site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सहकारी, सन्त्रास र अभिघातको कथा

कथा, उपन्यास र कविता लेखनमा करिब तीन दशक खर्चिसकेका सर्जक रोशन थापा ‘नीरव’को पछिल्लो उपन्यास ‘सन्त्रासका साठी दिन’ चर्चामा छ । नवीन शैलीका विचारप्रधान र प्रयोगशील आख्यान लेखेर पनि यथेष्ट सम्बोधन नपाएका सर्जक थापाले अहिले भने आमपाठक, पुरस्कार गुठी तथा मूल्यांकनकर्ताहरूबाट आंशिक भए पनि न्याय पाएको अनुभव गरिएको छ । उनलाई चर्चाको चुलीमा पुर्‍याउने त्यही उपन्यास ‘सन्त्रासका साठी दिन’को यहाँ विवेचना गरिएको छ ।

रोशन थापाका आख्यानका केही विशेषता छन्, जसको विवेचनाले उनका कुनै पनि आख्यानकृतिमा प्रवेश गर्न पाठकलाई सजिलो बनाउन सक्छ । पुस्तकका लती तथा विश्वसाहित्यका अथक पाठक रोशन थापा विसंगतिवादी र अस्तित्ववादी लेखनबाट ज्यादै प्रभावित भएका देखिन्छन् । स्वरूपमा पनि प्रयोगशील उनी अरैखिक कथानकमा रमाउँछन् ।

कहिलेकाहीँ उनका कथानक कथाविहीन यानि ‘प्लटलेस’जस्ता पनि लाग्छन् । फरकफरक कथाहरूमा पनि तिनै पात्र दोहोरिएर आएजस्तो, काठमाडौं वरिपरिको उही परिवेश पुनरावृत्त भएजस्तो, नायक–नायिकाविहीन कथामा उद्देश्यविहीनजस्ता लाग्ने चरित्रहरू बाध्यताहरूको एक अभेद्य जालोहरूमा रुमल्लिइरहेका पाइन्छन् र रुमल्लिइरहेको मान्छेले पुग्नुपर्ने नै कतै हुँदैन । यो दर्शन थाहा पाइयो भने रोशन थापालाई पढ्न र बुझ्न गाह्रो हुँदैन ।

Dabur Nepal
NIC Asia

चर्चामा रहेको कृति ‘सन्त्रासका साठी दिन’मा ‘सहकार्य संस्था’ नाम गरेको एउटा सहकारी संस्थाको पतन र त्यसमा अनाहकमा परेका सरलकुमार र ऊजस्ता निर्दोष पात्रहरूको अभिघातको त्रासद कथा समेटिएको छ । त्यस सहकारीको एक सञ्चालक पनि रहेको मूल पात्र सरलकुमार गुप्तवासमा छ । कारण, कानुनमुखा (पुलिस)ले समाउँछ भन्ने डर छ ।

एकजना आफन्तको घरमा यानि फार्म हाउसमा ऊ अज्ञातवासमा छ । पुस्तक पढ्छ । कविता लेख्छ । बाहिर औषधि किन्नबाहेक खासै निस्किँदैन । आफन्तले एउटा फोन दिएका छन् । बेलाबेला घरमा फोन गर्छ । फेसबुक चलाउँछ । घरमा श्रीमतीलाई अल्सर छ । छोराछोरी सानै छन् । आफू पनि बिरामी छ, औषधि खाइरहनुपर्छ ।

भएको के छ भने, सहकारी संस्था डुब्यो । यसका मूल पदाधिकारी, उपन्यासको भाषामा ‘तिम्ल्याहा त्र्यम्बक महापुरुष’ तीन दाजुभाइ हुन् — जेठो अध्यक्ष, माहिलो प्रबन्धक सञ्चालक र कान्छो प्रमुख अधिकृत । तिनको साथमा एक लास्य नारी नर्तननेत्री पनि छिन् र ती सबैका एक महागुरु पनि छन् ।

तर, यी सबै फरार छन् । महागुरुलाई प्रहरीले समातेको पनि हो, तर छुटिहाले । अहिले बचतकर्तालाई उरालेर सबै दोष निर्दोष सञ्चालकहरूमाथि छ । सञ्चालकहरूले घरजग्गा बेचेर भए पनि बचतकर्ताको पैसा तिर्नुपर्ने भन्ने छ । सरल पनि सञ्चालक हो । त्यसैले पकडा खाने डरले ऊ गुप्तवासमा पसेको छ । प्रहरी उसको पछि छ ।

संस्था डुब्नुको कारणचाहिँ यस्तो छ — कोरोनाकालका कारण विनाबैठक, विनासमिति, विनासहमति, विनाअनुमति पैसा चलाउँदै गए त्र्याम्बकराजहरूले । र, डुब्यो । बचतकर्ताहरू पनि तिनैको उक्साहटमा झुट बोलिरहेका छन् । कोही रोग लागेको र औषधि खाने पैसा नभएको गुनासो गर्छन् । रोग कस्ता भने, रुघा लागेको, नाक बगेको, खोकी लागेको, घाँटी सुक्खा भएको, टाउको दुखेको, आँखा चिलाएको, आँखा चिलाएर रातो भएको, तिर्खा लागेको, खाना नपचेर पातलो दिसा भएको आदि ।

दश लाख जम्मा गर्नेले दुई करोड भनेर ढाँटेका छन् । पाँच लाख राख्नेले ५० लाख भन्ने गरेका छन् । सहकारीले वाङ्मय सेवा उपसमिति पनि बनाएको थियो र त्यसको संयोजक थियो सरल । धेरै कार्यक्रम पनि हुन्थे । तर, सबै खेल अब बन्द ।

पक्राउ परेको एकजना ऊजस्तै निर्दोष सञ्चालकको त खोरमै हार्ट अट्याक भएको छ र ऊ अस्पताल लगिएको छ । यसले सरल झनै भयग्रस्त बन्न पुगेको छ ।

गुप्तवासमा सरलको मनस्थिति ज्यादै दयनीय छ । उसलाई पटकपटक दृष्टिभ्रम भइरहन्छ, कहिले सपनामा आमा आएको देख्छ । कहिले बाबा आएर निश्चिन्त बन्ने सल्लाह दिएको देख्छ । कहिले ऊ आफ्नै अल्टरइगोसँग बोलिरहेको हुन्छ । फसाउने, पोल लगाउने, विश्वासघात गर्ने सबै निकटस्थ, सबै आफन्त ।

अँ, सहकार्यका केही अनुज सहकर्मी भने सरलको साथमा उभिएका छन् । तर, उनीहरूले पनि गर्न सक्ने केही छैन । गुप्तवासमा बस्दै जाँदा सरलको मुटु दुख्न थालेको छ । डाक्टरले एन्जिओप्लास्टीको सल्लाह दिइसकेको छ । देब्रे हात पनि झमझमाएर करेन्ट लागेजस्तो भइरहेछ । उसको गर्दनको हड्डी पनि खिइएको छ । कहिलेकाहीँ ऊ आत्महत्याका बारेमा पनि सोच्न थालेको छ ।

देशमा इतिहासदेखि नै फर्जी मुद्दाहरू बन्दै आएका छन् र निर्दोष ठगिँदै आएका छन् । कतै वास्तविक सहिद हराएको छ र उसको नाममा नक्कली सहिद भत्ता खाइरहेको छ । कतै मारियो भनिएको मान्छे चारधाम घुम्दै छ, मार्ने भनिएको मान्छे खुल्लमखुल्ला देशमै घुमिरहेको छ ।

कतै ११ वर्षको केटालाई २१ वर्षको भन्दै कुखुरा चोरेको आरोपमा जेलचलान गरिएको छ । कतै गाडीले किचेर मान्छे मारिएको छ र उल्टै मारिएको मान्छेले रक्सी खाएर लरबरिएको हुँदा आफैँ ठोक्किएर मरेको भनिएको छ । यस्तो सधैँ हुँदै आएको छ ।

सरलकुमार ११ वर्षको हुँदा पनि एकचोटि प्रहरीले विनाकारण उसका बुवालाई समातेर कुटपिट गरेको थियो । सजाय काटेर बाहिर निस्किइसकेका ‘अङ्गुलीमाल’जस्ता पात्रलाई फेक इन्काउन्टरमा हत्या गरिएका छन् । सरललाई लाग्छ, अहिलेको नेपाल पशुतन्त्रबाट चलेको छ । मान्छे पशुको भूमिकामा उत्रिएको छ र पशु मान्छेजस्ता विवेकी बनेका छन् । पासा उल्टिएको छ ।

गुप्तवासमै सरलकुमार अमिश त्रिपाठीको शिव टाइलोजीअन्तरतको ‘द इम्मोर्टल्स अव् मेलुहा’ पढ्छ । पढ्दै जाँदा उसको मस्तिष्कमा शिवको स्वरूप, त्रिनेत्र र डमरुको डमडम सबै आउँछन् । यसबाट उसमा नयाँ आशा र हिम्मतको सञ्चार हुन्छ । धैर्यको सीमाको अन्तिम विन्दुमा पुगेको सरल अब उठ्ने, बाहिर निस्कने र संघर्ष गर्ने निर्णयमा पुग्छ ।

यसरी हेर्दा सहकारी समस्यालाई मूल विषय बनाएको यस उपन्यासले सहकारीका साथसाथै पुँजीवाद, भ्रष्टाचार, भाइभतिजावाद तथा त्यस्ता अन्य प्रपञ्चबाट निर्दोषहरूमा पर्न आउने अभिघातलाई मूल विषय बनाएको छ ।

माथि नै भनिएको छ, थापा एक प्रयोगवादी लेखक हुन् । यस उपन्यासमा पनि उनले धेरै खालका प्रयोगहरू गरेका छन् । नास्टाल्जियाको प्रयोग धेरै ठाउँमा । सपनामा आमा आउनु, बाबा आउनु, सुदूरविगतमा छिमेकमा आलु सिलो खोज्न गएका कुरा सम्झनु, साथी कमलराजले पुस्तक दिएर उनलाई साहित्यप्रेमी बनाइदिनु अतीतमोहका उदाहरण हुन् ।

सिद्धान्तः जब वर्तमान कुरूप हुँदै जान्छ, मान्छे स्वाभाविक रूपले अतीततिर फर्कन्छ ।

फ्ल्यासब्याकको प्रयोग भरपुर छ । ४६ सालको आन्दोलनमा विद्यार्थीलाई गोली लागेको, कीर्तिपुरमा पढ्दाका शैक्षिक र प्रेमप्रसंग, बाबालाई प्रहरीले पिटेको आदि यसका उदाहरण हुन् । सपना, ऐँठन र केही अतियथार्थपरक प्रसंगको प्रयोग पनि छ । जस्तो, शिशिर–वसन्तको कथाका पात्र सरलकुमारको अवचेतनमा प्रवेश गर्नु र यथार्थका पात्रले जस्तो बोल्नु आफैँमा प्रयोग हो ।

आफूलाई अभिशप्त पात्रको शाश्वत प्रतिनिधि मान्नुले लोककथाहरूको सामसामयिक पुनरपठन वा विपठनको ढोका पनि खोलिएको छ । गहिरो अभिघातलाई सपना वा ऐँठनमा देखाउने कला निकै रोमाञ्चक लाग्छ ।

जहाँसम्म ढाँचाको प्रश्न छ, ‘सन्त्रासका साठी दिन’मा आख्यानको परम्परित ढाँचा छैन । कतिपय विवरण बुँदामा दिइएका छन् । कतै संवाद शैलीमा, कतै चिठीको शैलीमा, कतै डायरीको शैलीमा र कतै समाख्याता आफैँ आएर पाठकसँग संवाद गर्ने शैलीमा यस उपन्यासलाई तयार गरिएको छ । प्रतीकहरूको प्रयोग बाक्लो छ ।

कतैचाहिँ चेतन प्रवाह शैली छ । मनोवाद त यस सम्पूर्ण उपन्यासको मूल उपकरण नै हो । ‘फोरसेडोविङ’ यानि आगतको पूर्वाभासको पनि प्रयोग गरिएको छ । उदाहरणका लागि सन्त्रासको ५४औँ दिनमा ‘आज उसलाई केही कुराको भान पर्दै थियो...’ जस्तो वाक्यको प्रयोग गरिएको छ र संयोगवश त्यसै दिन सरलकुमारको साथीलाई हृदयाघात भएको खबर आउँछ ।

यस्तो सान्दर्भिक कथा र उत्तिकै प्रयोगशीलता बोकेको यस उपन्यासमा पनि केही कमजोरी छन् । संवादात्मक भाषा कतिपय ठाउँमा पात्रसम्मत लाग्दैनन् । एघार वर्षको केटाले प्रहरीलाई ‘बर्दीधारी’ भन्यो र भनेर प्रश्न गर्न सकिन्छ । पानी बनाउने मिस्त्रीले ‘चारैतिर घरैघर । सिमेन्टको जंगल । परेका पानी सोस्ने ठाउँ छैन । भुइँमुनिको पानी रिचार्ज नै हुन पाउँदैन भने कसरी भुइँमुनिको पानी आउँछ त ?’ भन्ने यस्तो वैज्ञानिक कुरा भन्ला त भन्ने पाठकलाई लाग्न सक्छ ।

बचतकर्ताले सञ्चालकका नाममा उजुरी हालिदिए र आफू आनन्दले निद्रा च्यापेर सुत्ने गरे भनिएको छ, तर आनन्दले निद्रा च्यापेर सुते भन्ने कुरा पत्याउन गाह्रै पर्छ ।

प्रहरीले सरलकुमारको घरमा ताला लाउन सक्थ्यो । घर लिलाम गर्न सक्थ्यो । प्रहरीसँग अनेक कानुनसम्मत विकल्प भएर पनि तिनले तिनको प्रयोग किन गरेनन् होला भन्ने कुराले पाठकलाई सोचमग्न अवश्य बनाउँछ ।

कतिपय क्यारेक्टरहरू राम्ररी चिनिँदैनन् । जस्तो, त्र्यम्बकका महागुरु र लास्य नारी नर्तननेत्री प्रसंगमा आउँछन्, बिलाउँछन् । यिनको चरित्र चित्रण घुर्मैलो छ । दिन ५८ र ५९ त निबन्ध भनेर छापे पनि हुन्छ । आख्यानतत्त्व अलि कम पाइन्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro