site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री छनोटले कांग्रेसमा आफ्नै गुटसँग नेताहरूको असन्तुष्टि 

काठमाडौं । १० मन्त्रालयसहित सरकारमा सहभागी नेपाली कांग्रेसभित्र मन्त्री छनोटका विषयमा असन्तुष्टि चुलिएको छ ।  मन्त्री छनोटका क्रममा गुटबाट नाम टुंग्याएर अन्तिममा हटाइएकाहरू आफूमाथि अन्याय भएको बुझाइमा छन् । 

मन्त्रीका निम्ति बहसमै नपरेकाले नेतृत्वले न्याय गर्ने विषयमा शंका गर्दै छन् ।  कतिपय नेताहरू भने सरकार गठन गर्दा दलित समुदायमाथि ‘प्रतिगमन’ भएको निष्कर्ष निकालेर बसेका छन् ।

कांग्रेसबाट मन्त्री बन्नेमा संस्थापनइतर अर्थात् डा. शेखर कोइरालाको समूहमा सहमहामन्त्री जीवन परियारको नाम पनि चर्चामा थियो ।  अन्तिम समयमा नाम हटाइँदा उनी डा. कोइरालासँगै पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । यस विषयले कांग्रेसको सिंगो दलित समुदाय नै रुष्ट छ ।

Argakhachi Cement Island Ad

कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही दलित समुदायमाथि प्रतिगमन भएको टिप्पणी गर्छन् ।  उनी वर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सधैँ समावेशी, समानुपातिक व्यवस्थाको विरोधी रहेको आरोप लगाउँछन् । 

कांग्रेस नेतृत्वले समेत आफ्नो वास्तविकता बुझ्न नसकेको भन्दै उनी असन्तुष्ट छन् ।

“यो दलित समुदायमाथिको प्रतिगमन हो । एकैपटक यत्रो मन्त्रिपरिषद्ले पूर्णता पाउँदा दलित समुदायलाई बहिष्करणमा पारिएको छ,” स्नेहीले बाह्रखरीसँग भने, “मन्त्रीहरू शपथ लिन जाने केही घण्टाअघिसम्म पनि दलित समुदायको प्रतिनिधित्व गराउने र दलित समुदायका योग्य र स्वाभाविक दाबेदार रहेको हामीले कुरा गरेका थियौँ । तर, कांग्रेस नेतृत्वले घोर अन्यायपूर्ण काम गरेको छ ।”

प्रधानमन्त्री ओलीसँगै संविधानको स्वामित्व लिएको कांग्रेस नेतृत्व पनि चुकेको उनको भनाइ छ । 

“अरूसँग हाम्रो गुनासो छैन । संविधानका व्यवस्था र समावेशीताको मर्मविपरीत जान हुन्थ्यो/हुँदैनथ्यो भनेर बहस होला,” उनले भने, “तर, नेपाली कांग्रेस – जसले यो संविधानको स्वामित्व लिएको छ, त्यो पार्टीको नेतृत्वले मन्त्री सिफारिस गर्दा त्यसको मर्म भुलेको छ ।”

उनले वर्तमान सरकारमा सबैभन्दा बढी मन्त्री बनाएको कांग्रेसले दलितलाई स्थान नदिनुले उसको कृतघ्न उदांगिएको बताए ।

मन्त्री बनाउने अन्तिम सूचीमा नाम परेको भन्दै सार्वजनिक गरेर नबनाइएका नेताहरू झन् धेरै असन्तुष्ट छन् । कांग्रेसको संस्थापनइतर समूहले मन्त्रीमा सिफारिस गरेर अन्तिममा हटाइएको नाम हो, हृदयराम थानी ।

उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्लाका नेतासमेत रहेका थानीको नाम अन्तिम समयमा हटाइएको थियो । थानीले आफ्नो नाम काट्न क कसले कस्तो भूमिका निर्वाह गरे भन्दा पनि आफ्नै समूहका नेता डा. शेखर कोइराला किन अड्न सकेनन् भन्ने प्रश्न खडा भएको बताउँछन् ।

“मेरो नाम मन्त्री बन्ने सूचीमा किन परेन भनेर डा. शेखर कोइरालालाई सोध्नुहोस्,” थानीले भने । उनले त्यसबाहेक प्रतिक्रिया दिन अस्वीकार गरे । 

उनी निकटहरू भने थानीलाई मन्त्री बन्न रोक्नुको पछाडि कोइरालाको मात्रै भूमिका होइन खड्का पनि उत्तिकै जिम्मेवार रहेको बताउँछन् ।

महाधिवेशनलाई केन्द्रमा राखेर मन्त्री छनोटलाई केन्द्रमा राखिएको ती नेता बताउँछन् ।

“उनी कस्ता नेता हुन् र उनले कस्ता विषयमा अडान लिन्छन् भन्ने कम्तिमा डाक्टर शेखर कोइरालालाई थाहा हुनुपर्ने हो,” ती नेताले प्रतिप्रश्न गरे, “अर्को समूहले राखेका चाहनामा डा. शेखर नै लचिलो बन्नुहुन्छ भने अरुसँग के गुनासो गर्ने ?” 

उता संस्थापन समूहबाट पनि सहमहामन्त्री किशोरसिंह राठोरको नाम अन्तिमसम्म चर्चामा रहेर हटेको थियो । राठौर आफ्नो नाम किन हटाइयो भन्ने आफू जानकार नभएको बताउँछन् । उनी त आफूलाई त यसकारण परिनस् भनेर पनि कसैले जानकारी नदिएको बताउँछन् । 

“मलाई किन राखिएन भन्ने मलाई अहिलेसम्म कुनै जानकरी छैन,” राठौरले बाह्रखरीसँग भने, “मलाई यसबारे जानकारी दिन कसैले फोन गरेको छैन ।” 

उनी पद नपाएर असन्तोष राख्ने स्वभाव आफ्नो नभएको भन्दै थप कुरा नगर्ने बताए ।  देउवाले छुट्टै पार्टी बनाउँदा नेविसंघको नेतृत्व गरेका राठौर देउवाका नजिकका नेता हुन् । ०७४ को संसदमै रहेका उनी देउवाको अघिल्लो कार्यकालमा किन मन्त्री बनाइएन भनेर समर्थकहरूले प्रश्न उठाएका थिए । 

तर, यसपटक पनि नपर्दा देउवाले पद माग्दै हिँड्नेलाई मात्र हेरेको बुझाईमा उनी निकटहरू पुगेका छन् । 

“किशोरजी देउवाका पक्षबाट लड्ने एउटा लडाकु हो । देउवालाई कुनै समस्या नहोस् भनेर आफू समस्या भोग्न तयार हुने उहाँबारे देउवा जानकार हुनुहुन्छ । नेताले न्याय गर्न सक्नुपर्छ, पद माग्दै हिड्नेलाई मात्र दिने होइन,” ती नेता भन्छन्, “जसले निस्वार्थ नेताका लागि, टिमका लागि काम गरेको छ, उसलाई नै पद माग्नेहरुसँग तुलना गर्ने हो भने नेता कसरी नेता रहन्छ ?” 

ती नेताहरू राठौरले आन्तरिक कुराकानीमा भने देउवाकै मन्त्रिपरिषदमा सहभागी बनाउने आश्वासन दिएको बताउँछन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्