site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कतै जनार्दन शर्मा पनि भीम रावलजस्तै गुमनाम बन्नुपर्ने हो कि ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र जनार्दन शर्माद्वारा प्रस्तुत नेतृत्व परिवर्तन, हस्तान्तरण र औचित्यसम्बन्धी प्रस्तावमा सनसनीपूर्ण बहस भइरहेको देखिन्छ । लोकतन्त्रमा यसलाई सहजरूपमा लिइनुपर्ने हो तर माओवादीभित्र यसलाई सहजरूपमा लिएको पाइँदैन ।

किनभने माओवादी कम्युनिस्ट पार्टी हो । यसैले माओवादीलाई लोकतान्त्रिक पार्टी मानिदैन । यस्ता पार्टीका सबैजसो गतिविधि र निर्णयहरू अपारदर्शी हुनेगर्छन् । सबै निर्णयमा नेतृत्वकै मुख्य भूमिका हुन्छ । अर्को कुरा, माओवादीजस्तो कट्टर कम्युनिस्ट पार्टीमा अरू पार्टीमा झैँ सहजरूपमा नेतृत्व परिवर्तन र हस्तान्तरण हुनेगरेको पाइँदैन ।

चीनमा अध्यक्ष माओत्से तुङ जीवित रहेसम्म देङ्ग सियायो पिङ नेतृत्वमा आउन त सकेनन् नै गुमनाम बनाइए । माओको मृत्युपछि बल्ल देङ नेतृत्वमा आए । क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोले चाहुन्जेल अरू कसैले नेतृत्व खोज्ने आँट गरेनन् । उनीपछि उनकै भाइ उत्तराधिकारी बने ।

Dabur Nepal
NIC Asia

सोभियत रुसमा नेतृत्व हस्तान्तरण कहिल्यै सहजरूपमा भएन । उत्तर कोरियामा त नेतृत्व वंशानुगत बनेको उदाहरणै छ । कम्युनिस्ट र निरंकुश शासनमा नेतृत्व परिवर्तन र हस्तान्तरण सहजरूपमा हुनेगरेको देखिँदैन । कम्युनिस्ट पार्टी र निरंकुश शासनमा त नेतृत्व परिवर्तन वा हस्तान्तरणका सबाल उठाउनुमात्र पनि अपराध मानिने गरेको देखिन्छ ।

पुष्पकमल दाहाल 'प्रचण्ड' माओवादी पार्टीको नेतृत्वमा बसेको पैँतीस वर्षभन्दा बढी भइसकेको छ । नेपाल मजदूर किसान पार्टीबाहेक नेपालका अरू पार्टीमा यति लामो समयसम्म नेतृत्वमा रहने नेता कोही भेटिँदैन । बीपी कोइरालाले आफू सक्रिय हुँदैमा कृष्णप्रसाद भट्टराई पार्टीको नेतृत्व हस्तान्तरण गरेका थिए । गणेशमान सिंह त पार्टीको नेतृत्वमै पुगेनन् । कृष्णप्रसाद भट्टराईले महाधिवेशनमार्फत् कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालामा हस्तान्तरण गरेका थिए । 

कोइरालापछि सुशील कोइराला हुँदै सभापति शेरबहादुर देउवा पनि प्रतिस्पर्धाबाटै नेतृत्व पुगेका हुन् । नेपाली कांग्रेसको विधानअनुसार पार्टी सभापति दुई पटकभन्दा बढी समय हुन नपाउने व्यवस्थाअनुसार अब नेपाली कांग्रेसको नेतृत्व अर्को व्यक्तिमा जानेछ ।

यसका लागि नेपाली कांग्रेसभित्र ठूलो दौडधुप भइरहेको चर्चा पनि चलिरहेको छ । माओवादीमा जस्तो नेपाली कांग्रेसमा नेतृत्वको परिवर्तन र हस्तान्तरणको कुरा गर्दा कर्के नजर लगाउने चलन पाइँदैन । कांग्रेसको नेतृत्व  परिर्तनको मूल अभ्यास नै प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने हो । 

यता, नेकपा (एमाले)मा मदन भण्डारीको अस्वाभाविक मृत्युपछि माधवकुमार नेपाल लामो समयसम्म महासचिव रहे । त्यसपछि झलनाथ खनाल हुँदै केपी शर्मा ओली पार्टी अध्यक्ष बनेका छन् चुनावी प्रतिस्पर्धाकै आधारमा ।

एमाले माओवादीजस्तो 'हार्डलाइनर' पार्टी नभए पनि कहिले काँही नेतृत्व परिवर्तन र हस्तान्तरणमा यसले कडा रूप अख्तियार गरेको पाइन्छ । हालका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न उत्रिएका भीम रावल अहिले गुमनाम छन् ।

शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला पार्टीमा सशक्त देखिनु र भीम रावल गुमनाम हुनुमा लोकतान्त्रिक कारण अन्तर्निनिहत हो कि भन्ने देखाउँछ । माओवादीमा पनि नेतृत्वसँग असन्तुष्ट जनार्दन शर्माले भीम रावलजस्तै गुमनाम बन्नुपर्ने हो कि ? कम्युनिस्टमा चुनौती दिनेलाई किनारै लगाउने प्रवृत्ति देखिन्छ ।

समयमै नेतृत्व परिवर्तन र हस्तान्तरण भएन भने कुनै पनि पार्टीमा नेतृत्व संकट आउन सक्छ । माओवादीमा दाहालपछि नेतृत्वमा को आउलान् ? अन्योलै छ । एमालेमा पनि केपी शर्मा ओलीपछि नेतृत्वमा को ? प्रश्न अनेक कोणबाट उठेकै छन् । कांग्रेसमा पनि दूरदर्शी नेताको अभाव खट्किँदै गएको टीकाटिप्पणी बढेकै छ ।
 
अर्को कुरा, आफ्नो पार्टीको नेता बन्दैमा कोही पनि देशको नेता नेता बन्न सक्तैन । भारतकै उदाहरण लिने हो भने राहुल गान्धीलाई यो अवस्थामा पुग्न धेरै मेहनत गर्नुपरेको थियो । अझै उनमा परिपक्वता आइसकेको छैन भन्ने गरिन्छ । नेतृत्वमा पुग्नेलाई अरू पार्टीका नेता र जनसाधारणले पनि पत्याउन आवश्यक हुन्छ । 

नेताले जनतालाई पनि विश्वासमा लिन सक्नुपर्छ । अब त कुनै पनि पार्टीको नेतालाई अन्तर्राष्ट्रिय समुदायले पनि मान्ने हैसियत राख्न सक्नुपर्छ । यसका लागि नेताले धेरै किसिमका सीप, योग्यता, दक्षता, कला र विशेषता हासिल गर्नु आवश्यक हुन्छ । 

यो जमानामा लोकतान्त्रिक नेता नभईकन कसैले पनि पत्याउँदैन । जनादर्न शर्माले  अध्यक्ष दाहाललाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट पार्टी सञ्चालन गर्न र नेतृत्वमा आउन चुनौती दिएको देखिन्छ । साथै, पार्टी संगठन ध्वस्त बनाएको र जनमत घटेको उदाहरण पनि उनले पेस गरेका छन् । राजनीतिमा पार्टी संगठन कमजोर हुनु र जनमत घट्नुलाई गम्भीररूपमा लिने चलन संसारभर नै छ ।
 
पार्टी संगठनको हिसाबले हेर्दा कांग्रेसभन्दा एमाले अगाडि देखिन्छ । तर, पनि जनाधारित (मासबेस्ड) पार्टी भएकाले कांग्रेसले जनताको राम्रो समर्थन र भोट पाइरहेको देखिन्छ । अब भने सायद कांग्रेसलाई संगठन दह्रो र फराकिलो नबनाई सुख छैन ।

नेतृत्व परिवर्तन वा हतान्तरण नियमितरूपमा चलिरहने प्रक्रिया हो । नेतृत्व राजनीतिक क्षेत्रका लागि मात्रै आवश्यक सबै क्षेत्रका लागि आवश्यक हुन्छ तर राजनीतिक क्षेत्रमा नेतृत्वको चर्चा र महत्त्व बढी हुने गर्छ । तसर्थ, नेतृत्व परिवर्तन र हस्तान्तरण भन्नासाथ राजनीतिक नेतृत्व परिवर्तन र हस्तान्तरण भन्ने बुझिन्छ । 

नेतृत्व परिवर्तन र हस्तान्तरण सामान्यतः तीन किसिमले हुने गरेको देखिन्छ । पहिलो तरिका चुनावमार्फत नेतृत्व चयन वा हस्तान्तरण, दोस्रो कु वा विद्रोहद्वारा र तेस्रो नेताको मृत्यु भएमा । पहिलो तरिकालाई अधिकांश लोकतान्त्रिक मुलुकमा अभ्यास गर्ने गरिएको देखिन्छ ।

लोकतान्त्रिक पार्टीमा नेतृत्व परिवर्तन हस्तान्तरणलाई स्वाभाविकरूपमा लिने गरिन्छ । लोकतान्त्रिक मुलुकहरूमा त चुनावमार्फत नेतृत्व परिवर्तन र हस्तान्तरण हुने गर्छ । यसलाई सामान्यतः लोकतान्त्रिक अभ्यास भन्ने गरिन्छ । यो अभ्यास सबैका लागि स्वीकार्य पनि हुन जान्छ । 

कतिपय लोकतान्त्रिक मुलुकहरूमा पनि नेतृत्व परिवर्तन र हस्तान्तरण सहजरूपमा हुनेगरेको पाइँदैन । लोकतान्त्रिक आवरणभित्र अलोकतान्त्रिक भावनाले काम गरेको कारण यस्तो हुनेगरेको हो ।

संयुक्त राज्य अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै थिए । एक्कासि उनले उमेदवारी त्यागेर उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उमेदवार बनाउने घोषणा गरे ।

वास्तवमा भन्ने हो भने राष्ट्रपति वाइडेनलाई नेतृत्व छाड्नै पर्छ भनेर दबाब दिने ठूला नेता कोही थिएनन् । तर, उनले विवेकले नै यो उमेदवारी छाडे । यसलाई विश्वको लोकतान्त्रिक अभ्यासको एउटा नमुना नै मान्नुपर्ने हुन्छ । सबैले उनलाई महान नेता भन्न थालेका छन् । चुनाव लडेर पराजित हुनुपरेको भए जो बाइडेनले यस्तो सम्मान पाउने थिएनन् । 

भारतमा सन् २०२४ को संसदीय चुनाव हुनु अघिसम्म प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अनुकूल व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्छन् कि भन्ने अनुमान पनि गरिएको थियो । तर, उनले यसो गरेनन् । सम्भवतः यो पाँच वर्षपछि उनले नेतृत्व सहजरूपमा हस्तान्तरण गर्नेछन् ।

बेलायतमा संसदीय चुनावमा प्रचण्ड बहुमत ल्याएका तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले पाँच वर्षे कार्यकाल पूरा नहुँदै नेतृत्व हस्तान्तरण गरे । उनीपछि प्रधानमन्त्री भएकी लिज ट्रसले पनि अत्यन्त छोटो समयमा अर्का नेता ऋषि सुनकलाई नेतृत्व हस्तान्तरण गरिन् । चुनावमा पार्टीले हारेकाले सम्भवतः ऋषि सुनकले पनि छिटै नेतृत्व हस्तान्तरण गर्दैछन् ।

एकपटक कार्यकारी पदमा चुनिनासाथ निरंकुश, भ्रष्टाचारी र शोषण दमनमा लागे, त्यस्ता नेतालाई जनताले तत्कालै सडकमा झार्न सक्छन भन्ने उदाहरण हालै बंगलादेशमा विद्यार्थीहरूले देखाएका छन् । विद्यार्थीहरूकै विरोधका कारण प्रधानमन्त्री शेख हसिना वाजेद देश छाड्न बाध्य भइन् । यसरी नै डेढ वर्षअगाडि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्छे पनि जनताको विरोधका कारण देश छाडी बाहिर जान बाध्य भएका थिए । यी उदाहरणले पनि नेता बन्ने मानिसले धेरै कुरा सोच्नुपर्ने रहेछ भन्ने स्पष्ट हुन्छ ।

नेपालमा अहिले कुनै दलका नेताप्रति जनताको विश्वास र भरोसा जाग्न सकेको देखिँदैन । यस्तो स्थिति रहिरहेमा बंगलादेश र श्रीलंकामा झैँ नेपालमा पनि विरोधको बाढी आउन सक्छ । यसतर्फ सबै पार्टीका नेताहरूको ध्यान जान जरुरी देखिन्छ । 

(लेखक संसद् सचिवालयका पूर्वसचिव हुन् ) 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro