site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशबाट १२ सय विद्यार्थी नेपाल फर्किए, सडकबाट आउने धेरै 
फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशमा कोटाविरोधी आन्दोनल हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्कने क्रम जारी छ । 

परराष्ट्र मन्त्रालयका अनुसार आइतबारसम्म बंगलादेशबाट एक हजार २०० नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । धेरैजसो सडकमार्गबाट भारत हुँदै नेपाल आएको परराष्ट्रले जनाएको छ ।

आइतबार मात्र बंगलादेशबाट ४२० नेपाली विद्यार्थी स्वदेश फर्केका थिए । उनीहरूमध्ये ३०५ जना काकडभिट्टा सीमाबाट नेपाल प्रवेश गरेका थिए । 

“बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित छन् । ढाकामा रहेको नेपाली दूतावास विश्वविद्यालय प्रशासन र नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको छ,” परराष्ट्र मन्त्रालयले समाजिक सञ्जाल एक्समार्फत भनेको छ ।

केहीदिन यतादेखि बंगलादेशमा कोटाविरोध आन्दोलन चर्केको छ । विश्वविद्यालयका विद्यार्थीले आन्दोलन चर्काइरहेका छन् । आन्दोलनमा क्रममा १०० जनाभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन । 

आन्दोलन हिंसात्मक बनेपछि बंगलादेश सरकारले त्यहाँका सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ । 

ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई तत्कालै कुनै सहयोग आवश्यक परेमा ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गर्न अनुरोध गरेको छ । 

ढाकास्थित नेपाली दूतावासका अनुसार बंगलादेशमा तीन हजारको हाराहारीमा नेपाली रहेका छन् । अधिकांश विद्यार्थी छन् । बंगलादेशमा अध्ययनरत नेपालीमध्ये दुई हजार ४०० जति मेडिकल शिक्षा अध्ययनरत छन् । दोस्रो ठूलो संख्या कृषि पढ्नेहरूको छ । 

खासगरी सरकारी जागिरमा आरक्षणको व्यवस्थालाई लिएर बंगलादेशका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विश्वविद्यालयका विद्यार्थीले सन् १९७१ को मुक्ति युद्ध लड्ने सैनिकको बालबालिकालाई सरकारी जागिरमा दिइँदै आइएको आरक्षणको व्यवस्थाको विरोध गरेका हुन् । 

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने युद्धमा सहभागी सैनिकलाई बंगलादेशमा ‘वार हिरो’ भन्ने गरिन्छ । बंगलादेशमा एकतिहाइ सरकारी जागिर यिनै वार हिरोका छोराछोरीको लागि आरक्षण छ । यसैको विरुद्धमा विद्यार्थीहरुले आन्दोन गरेका हुन् र उक्त आरक्षण हटाई ‘मेरिट’को आधारमा रोजगारी प्रदान गर्न माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro