site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
सहज छैन सत्तामा सहयात्रा

हालै कतै पढेको हो - प्रत्येक पुस्तामा आफ्नो हैसियतअनुसारको निराशा हुन्छ र कम्तीमा निरन्तरको  छटपटीका रूपमा व्यक्त (विरेचन) भइरहन्छ । नेपालमा पनि अहिले सबै पुस्तामा आआफ्नै निराशा छ र आआफ्नै हैसियतअनुसार प्रकट भइरहेको छ । यसैले सामाजिक सञ्जालमा व्यक्त निराशा एक प्रकारको विरेचन नै हुनाले समाजलाई स्वस्थ नै बनाउला ।

पहिलोपटक ओलीको नेतृत्वमा कांग्रेस

पहिलोपटक खड्गप्रसाद ओलीको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सामेल भएको छ । त्यसो त नेकपा (एमाले) र नेपाली कांग्रेसबीच २०४६ सालपछि पटकपटक सत्ता साझदारी भइरहेको छ तर यसभन्दा पहिले एकपटक माधवकुमार नेपाल प्रधानमन्त्री हुँदामात्र कांग्रेस एमालेको नेतृत्वमा सरकारमा सामेल भएको थियो । अरू धेरैपटक नेपाली कांग्रेसबाट प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सबैको नेतृत्वमा एमाले सरकारमा गएको थियो । यसैले पनि कांग्रेसहरूका लागि यो नयाँ अनुभव हुनेछ । नयाँ अभ्यास अलिकति असजिलो त लागि हाल्छ ।

Dabur Nepal
NIC Asia

महामन्त्री द्वयको चित्त दुखाइ
कांग्रेसका महामन्त्री दुवैलाई एमालेसँग सत्ता साझेदारी उति मन परेजस्तो देखिएन । घुमाउरो शैलीमै सही दुवैले बेखुसी देखाइसके साता दिन नबित्दै । उनीहरूलाई सम्भवतः सत्ता साझेदारीको संवादमा पनि सामेल गराइएन । सभापति शेरबहादुर देउवाले आफ्नै ‘विश्वासपात्र’लाई पत्याए । आफ्नै पत्नीलाई अगाडि सारे । अनि अरू नेता झस्किनु पनि स्वाभाविकै हो । 

सभापति देउवाले बेइमानी गरेका छैनन् तर ओलीले हकमा अहिलेसम्म सहमति आफ्ना ‘परिजन’ र ’पुरजन’लाई चित्त दुखाएर तह लगाउन पनि सक्तैनन् । यस्तै  उनमा आफू र नेपाली कांग्रेस पनि काठमाडौंको कुलीन वर्गको प्रतिनिधि एवं संरक्षक भएको भ्रम छ । नवअभिजातहरूको स्वार्थ रक्षा गर्ने दायित्व आफ्नै भएको ठान्छन् । उता ओलीले पनि अब आफूलाई नवसम्भ्रान्त वर्गकै संरक्षक ठानिसकेका छन् । यसैले वर्गीय स्वार्थ त नहोला तर को कति क्यारेटको नवकुलीन बन्ने भन्ने होडमा टक्कर पर्ने पो हो कि ?

कांग्रेस हराएको हेपिएको भान
ओली प्रधानमन्त्री भएकाले स्वाभाविकरूपमा उनको र एमालेकै चर्चा हुनेछ । अहिले अन्तर्राष्ट्रिय मिडियामा ‘नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पाार्टीको सरकार’ गठन भएको प्रचार भएको छ । हुनत पुष्पकमल दाहाल नेतृत्वको यसभन्दा पहिलेको भन्दा ओली नेतृत्वको सरकारमा कम्युनिस्टको अनुपात थोरै छ तर अरूले हेर्दा त पूरै कम्युनिस्ट देखिँदो रहेछ । सरकारको सबैभन्दा ठूलो साझेदार भएर पनि मञ्चमा कतै नदेखिँदा कांग्रेसजनमा छटपटी देखिनु स्वाभाविकै हो ।  
  

कांग्रेसभित्रको थप छटपटी
अरूले नदेख्ने त छँदैछ कांग्रेसका अधिकांश नेता कार्यकर्ता स्वयंले पनि सरकारमा आफ्नो पार्टी भएको अनुभव गर्न सक्नेछैनन् । मूलतः सरकारमा कांग्रेस भनेको कर्णालीपारि र चाक्सीबारीमा सीमित देखिएको छ । कांग्रेसले पाएको मन्त्रालयहरूमा पनि गृह र परराष्ट्र सुदूरपश्चिमलाई दिइएको छ । सबै प्रदेशलाई पुग्ने भाग पाएको भए पनि केही प्रदेशमा सीमित गरिएको छ । यस्तोमा देशभरका धेरै कार्यकर्तामात्र होइनन् सांसदहरूले समेत हेपिएको ठान्न सक्छन् ।

ओलीले दाहाललाई जसरी नै देउवालाई हेप्न वा तेजोबध गर्न खोजे भने कांग्रेसका देउवाविरोधीले समेत सहँदैनन् । कांग्रेसजनमा एउटा अचम्मको प्रवृत्ति छ आफ्ना नेतालाई आफैँ त मनपरी गाली गर्न हिचकिचाउँदैनन् तर अरूले हेपेको सहँदैनन् ।

एमालेको इसारामा प्रशासनयन्त्र 
प्रशासनयन्त्रमा त सबैतिर एमालेकै पकड छ । माओवादीसँग हुँदा बरू एमाले समर्थक कर्मचारीसमेत कांग्रेससँग नजिकिन पनि खोज्थे । कर्मचारीमा पकडमात्र होइन सरकार सञ्चालन गर्ने संयन्त्र पनि थिएन माओवादीको । अब त कांग्रेसकै मन्त्रीलाई पनि एमालेको संयन्त्रले घुमाउँछ । मन्त्रीहरूले मेसै पाउनेछैनन् । कर्मचारीले जिल्याएको थाहा पाएपछि मात्र झल्याँस्स हुनेछन् ।  

ओलीमा ‘इगोमेनिया’ 
उता प्रधानमन्त्री ओलीको कसैलाई नगन्ने र आफूलाई सर्वजान्ने ठान्ने स्वभाव छ । पहिलोपटक कांग्रेसलाई आफ्नो नेतृत्वमा ल्याउन सफल भएका ओली कांग्रेसजनले पनि आफूलाई ‘सर्वतोभावेन’ मानुन् भन्ने ठान्नेछन् । कांग्रेसहरूको भने अरू त के आफ्नै नेतालाई समेत सितिमिति नटेर्ने बानी छ । यसो भयो भने एकातिर ओलीले इख लिन सक्छन् भने अर्कोतिर कांग्रेसहरू पनि झोँकिन सक्छन् ।   

ओलीमा ‘अहङ्कार’ अलि बढी नै छ । उनको ‘इगोमेनिक’ स्वभाव बेलाकुबेला ठाउँ न ठहर प्रकट हुन्छ । एमाले कार्यकर्ताले त ओलीका सबै गुणअवगुण स्वीकार्छन् । स्वीकार गर्न नसक्नेहरू छाडेर हिँडे । कांग्रेसका मन्त्रीहरूलाई त्यसरी नै ओलीलाई ‘मान्न’ अलि असजिलै होला । उता कांग्रेस मन्त्रीले अटेर गरे भने त्यसलाई सहन ओलीलाई कठिन हुनसक्छ ।  

नेताहरूलाई तिनको कामअनुसार कार्यकर्ता वा जनताले हेरेको भए अहिले देउवा वा ओलीहरू इतिहासको कुनै कुनामा थन्किसकेको हुनुपर्ने । व्यक्ति विशेषप्रति आफूले बनाएको धारणाअनुसार नै उनीहरू मूल्याङ्कन गर्छन् । यसैले ओलीका पक्षमा भन्दा वा विपक्षमा बढी सुनिने हो । 

दुवैको साझा प्रवृत्ति पनि विवादको बीउ 
देउवा र ओली दुवैमा राज्यको सम्पत्तिलाई आफ्नै ठान्ने र तजबिजमा जे गरे पनि हुन्छ भनेर मान्ने एउटा प्रवृत्ति भने समान छ । तर, आफ्नाहरूलाई पोस्ने क्रममा दुवैबीच स्वार्थ बाझिन सक्छ । एउटै ठेक्का दुवैका ‘मान्छे’लाई चाहिन सक्छ । एउटै पदमा दुवैका चाकरीदारहरूको आँखा गडेको हुनसक्छ । दुवै चुकेका हुनसक्छन् । त्यस अवस्थामा के होला ? 

राजनीतिक झुकावमा अन्तर

राजनीतिकरूपमा पनि प्रधानमन्त्री ओली अवचेतनमा ‘शाही कम्युनिस्ट’ हुन् । ‘माहेन्द्री राष्ट्रवाद’ प्रति ओलीको झुकाव विगतमा ‘पहाडी राष्ट्रवाद’का रूपमा प्रकट भइसकेको छ । सत्ताको तातोले उनमा त्यही उन्माद जगाइदियो भने नयाँ कांग्रेसहरूले पचाए पनि पुराना कांग्रेसले पचाउन सक्नेछैनन् । यो राजीतिक विवादको बीउले पनि कांग्रेस र ओलीका बीचमा सहयात्रा कठिन बनाउन सक्छ । 

सत्ताका ‘सुपरग्लु’ दलाल 
त्यसो त ‘सुपरग्लु’ सत्ताका दलालहरूको पहुँच दुवैतिर छ । त्यसैले उनीहरूले दुवै पार्टीका नेतालाई ठेगानमा राख्न सक्नेछन् । सत्ताका दलाले तर मार्ने र सान देखाउने तर कार्यकर्ताले अपजस बोक्नुपर्ने भएमा कांग्रेसजनका लागि सहन कठिन हुनेछ । 

सहकारी ठगीका सम्बन्धमा वा कैलास सिरोहियालाई प्रतिशोधमा पक्रँदा रवि लामिछानेको ओड ढाकेका ओलीलाई अब बोली फेर्न कति सजिलो होला ? गिरीबन्धु टी इस्टेटका मामिलामा कांग्रेस साँच्चै नै चुप नलाग्ला त ? केही कठिन प्रश्न छन् ओलीले कांग्रेसलाई झुक्याउन खोज्ने ।   

यस्ता अनेकौं कमजोर कडी कुनै पनि बेला टुट्न सक्ने जोखिम छ । पर्खौं र हेरौं के हुन्छ ? 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro