
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार महामन्त्री विश्वप्रकाश शर्मा बोल्दा बोल्दै कड्किए । चितवनमा पुगेर पार्टीबाट अवकाश लिने बेला आयो भन्दै देउवाले दिएको अभिव्यक्तिको प्रशंसा गरेका महामन्त्री शर्माले देउवालाई फेरि प्रधानमन्त्रीको दौडमा नलाग्न सुझाव दिए ।
महामन्त्री शर्माको यही प्रस्तावमा देउवाले चेतावनी दिएका छन् । “चितवनमा बोल्दा अवकाश लिने बेला आयो भन्नुभयो । यो प्रशंसनीय छ । पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो,” शर्माले भने, “तर, नीतिमा, सिद्धान्तमा सबै कुरामा एकता छ । विवाद/प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि छ ।”
उनले पार्टी सभापति तेस्रोपटक बन्न विधानले रोकेको भन्दै विधानले नरोकेको प्रधानमन्त्री पनि नबन्न आग्रह गरेका थिए । “अब ०८३ असारमा आफू छैटौँपटक प्रधानमन्त्री बन्नतिर नलागेर अरु साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ सभापतिले,” विश्वप्रकाशले फुर्क्याउने प्रयास गर्दै भनेका थिए, “सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ ।”
तर, फुर्क्याउने महामन्त्रीको प्रस्तावपछि देउवाको धैर्यको बाँध फुटेको थियो । आफू आफ्नै मर्जीको मान्छे भएको भन्दै अरुले भनेर नहुने बताएका देउवाले महामन्त्री शर्मालाई चेतावनी दिएका थिए । “म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन,” देउवाले चेतावनीयुक्त भाषामा भने, “म अप्ठेरो मानिस हुँ नि, विचार गर्नुस् !” त्यति भनेर उनले आफूले राजनीतिबाट अवकाश लिने विषयमा अरुले भनेर नहुने बताए ।