site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपसभामुखमाथि छानबिन गर्नुपर्नेमा कांग्रेस–एमालेको एक मत, भन्छन् : करुणाभावले चल्दैन

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले ‘पदीय मर्यादा भुलेर’ पत्र लेखेको दाबीसहित संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । समितिका सदस्यहरूले पनि पत्रको यथार्थ पत्ता लगाउन छानबिनको माग गरेका छन् ।

सांसदहरूले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखको पत्र 'गम्भीर विषय' भएको बताएका छन् । बुधबार समितिमा रहेका विधेयकहरूबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको थियो । तर, सौर्य एयरको विमान दुर्घटना भएपछि बैठक छोट्याइएको थियो । बैठकमा उपसभामुख रानाविरुद्ध परेको उजुरी वितरण गरिएको थियो । 

भक्तपुरको बालकोट ठेगाना खुलाएर अर्जुन बास्कोटाले उपसभामुखलाई हटाउन माग गर्दै उजुरी दिएका छन् । उनले उजुरीमा उपसभामुख रानाले पदको दुरुपयोग गरेर अमेरिकी दूतावासलाई 'पदीय मर्यादाविपरीत' पत्र लेखेको दाबी गरेका छन् ।

“उपरोक्त सम्बन्धमा माननीय उपसभामुख इन्दिरा रानाले २६/०२/२०२३ मा संसद् सचिवालय र आफ्नो पदको दुरुपयोग गरी अमेरिकी  राजदूतावासमा पदीय मर्यादाविपरीत गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको हुँदा सो पत्रसमेत संलग्न गरी उपसभामुखलाई पद दुरुपयोग गरेको अभियोगमा हटाउन निवेदन चढाएको छु,” उजुरीमा लेखिएको छ ।

बैठकमा उजुरी वितरणपछि नेपाली कांग्रेस र नेकपा (एमाले)ले यो विषयलाई जोडतोडले उठाए । उनीहरूले गम्भीर विषय भएकाले तत्काल छलफल गरेर उपसभामुखमाथि छानबिन गर्नुपर्ने माग राखे ।

नेकपा (एमाले)का सांसद वासुदेव घिमिरेले उपसभामुखको पत्रलाई लिएर लेनदेनको विषय पनि बाहिर आएकाले समिति चुप लागेर बस्न नहुने बताए ।

“उपसभामुखसँग जोडिएको नेपाली व्यक्ति अमेरिका पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएको छ । समितिमा उजुरी आएको कुरा छ,” उनले भने, “यो विषय समितिमा जानकारी आओस् र आवश्यक छलफल होस् । यो संवेदनशील विषय हो ।”

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले उपसभामुखले 'करुणाभाव' देखाएर सफाइ पाउन नहुने बताइन् । उनले यो घटनाले विश्व समुदायमा नेपाली सांसद तथा उपसभामुख पदको बेइज्जत भएको तर्क गरिन् । 

“विश्वमा नेपाल देशको उपसभामुख मानव बेचबिखनमा संलग्न भन्ने आरोप लाग्ने भयो‚” उनले भनिन्‚ “उहाँको छानबिन हुनुपर्छ । दोषी नदेखिन सक्नुहुन्छ, तर दोष वा निर्दोष के हो छुट्याउन छानबिन हुनुपर्छ ।”

संसद्को लेटरप्याड दुरुपयोग गरेको सांसदहरूको भनाइ छ । उपसभामुख राना आफैँले एक जनाबाहेक अरूलाई नचिन्ने बताएपछि थप प्रश्न सिर्जना गरेको सांसदहरूको तर्क छ । राना निर्वाचित भएकै पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले फेसबुकमार्फत आफूले ९ लाख लेनदेन भएको जानकारी पाएको बताएका छन् । पार्टीमा उजुरी परेपछि मिलाएर सामसुम बनाइएको दाबीबारे पनि छानबिन हुनुपर्ने माग सांसदहरूको छ । 

“उपसभामुखको पत्रको यथार्थ छुट्याउन छानबिन प्रकृया अघि बढाउन के गर्न सकिन्छ समितिले त्यो गर्नुपर्छ‚” सांसद न्यौपानेले भनिन् । 

‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७औँ सत्रमा भाग लिने नाममा उपसभामुख रानाले पाँच जनाका लागि अन्तर्वार्ताको मिति अघि सार्न लेखेको पत्रले सदनसमेत तताएको थियो । 

२६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तिमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि सार्न आग्रह गर्दै पत्र लेखिकी थिइन् । सोही पत्र केही दिनअघि मात्र सार्वजनिक भएको हो । जसलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro