काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डको अध्यक्ष ऐनमा भएको व्यवस्थाअनुसार नै नियुक्त हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष धितापत्र ऐनबमोजिम नै नियुक्त हुने बताएका हुन् ।
नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐन, २०६३ को दफा ७ ले व्यवस्था गरेको कानुनी प्रक्रिया र विधिबामोजिम अध्यक्ष नियुक्त हुने मन्त्री पौडेलको भनाइ छ । यसमा कसैले प्रभाव पार्ने भन्ने विषय नै नहुने उनको भनाइ छ ।
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले सिफारिस गरेबमोजिम अध्यक्ष नियुक्त हुने व्यवस्था भएको भन्दै मन्त्री पौडेलले कुनै पनि पार्टी तथा पार्टीका नेताले भनेको मान्छे नियुक्त नहुने पनि स्पष्ट पारे ।
“कुनै पनि पार्टी वा कुनै पनि नेताले वा कसैले चाहेर हुने कुरा यो हैन,” उनले भने, “निर्णय प्रक्रिया पारदर्शी ढंगले स्वच्छ ढंगले सम्पन्न हुन्छ भन्ने कुरा म यहाँ स्पष्ट गर्न चाहान्छु ।”