site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्वीकृत

बाहिर एक बेकार दिनको सूर्य फेरि उदाइसकेको रहेछ । ढोकाको चरबाट एक चीरा उज्यालो कोठाभित्र चियाउने कोशिश गर्दैछ ।

कुनै बेला ढोका खोलेर रञ्जना भित्र पस्छे । अनि धेर्सोमा सिम्टिएको बिहान कोठाभरि फराकिन्छ ।

रञ्जना चिया लिएर आएकी हुन्छे । दोलाईसँग गाँठो परेको हात फुकाएर ऊ चियाको गिलास थाप्छ ।

“आज बेलुकी रोटरी क्लबमा डिनर छ । तिमी आउँछौ ?” –सोधाइमा अपेक्षा छ वा कौतूहलता, बुझ्न गाह्रो छ । उसको आफ्नै मनभित्र पनि निश्चय छैन; जाने–नजाने । ऊ झ्यालबाहिर हेर्न थाल्दछ । पह्रार साल लगाएको आरूको कलममा दुई–चार फूल फुल्न थालेका छन् ।

“आँखा लुकाउनु पर्दैन । मैले तिमीलाई प्रशस्त प्रशस्त मौका दिएकी हुँ”– ऊ अलिक पछि हट्छे । आरूको बोट छेकिन्छ । उसका आँखा फेरि कोठामा फर्कन्छन् । घामको पसारो एक त्रिकोण बनाउँदै उसको बिछौनामा पल्टेको छ । ऊ अलिक निहुरिन्छ । बिरालोको छालाजस्तो कोमल घामले उसको मुख छुन थाल्दछ ।

“आज एकाबिहानै राम्रो घाम लागेको छ । होइन ?” –ऊ रञ्जनाको मुखमा हेर्छ ।

“मेरो अगाडि चलाख बन्ने कोशिश नगर । तिमी जहिले पनि यसरी नै फुत्कन खोज्दछौ । तर अब यो सब चल्दैन ।” –ऊ गिलास टिप्छे । यस क्रममा उसको सारीको गाँठो आफ्नो ठाउँबाट अलिक तल झर्छ र उसको नाभि देखिन्छ । –चिल्लो पेट बीचमा खोपिल्टे नाभि जसलाई मसिना रौंका लहराले छोप्न खोज्दैछन् । कुनै समयमा उनले ‘सौन्दर्य लहरी’को एउटा श्लोक कण्ठ घोकेको थियो शायद आचार्यको जाँच दिँदा ताक–
“हर क्रोध ज्वाला वलिभिरवलीदेन वपुषा गभीरे ते नाभि सरसि कृत सङ्गो मनसिज... समुत्तस्थौ तस्मादचलतनये धूम लतिका जनस्तां जानीते तव जननि रोमावलि रिति ।।”

अहिले ऊ फेरि त्यो श्लोक सम्झन पुग्छ र मनमनै अर्थ कथ्न थाल्दछ— ‘हे आमा पार्वती ! भगवान् शंकरको क्रोधको ज्वालाले दग्ध भएको कामदेव आफ्नो शरीरलाई खुम्च्याएर भयभीत भई तपार्इंको गहिरो नाभिरूपी तलाउमा लुक्न गयो । तर शंकरको ज्वालाबाट के बच्न सक्थ्यो । त्यहीँ डढेर कामदेव खरानी भयो ।

तपाईंको नाभिबाट लताको रूपमा निस्केका धुवाँका धर्साहरूलाई नै मानिसहरू रोमावली भन्दछन् ।

वाह ! अद्वैत वेदान्ती शंकराचार्य ! धन्य तिम्रो सौन्दर्य दृष्टि ! कहाँ विराट ब्रह्मको सन्धानमा निस्केका थियौ ! अल्झिन आइपुग्यौ नारीको नाभिका रोमावलीमा ! एक टड्कारो हाँसो हाँस्न मन लाग्छ उसलाई शंकराचार्यमाथि ।

“लाज लाग्दैन । अझै हाँस्तै छौ । लोग्ने मान्छे हौ भने तिमीले त रानी तलाउमा डुबेर मर्नु पर्ने थियो ।”

ऊ चिच्याउँछे । बेस्सरी बोल्दा उसको आवाज जहिले पनि फाट्छ ।

“तिमीलाई थाहा छ मलाई पौडी खेल्न आउँछ र पौडी खेल्न जान्ने मान्छे सितिमिति डुबेर मर्दैन”, –ऊ दाँत देखाएर हाँसी दिन्छ ।

“देन गो टू द हेल” —ऊ कोठा बाहिर निस्कन्छे । सिमेन्टको भुइँमा चप्पल घिसारेर हिँडेको आवाज ऊ धेरै बेरसम्म सुनिराख्छ ।

घाम छिप्पिँदै छ । कोठाभरि कठ्याङ्ग्रिएर खुम्चेको हावा अलि–अलि फुक्दै खुकुलो हुँदैछ । न्यानो हावाको तन्द्रिल स्पर्शले उसका आँखाहरू लट्ठिन थाल्दछन् । ऊ सिरकले मुख छोपेर फेरि पल्टन्छ ।

कति बेरसम्म ऊ निदायो थाहा छैन । ऊ शायद अझै सुतिराख्थ्यो होला । तर कोही उसलाई हल्लाएर उठाइराखेको थियो । उसले सिरक फालेर हे¥यो । रञ्जना नै थिई ।

“तिमी साँच्चि नै अल्छी भएका छौ ।”

ऊ देख्दछ, उसका आँखामा एक मधुरो चमक छ र उसले हातमा प्लेट लिएकी छ । प्लेटमा आमलेट र केही टुक्रा टोस्ट छन् ।

“उठ ! मैले नास्ता ल्याएको छु ।” –प्लेटलाई ऊ खाट नजिकैको त्रिपाईमा राख्छे र सँगै खाटमा बस्छे ।

रञ्जना र नास्ताको प्लेटबाट चिप्लँदै उसको आँखा भेन्टिलेसनको जालीमा पुग्छ । जालीमा एक टुक्रा कागज अड्केको छ र कागजको त्यो त्यान्द्रो हावाको सिरेटोमा कामिराखेको छ ।

‘तिमीले सोधेनौ ? बिहे कोसँग हुँदैछ ?’ उसका आँखालाई पछ्याउँदै रञ्जनाका आँखा पनि त्यहीँ आइपुग्छन् । त्यसै जालीमा अल्झेर फडफडाइराखेको कागजको टुक्रामा ।

“त्यो म होइन । यत्तिले नै पुग्दैन र ?”

“त्यो तिमी हुन सक्थ्यौ । तिमीले कहिल्यै कोशिश गरेनौ ।” ऊ उसका आँखामा हेर्न थाल्दछ आँखी झ्यालको प्रतिबिम्ब बोकेको उसको आँखा उड्दै थाकेर कुनै पातमाथि घस्रँदै हिँडेको जूनकीरी जस्तो लाग्छ । ऊ आकस्मात् केही सम्झे जस्तो गर्छ, “एउटा काम गर्न सक्छौ रञ्जना ?”

“के भन ?”

“उठ पहिला”

“भन न के काम हो ?”

गहिरो उच्छासका साथ ऊ फेरि भेन्टिलेसननिर हेर्न थाल्दछ– “त्यहाँ एउटा कागज अल्झेको छ, धेरै दिनदेखि । त्यसलाई फुत्काइदेऊ । शायद ऊ मुक्तिका चाहनामा तड्पँदै छ ।”

बारूद जस्तै पड्केर ऊ भन्छे— “तिमी पागल हौ । मलाई पनि पागल बनाउँदै छौ ।” र ऊ कोठा बाहिर निस्की हाल्छे ।

रञ्जना गएर कोठा फेरि खाली हुन्छ । ऊ नास्तालाई हेर्छ । खाने इच्छा छैन । ऊ नगएकी भए एक कप तातो चियाका लागि उसलाई फेरि भन्ने थियो होला ।

ऊ उठ्छ र बाथरूमतिर लाग्छ । फर्केर आउँदा रञ्जनालाई हातमा चियाको गिलास लिएर उभिराखेको पाउँछ ।

“तिमी अन्तर्यामी छौ रञ्जना, हेर अहिले–अहिले मैले चियाको इच्छा गरेको थिएँ ।” –तौलियाले मुख पुछ्दै ऊ भन्छ ।

“अरूको त होइन, तर तिम्रो नसानसा म चिन्छु अनिल । मलाई दुःख छ कि तिमी कुनै पनि कुराहरूलाई कहिल्यै सिरियस्ली लिन्नौ । र म तिम्रो बहुलठ्ठीका पछि रिङिदा–रिङिदा थाकिसकेको छु । र जीवनसँग प्रत्येक अवस्थामा सम्झौता गर्न बाध्य भएकी छु । मेरो उत्साह, मेरो जाँगर र मेरो चुनाउ जम्मै पग्लेर थोपा–थोपा चुहुँदै मबाट रित्तिँदै गइरहेछन् ।”

“वाह रञ्जना, आज मात्रै थाहा भयो तिमी कवयित्री पनि रहिछौ । जीबनको आकांक्षाको उद्दाम दौड र अप्राप्तिको अवसाद, दुवैको अमूर्त अ–दर्शन ! तिमीलाई दोस्री एमिली डिकिन्शन भनिदिए कसो होला ।” ऊ हाँस्न थाल्दछ ।

“तिमी साँच्चि नै पागल हौ अनिल ।” ऊ एक छिन रोकिन्छे । अनि एक स्वप्निल तन्द्रामा बरबराउन थाल्दछे—
“शायद तिम्रो यसै पागलपनसित मैले प्रेम गरेकी हु ।”

“त्यसो भए अझै केही आशा त रहेछ ।” –ऊ सुसेल्न थाल्दछ ।

“इट वुन्ट हेल्प । केही फाइदा छैन अनिल ।” –ऊ भेन्टिलेसनमा अल्झेको कागजलाई हेर्न थाल्दछे । कागज अपेक्षाकृत शान्त छ ।

“इट्स टू लेट” –ऊ बाहिर निस्कन्छे ।

अनि कोठामा ऊ हुन्छ । क्रमशः रापिलो गर्मीमा परिवर्तित हुँदै गएको घाम हुन्छ । जाली बीच फडफडाइरहेको कागज हुन्छ र आफ्ना शब्दातीत र देहातीत प्रभावमा ऊ हुन्छ र चिसो हुँदै गएको नास्ताको प्लेट हुन्छ ।
(अधिकारीको कथाकृति ‘अस्वीकृत’ बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro