांस्य पदकका लागि भएको भिडन्तमा भने चीनकी ली युजीसँग १२–९ ले पराजित भएको नमिठो अनुभव थियो पलेशा र उनको परिवारसँग । 

घरबाट पलेशाको कांस्य भिडन्त हेरिरहेका बुवा प्रदीपलाई डर थियो, चार वर्षअघिकै नतिजा दोहोरिन्छ कि भन्ने ।

7-1725425829.jpg“जुन त्यो लास्ट सेकेन्ड्स जुन थियो नी, ३०–४० सेकेन्ड्समा, त्यो बेला आस नै मारिसकेको थिए । टोकियो पारा ओलम्पिकमा जस्तो हुने त होइन भन्ने सोच आएको थियो । तर, अन्तिमतिर उसले जुन किसिमले कमब्याक गर्‍यो नि, त्यो एकदमै खुसीको क्षण भएको छ, हामीलाई,” खेलअघिको डर र खेलपछि छाएको हर्षको भावना पलेशाका बुवा प्रदीपले एकै सासमा पोखे ।

१० वर्षको उमेरदेखि तेक्वान्दोमा 

प्रदीप र आमा मनीताका तीन छोरीमध्ये माइली सन्तान पलेशा उमेरले २१ वर्षमात्र पुग्दै छिन् । जावलाखेलस्थित डीएभी स्कुलमा अध्ययनरत रहँदा पलेशाले १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी थिइन् । 

“हाम्रो छोरा छैन । त्यसैले सेल्फ डिफेन्स सिक्यो भने राम्रो हुन्छ, त्यो हिसाबले हामीले उसलाई त्यत्तिकै स्कुलको गतिविधिमा पठाएको,” बुवा प्रदीपले पलेशालाई तेक्वान्दो सिकाउनुको उद्देश्य खोतले, “स्कुलको टिचरले राम्रो छ भन्दा भन्दै, त्यहाँबाट डोजाङमा गयो अनि रंगशालामा आयो, अनि रंगशालाबाट सातदोबाटो । त्यसरी नै यहाँसम्म आइपुगेको हो ।”

पलेशा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन् । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेशाको ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उक्त प्रतियोगितामा उनी पाँचौँ स्थानमा रहिन् ।

पारातेक्वान्दोमा ६ अन्तर्राष्ट्रिय पदक

पेरिस पारालम्पिकको पदक पलेशाको करिअरको छैटौँ अन्तर्राष्ट्रिय पदक हो । यसक्रममा उनले तीन स्वर्ण र तीन कांस्य जितेकी छन् । पलेशाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता–२०१८, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स–२०२१ तथा चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोट–२०२४ मा पलेशाले स्वर्ण जितेकी थिइन् । ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेशाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् ।

पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेशा एक्लो नेपाली खेलाडी हुन् । टोकियो पारालिम्पिकमा भने पलेशा वाइल्ड कार्डमार्फत सहभागी भएकी थिइन् ।

3-1725425295.jpg
 

उनले सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद–२०२२ मा कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा पलेशाले जितेको कांस्य नेपालले पाएको हालसम्मकै एकमात्र पदक हो ।

पलेशासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौँ एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।

'अब हामीसँग पनि ओलम्पिक पदक छ'

नेपाल ओर्लिदापछि पाएको चासो र मायाबाट लेशा दंग थिइन् । नगर परिक्रमासहित त्रिपुरेश्वर आएकी पलेशासँगै उनका प्रशिक्षक कविराज नेगी र पारालम्पिकमा सहभागिता जनाएका भरतसिंह महता र भीम कार्कीलाई राखेपले सम्मान गरेको थियो । त्यसपछि पलेशाले काठमाडौं महानगर र राष्ट्रपतिबाट पनि सम्मान थापिसकिन् । राखेप परिसरमा भएको कार्यक्रममा पलेशाले अब नेपालले पनि गर्वका साथ ओलम्पिक पदक छ भन्ने अवस्था बनेको बताइन् ।

7-1725425296.jpg“पेरिसमा पलेशाले पदक ल्याउछ भनेर सबैले आशा गरेका थिए । मेरो त्यसमा वाचा थियो । अहिले मैले पदक घर ल्याएको छु । अब हामी गर्वका साथ भन्न सक्छौँ, हामीसँग पनि एउटा ओलम्पिक मेडल छ,” पलेशाले भनिन्, “ओलम्पिकमा नेपालले पदक ल्याउन सक्दैन भन्ने देखिएको थियो । तर, ममा विश्वास थियो । यो सम्भव छ । हामीलाई त्यति धेरै सुविधा थिएन । हामीले एक महिनामात्र प्रशिक्षण गर्‍यौँ । खेल दिन ममा गर्न सक्छु भन्ने विश्वास थियो । मैले गरे पनि । यो सुरुआत मात्रै हो, अझै धेरै कुरा बाँकी नै छ ।”

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu