site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ढिकुरोको पुजारी !

पूर्णप्रसादले सन्न्यास लिनुभयो भन्ने हल्लाले सम्पूर्ण भेक नै ढाक्यो ।

“जागिरबाट अवकाश लिएको त पाँच वर्ष भयो, केबाट सन्न्यास लिनुभएछ ?,” भरखरै स्नातक उत्तीर्ण भएर आयोगको तयारी गर्दै गरेको नरेशले सोध्यो ।

“बुढाले त हरिद्वारमा गएर टुप्पी काटेछ्न् नि !,” भोलानाथ काकाले भन्नुभयो ।

Dabur Nepal
NIC Asia

“कहिले आउनुभएको रहेछ ?,” नरेशले जिज्ञासा व्यक्त गर्‍यो ।

“हल्ला आएको छ, तर पूर्णप्रसाद दाइ आउनुभएको छैन,” भोलानाथ काकाले भन्नुभयो ।

“सुन्दरले पनि थाहा पायो ?,” नरेशले फेरि सोध्यो ।

“गाउँपाखा नै हल्ला भएपछि उसले पनि थाहा पायो नि ! घरबाट सल्लाह गरेर नै तीर्थ जान्छु भनेर हिँडेका बुढा, गएका साथीहरूसँग ‘घरमा म नभएर केही बित्दो छैन, छआठ महिना यतै बस्छु र यौटा पुस्तक लेख्छु’ भनेर खबर पठाएछन्,” काकाले भन्नुभयो ।

“खर्च के गरेर धानेछन् ?,” नरेशले अर्को प्रश्न गर्‍यो ।

“एकपटक खातामा छोराले पैसा राखिदिएको रहेछ, ‘चिन्ता नगर, मैले साथी भेटेको छु’ भन्ने खबर पठाए रे,” भोलानाथ काकाले भन्नुभयो ।

करिब दुई महिनापछि पूर्णप्रसाद गाउँमा फर्कनुभयो गेरुवस्त्रधारी भएर, पुण्यानन्द गिरी भन्ने नयाँ नामका साथ । गाउँको पुछारमा बनाइएको मन्दिरमा उहाँले नै यौटा कोठा बनाउनुभएको थियो, आफ्नै खर्चले । गाउँमा सन्त–महन्त आएको बेला राख्नहुन्थ्यो ।

आएर त्यहीँ बस्नुभयो । कसैको आँखामा राखे पनि नबिझाउने, सबैलाई परेको बेलामा सहयोग र सल्लाह दिने, इमानदार पूर्णप्रसादजीलाई सबै भेट्न गए ।

एउटा आदर्श परिवार बनाउन सफल हुनुभएको उहाँले परिवार त्याग्दा छोराबुहारीलाई असाध्यै पीर पर्‍यो ।

“आमाले टुहुरो बनाएको दुई वर्ष भएको छैन, बुवा हजुरले के गर्नुभएको यस्तो ?,” बुहारीले रुँदै ल्याएको दूध गिलासमा खन्याएर दिइन् ।

“तिमीहरूको मायाले त मलाई गाउँमा ल्यायो,” पूर्णप्रसादले भन्नुभयो ।

गाउँमा हल्ला हुन थाल्यो– ज्यादै मायाले गर्दा बुढा श्रीमती बितेपछि जोगी बने । मायाप्रेम त अति थियो, तर किन टुप्पी काटे थाहा भएन ।

अनुमान अनेक लगाउन थाले । नजिकबाट नदेखेका र नबुझेकाले त छोराबुहारीमा पनि दोष देख्न थाले । हिजोसम्म आदर्श परिवार भन्नेको मनमा पनि शंका उठ्न थाल्यो ।

गाउँले दाजुभाइहरूमा उहाँको सहयोग नपाएको कोही पनि थिएनन् । उहाँको भाइ पनि पर्ने र नजिकको साथी नन्दलालले मुखै फोरेर भने, “दाइ, किन यस्तो निर्णय गर्नुभयो ?”

पूर्णप्रसादले लामो स्वास फेर्नुभयो । हल्का खिस्स हाँस्नु मात्र भयो । रहस्य अझ बढ्न गयो ।

उच्च शिक्षाका क्रममा विनोद, विमला, उर्मिला, डिल्लीप्रसाद, हरिचन्द्र, कृष्णमणि र उमानाथसँग धेरै नजिकको सम्बन्ध भएका थियोे पूर्णप्रसादको ।

उनीहरूको अध्ययनको परिधि अलि व्यापक थियो । अरू साथीहरूले उनीहरूको समूहलाई लोसे किरा भनेर नामकरण गरेका थिए, थाहा नपाउने गरेर । लोकसेवाको तयारीमा लाग्नेहरूलाई यस्तै भनिन्थ्यो । माथिका साथीमध्ये विनोद र विमला अझ नजिक थिए पूर्णप्रसादसँग ।

करिब साठी वर्षअगाडि एसएलसी उत्तीर्ण गरेपछि उच्च अध्ययन गर्नका लागि पूर्णप्रसादका अगाडि सर्त राखिएको थियो परिवारबाट, जुन सर्त सामान्य थियो त्यस समय नेपालको ग्रामीण क्षेत्रमा । पढ्न घर छोड्नेले एउटा श्रमशक्ति जोडेर जानुपर्दथ्यो घरमा । अर्थात्, बिहे गर्नुपर्ने बाध्यता हुन्थ्यो पढ्छु भन्ने केटाहरूको ।

उहाँले पनि सर्त पूरा गरेर हिँड्नुभएको थियो काठमाडौं । तर, दुईतीन वर्षपछि घरमा आउने जाने गर्दा आमाको घुर्कीपूर्ण कचकच सुरु हुन थालेको थियो । सम्झाउने पाराले आमा भन्नुहुन्थ्यो, ‘हाम्रा हातपाखुरा बलिया हुँदै खेलाउन पाए हुर्काइदिन्थौँ नातिनातिना ।’

‘पढाइ सकिएको छैन, जागिरको टुंगो छैन’ भन्ने रुखो जवाफ हुन्थ्यो पूर्णप्रसादको । युगल भएर बालाजु, गोदावरी घुम्न कसलाई रहर हुँदैन थियो र ! त्यसैले उहाँ पनि मौका मिले कोठाको साझेदार मित्रलाई अर्को साथीको कोठामा पठाएर हप्ता दिनजति कान्तिपुर घुमाउनुहुन्थ्यो आफ्नो श्रीमतीलाई, हिउँद लागेको बखत । केही न केही निहुँ पारेर गाउँ जान खोज्नुहुन्थ्यो । पाँचछ वर्षपछि त उहाँलाई पनि हल्का रहर लागेको थियो सन्तानको ।

“के छ मित्र, आजभोलि निकै घर गइन्छ नि !,” डिल्लीप्रसादले जिस्काउने पाराले भनेका थिए ।

“कहाँ हुनु,” उहाँले लजाएर भन्नुभएको थियो ।

“सुरसार छ कि कसो हो ?,” डिल्लीले आँखा झिम्क्याउँदै सोधेका थिए ।

“छैन, छैन,” उहाँले मुख रातो पार्दै भन्नुभएको थियो ।

“पूर्णप्रसादजी, समयमै ख्याल गर्नुपर्छ है । एकचोटि शारीरिक परीक्षण गर्नुपर्ने हो कि !,” डिल्लीप्रसादले जिस्काउने ढंगले भनेको प्रसंगले उहाँको मनमा भने खलबली मच्चाएको थियो ।

खरदारमा नाम निस्केपछि बुवाआमाको आशीर्वाद लिन गाउँ जानुभएका पूर्णप्रसादले आँगन टेक्नु मात्र भएको थियो, आमाले ‘आफ्नै छोरीजस्तै पालेका थियौँ, के गर्ने उसलाई पचेन’ भन्नुभएको थियो ।

“के भयो र आमा ?,” उहाँले सोध्नुभएको थियो ।

“के हुनु नि, हिँडी तिम्री महारानी !,” आमाको आक्रोश सकिएको थिएन ।

“कतै दलालले फसायो कि, कहाँ गइछन् त ?,” माया बाँकी नै थियो पूर्णप्रसादजीसँग ।

“के हुनु, पल्लो गाउँमा बिर्खेसँग गई नि ! चैत्रको खडेरीमा मकै गोड्दै थिए रे अस्ति ! बरु, सात डाँडा काटेर अन्तै मुन्टिएकी भए देख्नु त पर्ने थिएन,” आमाको रिस मरेको थिएन ।

“झगडा परेको थियो कि ?,” पूर्णप्रसादजीले सोध्नुभएको थियो ।

“टाढा गएकी छैन, उसैसँग गएर सोध् न !,” छोराको प्रश्नले आमालाई झनै रिस उठेको थियो ।

“ठिकै त गरेकी होली !,” पूर्णप्रसादको मुखबाट अनायास शब्द आएको थियो । आमाले बुझ्नु भएन ।

काठमाडांै फर्किएपछि अर्को नराम्रो घट्ना सुन्नुपर्‍यो पूर्णप्रसादले । उनीहरू सबैको अति मिल्ने साथी विनोद सडक दुर्घटनामा परेर बितेछ ।

डिल्लीप्रसाद, उर्मिला, हरिचन्द्र, कृष्णमणि, उमानाथ, विमलालगायत सबैलाई पीडा दिएको थियो घटनाले ।

के हुन आँट्यो मेरो जीवनमा, प्रियजनले छोड्न आँटे– पूर्णप्रसादको मनमा कुरा खेलेको थियो । रातभरि आँखा टाठै बसेका थिए, कतै निद्रा पसी पो हाल्छ कि चोर पसेझैँ भनेर । अरू साथीहरूको पनि उस्तै हालत भएको थियो होला ।

विस्तारै दिन बितेर जाँदै थियो । करिब पन्ध्र दिनपछि विमला पूर्णप्रसादको कोठामा आइन् । उनका आँखा अझ पनि पाकेका गोलभेँडाजस्तै थिए ।

“पीर कसलाई परेको छैन र ? सधैँ सम्झेर मात्र हुन्छ । जीवनचक्रमा कति साथी भेटिन्छन् र छुट्टिन्छ्न् । हामीले आफ्नो मन बुझाउनुपर्दछ । विनोदको परिवारलाई कस्तो भयो होला ?,” पूर्णप्रसादले सम्झाउने गरेर भन्नुभएको थियो ।

चिया बनाउँदै गरेका पूर्णप्रसादलाई एकोहोरो हेर्दै विमलाले सोधेकी थिइन्, “मलाई यौटा हेल्प गर है ?”

उम्लिएको पानीमा चिनी राख्दाराख्दै अडिएर पूर्णप्रसादले प्रश्नवाचक आँखाले विमलालाई हेर्नुभएको थियो ।

“भोलि परिवार स्वास्थ्य क्लिनिक जाऊँ न, कसैलाई त लिएर जानुपर्ने रहेछ,” विमलाले मन भारी बनाउँदै भनेकी थिइन् । विनोदसँगको सम्बन्ध त्यतिसम्म पुगेको अनुमान लगाउनुभएको थिएन पूर्णप्रसादले ।

रातभरि पूर्णप्रसादलाई निद्रा लागेको थिएन । ‘के गरौँ ? भोलि भित्र पसेर मेरी श्रीमती हुन् भनेर सही गरौँ ? दोष त भित्रकाको पनि होइन, बाहिरकाको पनि हैन । तर, भित्रकोलाई मात्र सजाय किन ? अझ मृत्युदण्डको सजाय ! म अझ साक्षी किनारमा बसेर सही गर्ने ?’

उहाँको मनमा कुरा खेल्न थालेको थियो– मिल्ने साथी हुन्, साथीलाई सहयोग गर्नैपर्‍यो । तर, विनोद पनि मिल्ने साथी थियो नि !

उहाँलाई रातभर उकुसमुकुस भएको थियो । मनमा विचारहरू आउने र जाने क्रममा आएको यौटा विचारले उहाँलाई हल्का बनायो ।

भोलिपल्ट बिहानै विमला आएकी थिइन् ।

“अब जे भयो भयो, यो पाप काम नगरौँ,” पूर्णप्रसादले भन्नुभएको थियो ।

पूर्णप्रसादबाट यस्तो जवाफ आउँछ भनेर उनले सोचेकी थिइनन् । “तिमीले आफूलाई मेरो ठाउँमा उभ्याएर हेर त,” विमलाको आँखाबाट आँसुको भल बग्न थालेको थियो ।

“यसको विकल्प पनि खोजौँ,” पूर्णप्रसादले भन्नुभएको थियो ।

विमलाको स्वर चर्को भयो, “के विकल्प ? कस्तो विकल्प ? कसले गर्छ यस्तो अवस्थामा मसँग बिहे ? तिमी गर्छौ ?” विमलाको बोलीमा आक्रोश मिसिएको थियो ।

पूर्णप्रसादले लामो श्वास फेरेर भन्नुभएको थियो, “म विनोद र तिमी, कसैलाई अन्याय हुन दिन्न । तिम्रा बुवाआमाले मान्नुहुन्छ भने म तयार छु ।” एकपटक दुवैको आँखा हेराहेर भएको थियो । पूर्णप्रसादको चरण छुन मन लाग्यो विमलालाई । र, झुक्न खोज्दै थिइन् – पूर्णप्रसादले अँगालो मार्नुभयो ।

प्रेमको सुरुआत यहीँबाट भएको थियो उनीहरूको । सरकारी जागिर भएर, जेजस्तो भए पनि दिने मनस्थितिमा पुग्नुभएको थियो विमलाका बुवाआमा पनि । सामाजिक सुधार ऐनमा भरखरै लालमोहर लागेको बेला यौटा निहुँ बनेको थियो खर्च जोगाउने विमलाका बुवालाई ।

मन्दिरमा गएर सामान्य विवाह भएको थियो । बिहेपछि नयाँ श्रीमती लिएर गाउँ जानुभएको थियो पूर्णप्रसाद । छोराले आफूलाई नसोधी बिहे गरेकोमा गुनासो थिएन बुवाआमालाई । आमा त खुसीले नाच्न थालेकी थिइन् आँगनमा ।

भित्र्याउने सम्पूर्ण रीति पूरा गरिएको थियो । बेलुका खाना खाने समयमा आमालाई खसखस लागेछ, ‘कतै श्रीमती पोइला गएको झोकमा छोराले पनि त्यस्तै पो गर्‍यो कि !’ आमाको मनमा कुरा खेल्न थालेको थियो ।

त्यसैले छोरासित सोध्नुभएको थियो, “बाबु, बुहारी कसमा हुन् ?”

पूर्णप्रसादले मुसुक्क हाँस्दै भन्नुभएको थियो, “आजको जमानामा पनि यस्तो कुरा गर्नुहुन्छ ? मुलुकी ऐनले समात्छ । तर, हजुर ढुक्क हुनुहोस्, कन्या केटी हुन् । हतारमा हजुरहरूलाई बोलाउन नपाएको हो । तर,  पण्डित राखेर बिहे भएको हो । उनी भान्छामै हुन् ।”

आमा ढुक्क हुनुभयो र भन्नुभयो, “ल, तँ पनि आइज । भान्छा तयार भयो ।”

बिहेपछि पूर्णप्रसादप्रति विमलाको सम्मान बढेर गएको थियो । उहाँको नायब सुब्बामा नाम निस्कियो ।

“नयाँ बुहारी आएपछि छोराको जागिरमा मान पनि बढ्यो,” पूर्णप्रसादका बुवाले भन्नुभएको थियो ।

“उसैले रोकेकी रै’छ नि हाम्रो छोराको प्रगति !,” पोइला गएकी बुहारीसँगको रिस अझै मरेको थिएन आमाको ।

“आमा, म जागिरमा व्यस्त हुनुपर्छ, बुहारीलाई हेर्नुपर्ने भयो ।” छोराको भनाइले आमाको खुसीको सीमा नाघेको थियो । बुहारीको हेरचाह गर्न आमाले गाउँमा बुढा एक्लै छोड्नुभयो ।

नाति जन्मिएको खबर पाएपछि पूर्णप्रसादका बुवा पनि सहर नै आउनुुभएको थियो । सीमित तलब भए पनि सहरको जीवन र दैनिकी सन्तुलित ढंगले चलेको थियो । विमलाले पनि बुवाआमालाई निकै राम्रो व्यवहार गरेकी थिइन् ।

गाउँको खेतीको चाँजोपाँजो साथी नन्दलालको जिम्मामा थियो । सहरमा बसेर गाउँको चिसो पानी लाग्ने चामलको भात खान पुगेकै थियो ।

विमलाको पनि शिक्षक सेवा आयोगतर्फ नाम निस्किएपछि उहाँहरूको जीवन सरल बन्दै गएको थियो । पारिवारिक वातावरण रमाइलो हुँदै गएको थियो ।

नाति सुन्दर हुर्केपछि बुवाले भन्नुभएको थियो, “हामी कति बस्नु सहर, अब गाउँ जान्छौँ । हामी गाउँ गए तिमीहरू पनि आउला पछि । हैन भने गाउँ सधैँका लागि बिरानो हुन्छ ।” पूर्णप्रसादको समर्थन रह्यो ।

बुवाआमा गाउँ गएपछि केही असहज भए पनि बानी पर्दै गएको थियो । पूर्णप्रसादजीको पनि जागिरमा बढुवा हुँदै गयो । विभिन्न जिल्लामा सरुवा हुन थालेपछि कहिले होस्टेल त कहिले घरमा राखेर सुन्दरको पढाइ अगाडि बढ्यो ।

जागिरको सिलसिलामा दुई वर्ष कोरियामा श्रम सहचारी भएपछि उहाँहरूको आर्थिकस्तर सहज भएको थियो । मनलाई ढाडस मिलेको थियो ।

सडक सञ्जालले जोडिएपछि गाउँको बसाइ पनि सरल हुने देखेर सहरमा सम्पत्ति जोड्ने रहर गर्नु भएन उहाँहरूले । त्यसैले पूर्णप्रसादजीहरूलाई सधैँ खुसी राखेको थियो । आवश्यक परेको बेलामा सबैलाई सहयोग गर्नुहुन्थ्यो । अरूको खुसीमा आफू पनि रमाउनुहुन्थ्यो पूर्णप्रसाद ।

अरू के कुरा गर्ने, बिर्खेको छोरोले बीए पास गरेको खबर सुन्दा पनि खुसी देखिनुभएको थियो उहाँ । छोडेकी श्रीमतीको माया पो हो कि ! विमला पनि पूर्णप्रसादलाई भगवान्भन्दा बढी पूजा गर्दथिन् ।

समय आफ्नो गतिमा अगाडि बढिरहेको थियो । बुवाआमालाई पनि रोगले समाउन थाल्यो । उहाँहरूले छोराबुहारीको कर्तव्य पूरा गर्दै जानुभएको थियो ।

अन्ततः उहाँहरूले पनि अरूले जस्तै अभिभावक गुमाउनुपर्‍यो एक दिन । उप्रान्त पूर्णप्रसाद आफैँ घरको मुली बन्नुपरेको थियो ।

छोराको पढाइ पूरा भयो । उसको जागिरे जीवन सुरु भयो । सुन्दरले रोजेको केटीसँग बिहे भयो । एकार्काको सम्मान र सहयोगमा परिवार चल्दै गयो ।

तर, जीवन सरलरेखामा मात्र चल्दो रहेनछ । कहिले वक्र पनि बन्दो रहेछ । अकस्मात् विमला बिरामी भइन् । रोग र यसको स्तर पत्ता लाग्ने बेलासम्म समय घर्किसकेछ । बिरामी भएको छ महिनामा पूर्णप्रसादमाथि बज्रपात पर्‍यो ।

बाहिर हेर्दा सामान्य देखिए पनि भित्र कमजोर हुन थाल्नुभएको थियो पूर्णप्रसाद । छोराबुहारीलाई भरोसा त दिनुहुन्थ्यो, तर उहाँभित्र आँधीतुफान चल्थ्यो । श्रीमती बितेको एक वर्षपछि उहाँ तीर्थ जान थाल्नुभएको थियो । साथमा गीताको पुस्तक छुट्दैन थियो ।

खासमा ठट्टैठट्टामा डिल्लीप्रसादले भनेको कुराले उहाँलाई छोएको थियो । उहाँको मनमा ज्यादै कुरा खेल्न थाल्यो । मनमनै ‘सुन्दरलाई आफ्नो ढिकुरोको पुजारी बनाउने अधिकार त मलाई छैन !’ भन्दै तल गाउँको पुछारमा मन्दिर बनाउँदा अतिरिक्त कोठा बनाउन आफैँ खर्च गर्न अगाडि बढ्नुभएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro