site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीको ३० वर्षे सेवावधि हटाउने गृहकार्य तीव्र, अवकाशको मुखैमा रहेकाको के होला ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रहरी संगठनमा ३० वर्षे सेवा अवधि हटाउँदै उमेर हद र पदीय अवधि राख्न तीव्र गृहकार्य हुँदैछ ।  वर्षौदेखि ३० वर्षे सेवा अवधि हटाउने प्रयास निरन्तर थियो, तर यतिखेर त्यो क्रमले अलि बढी तीव्रता पाएको हो ।

गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले ३० वर्षे सेवावधिमा अवकाश पाउने प्रावधान हटाउनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेपछि गृह मन्त्रायलय कानुनी रुपमै गृहकार्यमा लागेको हो ।

गएको जेठ १६ मा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ३० वर्षे हटाउने विषयमा अध्ययन गर्न आचार्यको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए । समितिले साउन १७ मा ३० वर्षे सेवावधिको कुनै औचित्य नरहेको भन्दै हटाउन सुझावसहितको प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यदलका सदस्य–सचिवमा गृह मन्त्रालयकै उपसचिव कृष्ण गैरे, सदस्यहरू डीआईजी राजन अधिकारी, सशस्त्र प्रहरी बलका डीआईजी दिपेन्द्र शाह र प्रहरीका पूर्वडीआईजी पुरूषोत्तम कँडेल थिए ।

सुझाव प्रतिवेदन बुझेलगत्तै गृहमन्त्री रमेश लेखकले ३० वर्षे सेवावधि हटाउनेबारे प्रहरी प्रधान कार्यालय पुगी सिनियर प्रहरी अधिकारीसँग छलफलसमेत गरिसकेका छन् । 

Royal Enfield Island Ad

हाल प्रहरी अधिकारीले तीन वटा व्यवस्थाका कारण अवकाश पाउँदै आएका छन् ।  ३० वर्षे सेवाअवधि, उमेर हद र पदावधिका कारण अवकाशमा जाने गरेका छन् ।  त्यसमध्ये अधिकांशले प्रहरी अधिकारीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने गरेका छन् । 

यही भदौमा ३० वर्षे सेवा अवधिका कारण करिब एक सय सिनियर प्रहरी अधिकारीले अवकाशमा जाने छन् ।

यसरी अवकाशमा जानेहरू धेरैको उमेर ४९ देखि ५२ वर्षमुनि समूहका छन् ।  जसकारण अनुभवी र काम गर्ने जोश–जाँगर हुँदा हुँदै अवकाशमा जानुपर्दा राज्यलाई समेत ठूलो नोक्सानी हुने गरेको टीकाटिप्पणी प्रहरी वृत्तमा छ ।

२०४९ सालसम्म प्रहरी कर्मचारी उमेर हद र पदावधि (दुई) को आधारमा मात्र अवकाश हुने व्यवस्था थियो । निजामती सेवामा उमेर हद र पदावधिका आधारमा मात्रै भएकाले प्रहरीको ३० वर्षे सेवा हटाउन सिफारिस गरिएको हो ।

३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुने व्यवस्था राखिएसँगै अधिकांश प्रहरी अधिकारीले यही व्यवस्थाका कारण अवकाश पाउन थालेका हुन् ।  त्यसो त, ३० वर्षे सेवा हदकै कारण जुनियर प्रहरी अधिकारीबाट सेवा सुरु गरेकाहरू प्रहरी उपल्लो तहमा समेत पुग्न सक्दैनन् ।

३० वर्षे सेवा अवधिकै कारण उनीहरूले प्रहरी अधिकारीको अस्वाभाविक अवकाश पाउन थालेपछि यसबारे पुनरावलोकन गर्न सर्वोच्च अदालतमा समेत रिट परेको थियो ।

सर्वोच्च अदालतको इजलासले २०७० चैत २० गते प्रहरी नियमावलीमा रहेको प्रहरी कर्मचारीको अवकाशलगायतका सेवा सर्तका सम्बन्धमा पुनरावलोकन गरी ऐनमै व्यवस्था गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश गरेको थियो ।

तर, सर्वोच्चको आदेश भएको ११ वर्षसम्म पनि कुनै पुनरावलोन हुन सकेको छैन । सर्वोच्चको आदेशलाई लत्याउँदै सरकारले २०७१ वैशाख ८ गते नयाँ प्रहरी नियमावली, २०७१ जारी गरेको थियो । त्यसविरुद्ध समेत सर्वोच्चमा रिट परेको थियो ।

उक्त रिटबारेसमेत सर्वोच्चको संयुक्त इजलासले २०७२ पुस १७ गते प्रहरी नियमावलीमा रहेको प्रहरीको अवकाशलगायतका सेवा सर्तका सम्बन्धमा पुनरावलोकन गरी ऐनमै व्यवस्था गर्न पुनः सरकारको नाममा निर्देशनात्मक आदेश गरेको थियो ।

सर्वोच्च अदालतबाट दुई–दुई पटक आदेश भई सक्दा पनि प्रहरी कर्मचारीको अवकाश हुने ३० वर्षे सेवावधि खारेजी भएको छैन ।  बरु उल्टो प्रहरी नियमावली २०७१ मा दश पटक संशोधन गरिएको छ । तर, प्रहरीको अवकाशलगायतका विषय सम्बोधन भएको छैन ।

भदौमै अवकाशमा जाने रोकिन्छन् ?

पछिल्लो समय कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा सरकारले ३० वर्षे सेवावधि संशोधन हुने भएपछि धेरै प्रहरी अधिकृतले जागिर अवधि लम्बिने आशा गरेका थिए । तर, भदौमै अवकाशमा जान लागेका प्रहरी अधिकारीको हकमा अवकाश रोकिने सम्भावना भने न्युन छ ।

अवकाशमा जान लागेका एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, दिल्लीराज विष्ट, रेवती ढकाल, किसनसिंह थापा, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर वली छन् । त्यस्तै, चन्द्रदेव राई, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रविन्द्र रेग्मी एकसाथ अवकाशमा जाँदैछन् ।

सर्वोच्चकै आदेश अनुसार प्रहरी अधिकारीको अवकाशलगायतका सेवा सर्तका सम्बन्धमा पुनरावलोकन गर्दा ऐनमा नै व्यवस्था गर्नुपर्ने आदेशका कारण कठिन देखिएको हो । ऐनमार्फत जाने हो भने पनि ‘फ्रास्ट ट्रयाक’कै बाटो अपनाउँदा पनि कानुन बन्न एक महिना बढी लाग्ने देखिन्छ ।

यद्यपि प्रस्तावित प्रहरी विधेयक संसदमा जाँदा र विधेयक पारित नहुँदासम्म प्रहरी नियमावलीको दफा १२७ को १ को ‘घ’ खारेज वा निस्क्रिय पार्दा भने उनीहरूको अवकाश रोकिन सक्छ ।

उक्त दफामा ३० वर्षे सेवा अवधिबारे उल्लेख छ । त्यसो त, प्रहरी ऐन २०१२ मा भने ३० वर्षे सेवावधि थिएन् । नियमावलीमार्फत ३० वर्षे सेवावधि राखिएका हुँदा त्यसलाई निस्क्रिय पार्न ऐन आवश्यक नहुने तर्क केही प्रहरी अधिकारीको छ ।

३० वर्षे सेवाअवधिबारे भदौ १५ अगावै कुनै निर्णय नभए भने २०५१ भदौ १६ मा भर्ना भएकामध्ये ११ एसएसपी, एसपी, डीएसपी र प्रहरी निरीक्षक गरी करिब एक सय प्रहरी अधिकारीले अवकाश पाउने छन् ।

उक्त टोलीमा एकै पटक ३२८ जना प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए । त्यसमध्ये २५ जनाले द्वन्द्वमा ज्यान गुमाएका थिए भने केही सशस्त्र प्रहरी बलमा स्थानान्त्ररण भए भने केहीले अवकाश पाइसकेका छन् । भदौ १६ मा भने त्यो टोलीका सबैले अवकाश पाउने छन् ।

के–के छ कार्यदलले दिएको सुझावमा ?

कार्यदलले ३० वर्षे सेवा तत्काल हटाउँदा भने संगठनमा ठूलो जाम हुने र वृद्धि विकास रोकिने जनाएको छ । जसकारण नयाँ ऐनमा जारी हुँदा समेत चरणबद्ध रूपमा मात्रै हटाउन सुझाव दिएको छ ।

त्यसका लागि हाल अवकाशमा जान लागेकालाई ६ महिना र अर्को आर्थिक वर्षबाट हरेकको डेढ वर्ष अवधि लम्ब्याउँदै यसलाई पाँच वर्षभित्र पूर्वरुपमा हटाउन सुझाएको हो ।

३० वर्षे सेवावधि पूर्ण रुपमा हटेपछि भने एसपीमाथिका दर्जाका लागि पदावधि र उमेर अवधि राखिनेछ । जसअन्र्तरगत आईजीपीको ३ वर्ष र एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपीको ८ वर्ष र एसपीको १० वर्ष पदावधि सिफारिस गरिएको छ ।

उमेरका हकमा आईजीपीको ५८ वर्ष, एआईजीका हकमा ५६ बाट बढाएर ५७ वर्ष र डीआईजी, एसएसपी र एसपीको ५६ वर्ष राख्न सिफारिस गरिएको छ ।  एसपी मुनिका दर्जाको हकमा भने पदावधि नभई उमेर राख्न सिफारिस गरिएको छ ।

नयाँ प्रहरी विधेयकमा समयोजनबारे समेत निर्णय हुनुपर्ने हुँदा नयाँ विधेयक निश्चय नै पेचिलो बन्नेछ । प्रहरी प्रदेश समायोजनमा जाँदा अनेक खाले समस्या आउन सक्ने आशंकासहित त्यसमा जान चाहिराखेका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro