site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहकारी ठगी प्रकरणमा बिरुवा गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा । सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले सोमबार अध्यक्ष कुँवरसहित थप दुई जनालाई पक्राउ अनुमतिका लागि निवेदन दिएको थियो । प्रहरीको निवेदन अनुसार नै जिल्ला अदालत स्याङ्जाले कुँवरलाई पक्राउ गर्न अनुमति दिएको हो ।

कुँवरबाहेक तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् ।

उनीहरूविरुद्धको पक्राउ पुर्जीलाई स्याङ्जा प्रहरीले भने सामान्य अनुसन्धानका लागि बोलाउन लागिएको जनाएको छ । स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेलले सामान्य सोधपुछका लागि बोलाउन लागिएको प्रतिक्रिया दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एक अधिकारीले भने पक्राउ अनुमति लिएको स्वीकार गरे । “त्यो पत्र कसरी लिक भयो हामी अनुसन्धान गर्दै छौँ । छानबिनका लागि बोलाएर बयान लिने काम त भइरहेको हुन्छ, यो खासै ठुलो इस्यू होइन,” ती अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत साउन ११ गते सहकारीको बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । यस सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए । त्यसकै आधारमा पक्राउ परेका वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेपछि उनलाई पनि अनुसन्धानमा बोलाउन लागिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

वाग्ले पक्राउ परेपछि नै प्रहरीले २० गतेभित्र बचतकर्तालाई उजुरी दिन आग्रह गरेको थियो । सोही आधारमा प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले यो सहकारीमाथि छानबिन गरेको थियो ।

छानबिनको क्रममा सावाँ र ब्याजसहित गरी कुल तीन करोड ६६ लाख ९३ हजार रुपैयाँ हिनामिना भएको देखिएको छ ।

“सहकारी सम्बन्धमा पीडितहरूले जाहेरी दर्ता गरेपछि कारबाही प्रक्रिया अगाडि बढाएका हौँ । सहकारी ऐन अनुसार विज्ञ टोली ल्याएर प्रदेश रजिस्ट्रार कार्यालयबाट छानबिन गरेका छौँ । छानबिन सकिइसकेको छैन । अनुसन्धान जारी छ । अनुसन्धानको क्रममा मान्छे उपस्थित गराउने, बोलाएर सोध्ने, खोज्ने, अनुसन्धानमा कतै जोडिएको खण्डमा बोलाएर सोध्ने हाम्रो अनुसन्धान प्रक्रियाको पाटो हो,” ती अधिकारीले भने ।

अध्यक्ष कुँवर कुनै बेला सहकारीमा सचिव थिए । “तत्कालीन अवस्थामा उहाँ सहकारीको सचिव हुनुहुन्थ्यो, अनुसन्धानको दायरामा तानिएपछि उहाँलाई बोलाइएको हो,” प्रहरी प्रमुख पौडेलले भने ।

उनी गाउँपालिका अध्यक्ष हुनुभन्दा अगाडि नै सहकारीमा रहेको र निर्वाचनका बेला उक्त सहकारीबाट ऋण लिएको स्रोत बताउँछ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro