सुर्खेत । भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४, बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षासँगै बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने र सदरमुकाम मुसिकोट आउने सानाठूला सवारीसाधन पितिवाङ खोलामा रोकिएका छन् ।
यसैबीच, रुकुम पश्चिमखण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी–मुसिकोटखण्डअन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरलले जानकारी दिए । रासस