पाँचथर जिल्लाको फालेलुङ ( ५ प्राङवुङ डाडागाउँमा बिहीवार विस्फोटबाट दुई जना साना नानीले ज्यानै गुमाए । सम्भवतः उनीहरूसँगै खेल्ने बालक पनि विस्फोटमा घाइते भएका छन् ।
विस्फोट भएको वस्तु हिंसात्मक द्नन्द्व कालमा माओवादीसँग निकट रहेका व्यक्तिको भरमा भेटिएको हो । बम वस्फोटमा परी मारिएका बालबालिकाको परिवार पूर्वमाओवादीका घरमा बस्दै आएका रहेछन् ।
बम माओवादी द्वन्द्व कालमा लुकाइएको हुनसक्ने सम्भावना देखिन्छ । यसअघि पनि माओवादी प्रभाव भएका बढी क्षेत्रमा अलपत्र छाडिएका विस्फोटक पदार्थहरूबाट कतिपयको ज्यान गइसकेको छ ।
राज्य र तत्कालीन विद्रोही पक्ष माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हतियार व्यवस्थापनको विषयमा स्पष्ट उल्लेख भएको थियो । तर, हतियार व्यवस्पनलाई दुवै पक्षले गम्भीरतापूर्वक लिएनन् ।
शिविरमा राखिएका माओवादी लडाकुको अनुपातमा बुझाइएका हतियारको सङ्ख्या निकै थोरै थियो । माओवादी नेताहरूले बाँकी हतियार ‘खोलाले बगायो’ भन्नेजस्तो गैरजिम्मेवार र सन्देहास्पद उत्तर दिएका थिए ।
अझै पनि सरकार यस्ता हतियारको खोजीमा गम्भीर बन्नु जरुरी देखिन्छ । सशस्त्र सङ्घर्षमा होमिएकोमा गर्व गर्ने माओवादी पार्टीका सबै घटकका नेताले त्यसको जिम्मेवारी पनि लिनुपर्छ ।
नेपालका सन्दर्भमा त्यसमा पनि माओवादी नेताबाट नैतिक जिम्मेवारीको अपेक्षा गर्नु उपयुक्त न होला । तर, अमेरिकाको मिसिगन राज्यमा स्कुलमा गोली हान्ने छोराको बाबुआमालाई १० वर्ष कैद सजाय दिइएको स्मरणीय छ ।
पाँचथरमा विस्फोट भएको वस्तु ती बालबालिकालाई लक्षित गरेर राखिएको नहोला । परन्तु, यसरी खतरनाक वस्तु अलपत्र छाड्ने व्यक्ति वा समूहलाई त्यसमा उत्तरदायी त बनाइनुपर्छ ।
माओवादीका साथै राज्यका सुरक्षा फौजले पनि यस्ता वस्तुहरू असुरक्षितरूपमा छाडेको हुनसक्छ । संस्था वा व्यक्तिको सम्झनामा यस्ता वस्तुहरू राखिएको स्थानको जानकारी भएमा राज्यलाई सूचना दिनु तिनको पनि कर्तव्य हो ।
अरू नै कसैले पनि कतै यस्ता खतरनाक वस्तु देखे वा रहेको थाहा पाए जानकारी दिन सरकारले व्यापक प्रचार प्रसार गर्नुपर्छ । यस्तो वस्तुको खोजतलासमा सघाउनु माओवादीहरूको पनि नैतिक कर्तव्य हो ।