site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीसँगको चर्काचर्कीपछि एमालेले भन्यो– राष्ट्रियसभा अध्यक्ष र उपसभामुख फेरौँ 

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले मागेपछि समिति बैठकमा नै चर्काचर्की भएको छ । 

आइतबार लेखा समितिमा विवादित बनेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता महसुल सम्बन्धी विषयमा छलफलको कार्यसूची थियो ।  

सोही विषयमा धारणा राख्ने क्रममा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले विगतको अभ्यासअनुसार लेखा समिति सभापति प्रतिपक्षी दललाई दिन माग गरे । 

“सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिन पहल गरिदिनुहुन सभापतिलाई आग्रह गर्दछु,” उनले बैठकमा आफ्ना धारणा राख्दै भने । 

एमाले सांसदहरुले भने लेखा समिति चाहिए शीर्ष नेताहरुबीच सहमति गराउन जवाफ दिए । त्यतिमात्रै होइन एमालेका सांसदहरुले सार्वजनिक लेखा समितिको सभापतिसँगै अल्पमतमा रहेका राष्ट्रियसभा अध्यक्ष र उपसभामुख पनि फेर्नुपर्ने प्रस्ताव अघि सारे ।

एमाले सांसद् योगेश भट्टराईले शीर्ष नेताहरुबीच सहमति भए लेखा समितिको सभापति छोड्न तयार रहेको जवाफ दिएका थिए । 

उनले समिति प्रतिप्रक्षले पाउने अभ्यास विगतमा नै तोडिएको पनि बताए ।

“सभापति संसदीय परम्पराअनुसार विपक्षी दलको हुन्छ भने विदित नै छ । हामीले कतिपय परम्परा मिच्दै आएका छौँ,” उनले भने, “०७९ को चुनावपछि समिति सभापतिमा निर्वाचन भएन, सहमतिबाट चयन भएको हो । राजनीतिक दलको नेतृत्वमा पुनः सहमति हुन्छ भने सभापतिले राजीनामा दिनुपर्छ, दिनुहुन्छ । पटक–पटक सभापतिको विषयमा चिमोटेर दबाब दिइयो ।”

उनले राष्ट्रियसभाका अध्यक्ष कसरी बने भन्ने पनि हेर्न आग्रह गरे । माओवादी सांसद अमनलाल मोदीले भट्टराईलाई जवाफ दिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पालामा पनि एमालेले लेखा समितिको सभापति मागेको स्मरण गरे । 

सदन विघटनको निर्णय बदर भएपछि प्रधानमन्त्री बनेका देउवा नेतृत्वको सरकारमा कांग्रेसकै सांसद भरत साह सार्वजनिक लेखा समितिको सभापति थिए ।

“चुनाव आउन आँटेको बेलामा कांग्रेसका सांसद भरत साह त्यतिबेला सभापति हुनुहुन्थ्यो । राजनीतिक रूपमा कसैलाई आक्षेप लगाउनुहुन्न,” मोदीले भने,“त्यतिबेला एमालेका सांसदहरूले पटक–पटक त्यो आवाज (समिति सभापतिको) उठाउनुभयो । तर, उहाँहरुले यो विषय किन राख्नुहुन्छ भनेर कहिल्यै भन्नुभएन । सांसदहरू आफैँमा सार्वभौम, स्वतन्त्र हुन्छ ।”

उनले अहिलेको लेखा समितिको सभापति गठबन्धन फेरिएर नेपाली कांग्रेस र माओवादी गठबन्धन बनेपछि मात्रै प्रतिपक्षी एमालेले भागबन्डामा पाएको बताए ।  

राजनीतिक सहमति खोज्न योगेशले दिएको चुनौतीमा उनले माओवादीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको संवादमार्फत अघि बढ्नुपर्ने जवाफ दिए । 

“यहाँ सहमतिको कुरा छ । सँगै स्वर्ग, नर्क जाने भन्ने कुरा त के भयो ? एउटा कालखण्डमा कसैले गल्ती गर्‍यो भने त्यही मोडलमा जानुपर्छ भन्ने हुन्छ त ?,” उनले भने, “पहिले जे गल्ती भयो । अब पनि फेरि दोहोर्‍याउने कि सच्याउने ? सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ यसमा किन्तु परन्तु केही छैन ।”

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि समितिमा विषय उठाएर समिति सभापतिको विषय हल नहुने बताए । 

“अन्तर्राष्ट्रिय अभ्यास लेखा समिति प्रतिपक्षको हुनुपर्छ भन्ने विषय हामीमा तोडिएको छ,” उनले भने, “जेन्युन कुरा हो । राजनीतिक तहमा कुरा गर्नुपर्छ, यहाँबाट टुंगिदैन ।”

एमालेका सांसद गोकुल बाँस्कोटाले देउवा सरकार अदालतको परमादेशबाट बनेकाले आफूहरु प्रतिपक्षी हुँदा सभापतिको कुरा उठाएको बताए । 

त्यतिबेला एमाले सांसद बाँस्कोटा र राजेन्द्र गौतमले पनि समिति सभापति प्रतिपक्षले पाउनुपर्ने माग समिति बैठकमा राखेका थिए । 

“हिजो एमाले प्रतिपक्षमा हुँदा हिजो हाम्रो विमती थियो । हिजो संसद्ले होइन, अदालतले सरकार बनाएको थियो, हाम्रो विमति थियो । अर्कैै प्रक्रियाबाट आएपछि फरक चिज बन्न पुगेको थियो,” बाँस्कोटाले भने, “अहिले एकल सरकार भएको भए कुरा ठिकै हुन्थ्यो ।”

बाँस्कोटाले लेखा समितिको सभापति चाहिने भए राष्ट्रियसभाको अध्यक्ष र उपसभामुख फेर्नुपर्ने प्रस्ताव राखे । 

राष्ट्रियसभा अध्यक्षमा माओवादीका नारायण दाहाल र प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर छन् ।  

पहिले गठबन्धन बन्दा सहमतिमा ती पद भागबण्डा गरेकाले फेर्नुपर्ने आसय उनको थियो । बाँस्कोटाले सबै समिति सभापतिको चुनाव गर्नुपर्ने पनि बताए । 

“मेरो सामान्य प्रस्ताव छ । राष्ट्रियसभाको अध्यक्ष फेरौं । प्रतिनिधिसभाको उपसभामुख फेरौं । यहाँ पनि फेरौं । तर, फेर्ने कुरा राजनीतिक सहमति गरेर आउनुस्,” बाँस्कोटाको चुनौती छ,“यहाँ मसला बनाएर हिँड्न जरुरी छैन, त्यो तयार हो । सबै समितिको निर्वाचन गरौं ।”

उनले गठबन्धन फेरिँदै पिच्छे विभिन्न सहमति गरिएको पनि बताए ।  

“घण्टा–घण्टामा राजनीतिक समीकरण बदलिन्छ । त्यही  कुरालाई लिएर दानवीकरण र देवत्वकरण नगरौँ,” उनले भने, “समिति सभापतिमाथि बारम्बार हमला नगरौं । राजनीतिक प्रक्रियाबाट टुंग्याऔं, सबै समितिमा चुनाव गरौं त्यसो भए ।”

सभापतिले भने – ओली, देउवा र प्रचण्डलाई भन्नुस् 

समिति सभापति ऋषिकेश पोखरेलले सभापतिको विषय प्रधामन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भन्नुस् भन्ने जवाफ दिए । 

“मलाई किन सभापतिमा बसेको भनेर भन्नुभयो । यहि कुरा कमरेड प्रचण्ड, शेरबहादुर देउवा वा केपी शर्मा ओलीलाई भन्नुस् । यहाँ किन मलाइ भनिरहने दोहोर्‍याइ दोहोर्‍याइ,” सभापति पोखरेलको जवाफ छ । 

उनले आफूले निवेदन दिएर सभापति बन्न नआएको भन्दै राजनीति निर्णय मान्न तयार रहेको जवाफ दिए । 

“छाती फुलाएर यहाँ भन्नुभन्दा आफ्नो अध्यक्षको अगाडि एक घण्टा भाषण गर्नुस् यहाँ यो विषय उठाउने होइन । म कुनै राजनीतिक दलमा निवेदन हालेर सभापति बन्न आएको होइन । राजनीतिक निर्णय मान्न तयार छु,” पोखरेलको जवाफ छ । 

माओवादीले प्रतिपक्षमा पुगेपछि लेखा समितिको सभापति माग गरिरहेको छ । ०८१ असार १७ गते एमाले र कांग्रेसले  नयाँ समीकरण बनाएपछि माओवादी प्रतिपक्षमा पुग्यो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगर पुगेर साउन २२ गते पनि सार्वजनिक रुपमा नै लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राखेका थिए । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro