site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सम्झेर वीपीलाई 

 –सूयर्माराज राई


जीवनको अन्धकारमा 
दिशाहीन बनेर 
वा अनेकौं पीरहरूको पहाडले थिचिएर
अभिशप्त जीवन बाँचिरहनु भएको बेला 
कहालीलाग्दो जीवनको निःस्पट्ट अध्याँरोमा 
कतै दूरमा टिलपिल टिलपिल जुनकीरीझैँ उज्यालो देख्नु'भो  
र, जीवनमा एक्कासी उत्साहले भरिनु’भो भने, 
सम्झिनुस् ,तपाईंभित्र वीपीको आत्मा छ ।
एउटा श्रमिक 
पसिनाले निथ्थ्रुक्क भएर
क्लान्त शरीर अनि हरेस खाँदो जाँगरको भारीले किचिएर
दीर्घरोगले थला परेकी आमा
लौरोको सहाराले आँगनमा टहल्ने
दमले खाएका बुढा बा
छोराछोरीको तिर्नुपर्ने स्कुलको फी
हजार दुःखविरुद्ध सतिसालझैँ ठिंग उभिएकी 
वर्षौंदेखि नफेरिएको गुन्यू–चोलीमा
बिना गुनासो मुस्काइरहने स्वास्नीको जुनेली मुहार,
सम्झेर अकस्मात
उ आफूमा हजार हात्तीको तागत भर्छ,
र पसिनाको तपतप नीलोसँग आफ्नो हौसला बुलन्द गर्छ ।
परिवर्तन समभव छ, 
आज जे छ, त्यो भोलि बदलिन्छ भन्ने दृढता राख्छ ।
सम्झिनुस्– उभित्र वीपीको बास छ ।
कहिल्यै छिचोल्न नसक्ने दुःखको महाभारत 
एकै निमेष खुलेर हाँस्नलाई अनुमति लिनुपर्ने जीवनको दैनिकी
असारका झरी हुन् वा माघका कठ्यांग्रिदो चिसो 
खट्नुछ परिवारको गाँस नकाटियोस् भन्नलाई
खेल्नुछ माटो, पानी र हिलोसँग 
झेल्नुछ बर्खा–भेल र पहिरोसँग 
थकित थकित एउटा किसान 
हन्डर, ठक्कर र अन्तहीन संघर्षसँग पौंठेजोरी खेल्दै 
सहर्ष तयार हुन्छ, अझै धेरै मिहिनेतले सिंचिन 
माटोमा उर्वरता
र, राख्छ साहस लाखौं परिवारको गाँस भर्नलाई 
सम्झिनुस्– उभित्र वीपीको चिन्तन छ ।
जब मर्छ न्याय, र मर्छ आवाज 
हुन्छ थिचोमिचो, अन्याय र अत्याचार 
भोग्न पाउँदैन जब एउटा मान्छेले 
आफ्नो खुसी र स्वतन्त्रताको यौवन
ठड्याएर आफ्नै पौरखले सपनाको महल
खुला आकाश अनि संसार 
पक्षीजस्तै स्वच्छन्द बाँच्ने एउटा रहर
जब अनायास बाधक बनेर उभिदिन्छ 
कुनै शोषक वा तानाशाह 
र, हठात कुल्चिदिन्छ मान्छेका हजार सपनाहरूलाई 
मानौँ मान्छे भन्नु छिचिमिरा हो ।
तिनीहरूको सपना वा इच्छा भन्नु
एक श्रापित र वर्जित अनुष्ठान हो ।
बुझेर यो सत्यलाई अनि,
ऊ मर्न तयार हुन्छ तर,
लड्न पछि नहट्ने भीष्मप्रतिज्ञा बोकेर 
कफनमा बेरेर आफ्नो भविष्यलाई
अरुहरूकै भविष्यका खातिर 
उ बोक्छ क्रान्तिको धारिलो चेतना
र होमिन्छ मुक्तिको युद्धमा 
सम्झिनुस्– ऊ भित्र वीपीको विचार छ ।
प्रियजन, कतै बाटोमा संयोगले भेटिएको
कोही अपरिचित 
वा वरपर देखेर कोही परिचित 
श्रद्धाले निहुरिन्छ आफैं तपाईंको शीर 
अनि हृदयले फेर्छ एउटा मृदुल स्वास भने 
सम्झिनुस्– ऊ वीपी हो ।
वीपी  यत्र छन्, तत्र छन्, सर्वत्र छन् ।
वीपी त एक चिन्तन हुन्, एक विचार हुन् ।
एक ज्ञान हुन्, एक चेतना हुन् ।
एक अभियान हुन्, एक आन्दोलन हुन् ।
एक सपना हुन्, एक उद्देश्य हुन् ।
एक आशा हुन्, एक ज्योति हुन् ।
एक प्रेरणा हुन्, एक साहस हुन् ।
एक हौसला हुन्, एक आवाज हुन् ।
एक युद्ध हुन्, एक परिवर्तन हुन् ।

(४२ औं वीपी स्मृति दिवसमा समर्पित)
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्