मेरो मनमस्तिष्कमा ती यादहरू अझ हिजोजस्तै छन्
त्यो बिहानको चियाबाट सुरु हुने दिन
मेरा प्रत्येक कार्यको प्रशंसा गर्ने त्यो मन
गल्तीहरूमा झट्ट सम्झाउँदै हपारेका वचन
हिँड्दा, उठ्दा, बस्दा दीपु दीपु भनि बोलाएको त्यो गुञ्जन
हरपल खोज्ने ती आँखा
याद आउँछ
ढोकापछाडि लुकेर हजुरलाई झुक्याएको
हजुरको तिलस्मी मुस्कानले नै धेरै कुरा सम्झाएको
कसरी मेटाउन सक्छु र मनको मझेरीबाट
यी सबैसबै र
यीबाहेक कत्तिकत्ति यादहरू
आउँछन्, आइरहन्छन्
बिहान, दिनमा, साँझपख र निद्राबाट बिउँझिँदा हरेक रातमा
तर, प्रभुको लीला
म स्तब्ध भए !
रित्तो भयो सबै, शून्य थियो चारैतिर
त्यो स्पर्शबिना भएको बिछोड
मैले गुमाएको त्यो अन्तिम दर्शन
आज पनि म स्तब्ध बन्छु
तसर्थ, एकपटक फेरि मन छ मलाई
छतको बेन्चमा बसेर चिया पिउन
मन लाग्छ फेरि मेरो कामको प्रशंसा सुन्न
मन छ मलाई फेरि हजुरको मिठो हपार सुन्न
फेरि मन लागेको छ मलाई
सुन्न दीपु दीपुको बोलाहट ।