site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुल्जार भेडेटार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

भोलेनाथले भस्मासुर नामको असुरलाई जसको टाउकोमा हात राखे पनि भस्म हुने वरदान दिएपश्चात् उसले त्यो शक्तिको व्यापक दुरुपयोग मात्र गरेन, माता पार्वतीसँगै विवाहको प्रस्ताव राख्यो । जब शिवशंकरले भस्म गरिदिने धम्की दिए, उसले आफूले नै भस्म गरिदिने भन्दै शिवजीलाई लखेट्न थाल्यो । यी सबै कुराको चाल पाएर महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान् विष्णुले भस्मासुरलाई कैलाशबाट हलेसीमा ल्याएको शास्त्रमा वर्णित छ । मोहनी रूपधारी विष्णुले राक्षसलाई झुक्याएर भस्म गरिदिएका थिए, त्यसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ ।

यही पौराणिक कथाले मलाई हलेसी महादेव दर्शनको अभिलाषा बढाएको थियो । तर, मौका जुरेको थिएन । ‘एभ्रिथिङ्स हेपन बाई रिजन’ र ‘ह्वाटएभर हेपन्स, हेपन्स फर गुड’ भनेजस्तो त्यस दिनको मौसमले मेरो यही अभिलाषा पूरा गर्न साथ दिएजस्तो भयो ।

त्रिभुवन विमानस्थलबाट तुम्लिङटारका लागि जहाजमा उड्न हिँडेकामा जब मौसमका कारण उडान रद्द भएको घोषणा भयो, अनि हामीले हाम्रो यात्रा सडक यातायातबाट गर्ने तय गर्‍यौँ । सोहीबमोजिम हलेसीको दर्शनसँगै पूर्वी पहाड भोजपुरको कार्यक्रमका लागि बीपी राजमार्गबाट हलेसीतर्फ रवाना भयौँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बीपी राजमार्गको रमाइलो यात्रासँगै सिन्धुलीको खुर्कोटबाट लागियो पूर्वतिर सुनकोसीको किनारैकिनार । छिटपुट बस्ती । कतै रुखा पहाड त कतै थोरै हरियाली भएका बस्ती छिचोल्दै उदयपुर अनि ओखलढुंगा हुँदै खोटाङको सिमाना भेटिँदा झमक्क साँझ परिसकेको थियो । करिब राति नौ बजे पुगियो हलेसी मन्दिरछेउ । सडक त पूरै टुटेको रहेछ, खाल्टाखुल्टी बाटोले जिउ थिलोथिलो भएको थियो ।

होटेलमा झोला राखी तातो पानीको सुर्कोसँगै कार्यक्रम संयोजक उदय जैसीले भने, “पर्यटन क्षेत्रप्रति कति उदासीन छ सरकार, हिन्दु, बौद्ध तथा किराँत धर्मावलम्बीको पवित्र तीर्थस्थल – जहाँ वर्षमा हजारौँ तीर्थयात्रीहरूले तीर्थाटन गर्छन्, त्यस्तो ठाउँमा जाने बाटोको हालत त यस्तो छ ।”

Royal Enfield Island Ad

हामी भने मौन बस्यौँ । सुक्खा रोटी चपाएर ‘खुट्टा तान्ने’ हाम्रो योजना होटेल साहुनीको ‘लापर्बाही’ले केही ढिलो हुने भएको थियो ।

हामीले ओखलढुंगाबाट नै फोन गरी कोठा बुकसँगै खाना अर्डर गरेका थियौँ । सायद होटेल साहुनीले हामीलाई पत्याइनन् क्यार, नत्र हामी पुग्दा खाना तयार भइसक्नुपर्थ्यो ।

“हाम्रा कुनै पनि गतिविधि र व्यवहार पर्यटनमैत्री छैनन् । आफ्नो आम्दानीको स्रोतप्रति यति गैरजिम्मेवार भएर हामी कसरी उँभो लागौँला र ?,” सँगै गएका पर्यटन क्षेत्रमा लामो समय क्रियाशील शम्भु कार्कीजी फतफताए ।

मैले भने सुदूरपश्चिमको दुर्गम जिल्लामा भएको एउटा घटना सुनाए । केही दिनअघि मेरा एक मित्र बाजुरामा कुनै तालिमका लागि गएका रहेछन् । तालिमको दोस्रो दिन मासुभात बनाउन होटेल साहुलाई अर्डर गर्न गएछन् । साहुले झर्किंदै मासु शनिबार मात्र मिल्ने बताएछन् ।

होटेल साहुका कुरा सुनेपछि ती मेरा साथीले हाँस्दै भनेछन्– ए, ल ल । त्यसो भए बुधबार हाम्रो कार्यक्रम सकिसक्छ, मासु खानैका लागि हामी थप तीन दिन यतै बसूँला ।

ती साथीसँग घटेको यो सत्यघटना सुनाएपछि चारैजनाको थकित मुहारमा थोरै भए पनि मुस्कान आयो ।

“पर्यटकीय क्षेत्रमा संलग्न सबैलाई तालिम दिनु जरुरी ठान्छु म त, किनकि पर्यटनमा बेच्ने भनेको सेवा र कथा हो । तर, हामी न त सेवा दिन सक्छौँ न त कथा निर्माण नै । अनि, कसरी उचित प्रतिफल पाइन्छ ?,” मैले पनि कुरा उप्काए ।

तर, भोकले रन्थनिएकाले होलान्, कसैले प्रतिक्रिया जनाएनन् । यस्तैमा करिब साढे दश बजे हाम्रो खाना टेबुलमा आइपुग्यो ।

दूधदही केही नपाउने बताएर सुक्खा रोटी पस्किएकी साहुनीलाई रिसले हेर्दै साथीहरू जबरजस्ती रोटी चपाउन थाले । मैले पनि ‘भोजनभन्दा भोक मिठो’ भन्ने वीरबलको उत्तर सम्झिँदै कपाकप रोटी निल्न थालेँ ।

अर्को दिन बिहान पाँच नबज्दै हलेसी मन्दिरको पवित्र भूमिमा पाइला टेक्दा गुफाको ढोका त बन्द रहेछ । आधा घण्टापछि ढोका खुल्यो, अनि लागियो हलेसी गुफाभित्र ।

साँच्चै अद्भुत र अलौकिक रहेछ भित्र । शिवपार्वतीको दिव्य दर्शनपश्चात् बाहिर निस्कनै मन लागेन । कस्तो अद्भुत स्थान, साँच्चै पौराणिक कथामा भनिएझैँ कैलाशबाट विष्णुले भस्मासुरलाई ल्याएर नृत्य सिकाउने बहानामा झुक्याएर मारेर देवको उद्धार गरेको यो भूमिमा चारैतिर दृष्टि घुमाइरहेँ । प्राकृतिक रूपमै बनेका मूर्तिहरू, चित्रहरू ।

एकातिर बौद्ध धर्मका गुरु लामा पाठ गरिरहेका, अर्कोतिर हिन्दु ब्राह्मण । साँच्चै भित्रको दृष्य पनि अद्भुत र समावेशी नै थियो ।

बहुलताको उत्कृष्ट रूपको समाज पनि कसरी एक भएर बसेको छ, यो सामाजिक सद्भाव अमर रहोस् – मनमनै कामना गरेँ ।

करिब आधा घण्टा गुफामा बिताएर लागियो खोटाङ सदरमुकाम दिक्तेलतिर ।

पहाडको पुरानो बजार दिक्तेलको छोटो अवलोकनपश्चात् हाम्रो मोटर हुँइकियो भोजपुरतर्फ, जहाँ एघार बजे नै पुग्नुपर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बाटोको बेहाल रहेछ । हाम्रो मोटर त फसिहाल्यो हिलाम्मे सडकमा, न त पछाडि आउँछ न अगाडि नै बढ्छ । के गर्ने के नगर्ने भयौँ ।

त्यो सुनसान सडकमा कुनै गाडी पनि थिएन । नजिकै सानो बस्ती र दुइटा साना पसल रहेछन् । भोक पनि लागेको थियो । तर, खान केही भेटिएन । अब कार्यक्रममा त पुग्न नसकिने नै भयो । समन्वय गरिरहेका गाउँपालिकाका  योजना अधिकृत तारन्तार फोन गरिरहेका थिए ।

उनले नै ट्याक्टर बोलाएर मोटर तान्न लगाउन सुझाए । ट्याक्टर कहाँबाट भेट्नु ! पसलका साहुसँगै ट्याक्टर खोजिदिन अनुनय गर्‍यौँ । साहुजीले ट्याक्टर त भेट्टाए, तर चालक नभएको खबर आयो । यस्तैमा दिउँसोको बाह्र बजिहाल्यो ।

केही उपाय नलागेपछि तिनै साहुजीलाई खाना बनाइदिन अनुरोध गर्‍यौँ । उनले साहुनीसँग सल्लाह गरेर कुखुराको मासुको झोलसित भात मात्र दिन सक्ने बताए । हामीले पनि स्वीकृतिमा टाउको हल्लायौँ ।

खानाको पैसा तिर्ने बेला साहुनीले भनेको भन्दा तीन सय बढी भुक्तानी दियौँ । मलाई लाग्यो, हाम्रो तीन सयले कतै यिनलाई प्रोत्साहित गरी व्यवसायी बनाई पो हाल्छ कि ! यिनले होटेल नै खोले अर्को कुनै यात्रीले हामीले जस्तै खानाका लागि यस्तो अनुनयविनय गर्नु पर्दैन ।

करिब एक बजेतिर ट्याक्टरले हाम्रो फसेको मोटर बाहिर निकाल्यो । अब भने हामी कतै विलम्ब नगरी आफ्नो गन्तव्यतिर लाग्यौँ ।

बेलुकाको झन्डै पाँच बजे मात्र हामी भोजपुरको अरुण गाउँपालिकाको सदरमुकाम प्याउली पुग्यौँ, जहाँ कार्यक्रमका सहभागी हामीलाई कुरेर बसिरहेका थिए ।

कार्यक्रमको सुरुआत गराएर साथीहरूलाई त्यहीँ छोडी मैले अर्को दिन काठमाडौं आइपुग्नुपर्ने भएकाले फर्किहाल्ने निधो गरेँ । अनि, त्यो कच्चीबाटोभन्दा त विराटनगरबाट काठमाडौं फर्किने मार्ग तय भयो ।

भोजपुर, धनकुटाका सुन्दर भूभाग छिचोल्दै अर्को दिन दश बजे पुगियो धनकुटाको पर्यटकीय नगरी भेडेटार । तराई धपधप बलिरहेका बेला भेडेटार  पर्यटकलाई प्रकृतिबाट निःशुल्क रूपमा प्राप्त गरेको शीतलता बेचिरहेको थियो ।

विभिन्न स्थानबाट भेडेटारमा गर्मी छल्न पुगेका पर्यटकहरूको निकै चहलपहल थियो । साँच्चिकै गुल्जार भएको थियो भेडेटार ।

एक पर्यटकीयस्थलले सयौँलाई रोजगारी मात्र दिँदैन, स्थानीय उत्पादन खपतमा पनि ठूलो भूमिका खेल्छ – जसले ग्रामीण कृषकलाई हौस्याउँछ, संस्कृति संरक्षण गराउँछ । रैथाने खानाको प्रवर्द्धनसँगै ग्रामीण गरिबी न्यूनीकरणमा पनि ठूलो भूमिका खेल्दछ ।

भेडेदार पनि आज शीतलता देखाएर काँक्रा, निगुरो तथा स्थानीय उत्पादन नरिवलको बिस्कुट अनि अचारहरू धमाधम बेचिरहेको थियो ।

थरीथरीका भाषा, गाउँपिच्छे फरक संस्कृति तथा रैथाने खानाको स्वाद । एक घण्टाको फरक दूरीमा पाइने जलवायु भिन्नता अनि अतिथि देवो भवः को महान् संस्कृति । कैयौँ पवित्र धार्मिकस्थल, अनुपम र बेजोड पर्यटकीय माहोल कहाँ पाइएला ?

ग्रामीण पर्यटनको यस्तो अपार सम्भावनालाई पहिल्याउँदै तीनै तहका सरकारले पर्यटन पूर्वाधारमा लगानी किन बढाउन नसकेका होलान् ? भेडेटारको भीड देखेर मन उद्वेलित भयो ।

सोच राखेर मात्र के गर्नु, कार्यान्वयनमा बसेकाले केही गर्ने होइनन् ! आफैँले आफूलाई सम्झाएँ, अनि बिदाइका हात हल्लाएँ भेडेटारलाई ।

भेडेटारबाट बिदा लिएर चार दिनको पूर्वी पहाडको यात्रा टुंग्याई धरानमा बुढासुब्बाको दर्शनपश्चात् लागियो कंक्रिटको जंगल काठमाडौंतर्फ ।

(डडेलधुरा)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro