site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी क्षेत्रमैत्री वातावरण बनाउने सांसदहरूको प्रतिबद्धता

काठमाडौं । संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूले निजी क्षेत्रमैत्री नीति निर्माणमा आफूहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । आइतबार (हिजो) नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा उपस्थित १०० भन्दा बढी सांसदले निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गरिने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको बताए । उनले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका निम्ति विशेष प्रयास गरिरहेको बताए ।

निजी क्षेत्रका पदाधिकारीसँग निरन्तर संवाद गरी उद्यमी, व्यवसायीका समस्या समाधानका निम्ति पहल गरिरहेको उनले उल्लेख गरे । तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको उनले बताए ।

महासंघले संसद्‌मा विचाराधीन र निजी क्षेत्रसम्बद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रूपमा उद्यमी, व्यवसायीका सुझाव प्रस्तुत गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका निम्ति लगानी सम्मेलनका बेला गरिएको संशोधनले वातावरण तयार पारको बताए । उनले विशेष आर्थिक क्षेत्र र अरू ठाउँमा पनि मझौला र ठूला उद्योग दर्ता हुने क्रम बढेको सुनाए ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमाथि छलफल भइरहेको बताए । त्यसमा बृहत् छलफल गरी निर्णय गरिने उनले उल्लेख गरे ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी, व्यवसायीलाई निर्बाध काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सामाजिक न्यायसहितको निजी क्षेत्रका आर्थिक गतिविधिलाई अगाडि बढाउन आफ्नो पार्टी सधैँ तयार रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले परम्परागत रूपमै उद्यमी, व्यवसायीको मान कम हुने गरेको र अहिले पनि सोही प्रवृत्ति रहेको उल्लेख गरे । निजी क्षेत्रलाई राष्ट्रिय मर्यादाक्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्ने उनको भनाइ थियो ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराए । निजी क्षेत्रलाई कानुनसम्मत व्यवसाय गर्न अवरोध गर्न नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro