site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
के ब्रत बस्दा ग्याष्ट्रिक बढ्छ ? कस्तो फलाहार गरेर बस्ने ?

काठमाडौं । पेटलाई निश्चित समय खानेकुराबाट खाली राख्ने अभ्यासलाई विज्ञानले ब्रत वा उपवासको रूपमा परिभाषित गरेको छ । स्वस्थता, फिटनेस, धार्मिक आस्था लगायतमा मात्रै नभइ शरीरमा विभिन्न तत्वहरूको परीक्षणका निम्ति चिकित्सकले समेत ब्रत बस्न सुझाइरहेका हुन्छन् ।

सही प्रक्रिया र टाइमिङका साथ ब्रत बस्दा स्वास्थ्यलाई फाइदा हुने धेरै अध्ययनहरूले देखाएको छ, केही विशेष अवस्थाका व्यक्तिबाहेक । पेटलाई सफा राख्न र पाचन प्रणालीलाई बलियो बनाउन पनि कम्तीमा हप्ताको एकपटक व्रत बस्नु उचित हुन्छ ।

नेपाल कार्डियाक सोसाइटीका अनुसार कम्तीमा १६ घण्टा खानेकुरा क्यालोरी प्राप्त हुने खानेकुरा नखानु फाइदाजनक हुन्छ । क्यालोरी कम र पाचन प्रक्रिया सक्रिय हुँदा तौल घटाउन मदत पुग्छ ।

ब्रतले खराब कोल्स्ट्रोलको मात्रा घटाउँछ । ब्रतको समयमा शरीरमा हुने विभिन्न रसायनिक प्रक्रियाले इन्सुलिन सक्रिय गराई मोटोपन र मधुमेहको जोखिम घटाउन मदत गर्छ ।

साथै, ब्रतले उच्च रक्तचापदेखि बुढ्यौलीपन र क्यान्सरको जोखिमलाई समेत नियन्त्रण गर्ने सोसाइटीले जनाएको छ । तर गर्भवती, स्तनपान गराउने आमा, कडा दीर्घरोगी, माइग्रेनका रोगी जस्ता विशेष अवस्थाका व्यक्तिलाई ब्रत नबस्न सोसाइटीको सुझाव छ ।

ब्रतले ग्याष्ट्रिक बढाउँछ त ?
कतिपय व्यक्तिमा मन भएर पनि ग्याष्ट्रिक हुने भयले ब्रत नबस्ने गरेको पाइन्छ । तर, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिल यो बुझाइ सत्य नभएको बताउँछन् । ब्रतको समयमा पेटमा एसिडको मात्रा कम उत्पादन हुने भएकाले ग्याष्ट्रिक नबढ्ने उनी बताउँछन् ।

बरु अरुले खाएको देख्दा वा पटक पटक खानाको याद गरिरहँदा मस्तिष्कमा त्यसको असर भइ एसिड गराउने तत्वहरू उत्पादन हुन सक्ने डा. अनिलको अनुभव छ ।

ब्रतमा कस्तो फलाहार गर्ने ?
सामान्यता व्रत बस्दा  व्यक्तिको शारीरिक प्रणाली र प्रकृति हेरेर खानेकुराहरू खानुपर्ने हुन्छ । हप्तामा एकपटक ब्रत बस्दा सकेसम्म फलफूलको ताजा जुस वा कागती र मह खानु एकदम राम्रो  र सुरक्षित हुने बताउँछन् योग तथा प्राकृतिक चिकित्सक डा. मनोज ढकाल ।

जुस वा पानी मात्रै खाएर बस्न नसक्नेले फलफुल खाएर बस्दा स्वास्थकर हुन्छ । उनका अनुसार फल खाएर बस्नेले केरा, मेवालगायत सिजनका फलफूल मिसाइ सलाद बनाएर खाँदा फाइदाजनक हुन्छ ।

डा. ढकालका अनुसार स्वास्थ्य विज्ञानले कुनै पनि व्यक्तिलाई निर्जल ब्रत बस्न सल्लाह दिँदैन । कुनै पनि ब्रत बस्दा पानी धेरै पिउनुपर्छ । पानी नपिइ बसिने ब्रतले मिर्गौलामा समस्या निम्त्याउनसक्छ ।

ब्रतको साँझ कस्ता खानेकुरा खाने ?
डा. ढकालका अनुसार दिनभर निराहार बसेर साँझ सकभर लिटो, खिचडी  खिर, फलफुल जस्ता खानेकुरा मात्र खानु लाभदायी हुन्छ । यदि ब्रत बसेको साँझ भात, रोटी वा अन्य कुनै भारी खाना खाए आन्द्रामा घाउ समेत बनाउन सक्छ ।
किनकि हाम्रो पाचन प्रणाली पूर्ण रूपमा त्यस्तो  खानाको पचाउनको लागि तयारी वा सक्षम भएको हुँदैन । त्यसैले भोलिपल्ट मात्र साधारण दिनहुँ खाने खानामा फर्किदाँ राम्रो हुन्छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro