site stats
बाह्रखरी :: Baahrakhari
देश
स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

चितवन । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् । 
 
विश्व स्तनपान सप्ताहका अवसरमा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्व : चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन् । 

उनले भने, “आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।” उनले बच्चाको माया ममता पनि कम हुने जाने बताइन् । 

Argakhachi Cement Island Ad

“स्तनपान गराउने समयमा शिशुलाई सुमसुम्याउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन,” उनले भनिन् । 

स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा. गुप्ताले बताइन् । शिशुलाई जन्मिएदेखि ६ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।
 
बालरोग विशेषज्ञ डा. गुप्ताले भनिन्, “नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।” बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताइन् ।  

“आमाको दूध संकलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिने उनकाे भनाइ छ ।  

फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उनले भनिन्, “तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, तताउनु हुँदैन ।”
 
शिशु जन्मिएको छ महिनापछि मात्रै पुरक खाना खुवाउन उपयुक्त हुने उनले बताइन् । रासस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्