
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–१, निंगाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा शुक्रबार साँझ यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बस चालक दोलखाको कालिञ्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधवबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस