site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ऐक्यबद्ध स्पेन सफलताको एक कदम पछाडि

काठमाडौं । युरोपियन प्रतिस्पर्धाका ६ खेलमध्ये सबैमा जित । यो ऐतिहासिक लयसहित फाइलन प्रवेश गरेको टिम हो, शाही स्पेन । स्पेनका निम्ति जर्मनीमा जारी युरो–२०२४ मा सम्झनयोग्य क्षण धेरै बनिसकेको छ । सेमिफाइनलमा जब्बर रक्षापंक्तिसाथ उभिएको फ्रान्सविरुद्धको जितले स्पेनीलाई अझ सन्तुष्टि दिएको छ । नदियोस् पनि किन, स्पेनले केही प्रमुख खेलाडीको उपस्थितिबिनै निकालेको जित थियो त्यो ।

फ्रान्सविरुद्ध स्पेन रक्षक ड्यानी कार्भाहाल, रोविन ले नोर्मान्डसँगै मिडफिल्डर पेड्रीविहीन थियो । घुँडाको गहिरो चोटका कारण पेड्री प्रतियोगिताबाटै बाहिरिइसकेका छन् ।

फ्रान्सविरुद्ध १० मिनेट बित्न नपाउँदै एक गोलले पछि परे पनि स्पेनी टिममा अत्यास देखिएन । स्पेनले चार मिनेटभित्र दुई गोल गर्दै खेललाई आफ्नो पक्षमा राख्यो । अनि, परिपक्व र धैर्यसहित स्पेनीले खेललाई नियन्त्रणमा राखे, जसरी उनीहरूले पछिल्लो केही हप्तादेखि गरिरहेका थिए ।

अब स्पेन युरोपियन च्याम्पियनको सफलता कोर्न एक खेल मात्र पछाडि छ । युरो–२०२४ को फाइनलमा आइतबार राति स्पेनले इंग्ल्यान्डसँग खेल्ने तय छ ।

स्पेनिस कप विजेता एथ्लेटिको विल्वाओमा २४ वर्षीय रक्षक ड्यानी भिभियनको प्रदर्शन उम्दा थियो । यसैकारण उनले गत वर्ष स्पेनिस टिमसम्मको ढोका खोले । युवा र तुलनात्मक रूपमा कम अनुभवी भिभियन स्पेनिस टिमको रक्षापंक्तिका चौथो विकल्पसहित जर्मनी पुगेका थिए ।

तर, मंगलबार कार्भाहाल र ले नोर्मान्ड दुवै बाहिर हुँदा ३८ वर्षीय जेसस नाभासको काँधमा स्पेनिस रक्षापंक्तिको जिम्मेवारी थियो । फ्रान्सको पहिलो गोलपछि किलियन एमबाप्पेलाई बाँधेर राखेका नाभासले दोस्रो हाफमा मैदान छोडे । त्यसपछि उनको स्थानमा मैदान प्रवेश गरेका भिभियनको काँधमा स्पेनिस रक्षापंक्तिको जिम्मेवारी आयो ।

नाभास स्पेनिस स्वर्णिम पुस्ताका अन्तिम खेलाडी हुन् । स्पेनको त्यो पुस्ताले सन् २०१० को विश्वकप र २००८ र २०१२ मा आयोजित युरोपियन च्याम्पियनसिपको उपाधि लगातार जितेको थियो । भिभियनमा त्यति अनुभवी खेलाडीको स्थान पूर्ति गर्नुपर्ने दबाब थियो । भिभियनले त्यो जिम्मेवारी बखुबी निभाए पनि । खेलको अन्तिम आधा घण्टा उनले स्पेनिस टिमबाट चट्टानी प्रदर्शन देखाए । सबै चुनौती जितेका उनको आत्मविश्वास रक्षापंक्तिमा भेट्रान खेलाडीको जस्तै थियो ।

साझा लक्ष्य
भिभियनले चार महत्त्वपूर्ण चुनौती जिते र ८३ प्रतिशत सटीक पास खेले । जसले फ्रान्सको आक्रमणलाई सफल बन्न दिएन । उनी टिमको एकता सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताउँछन् ।

“अन्त्यमा हामी सबैले साझा लक्ष्यका निम्ति कार्य गरेका हौँ । सबैसँग आफ्नै व्यक्तित्व छ । त्यहाँ यस्ता पनि मान्छे थिए, जसले केही फरक कुरा पस्किए । यहाँ सबैलाई उसको केही जिम्मेवारी छ भन्ने थाहा छ,” बिहीबार आयोजित पत्रकार सम्मेलनमा भिभियनले भने, “हामी के हुनसक्छ भन्ने कुरालाई सकेसम्म वेबास्ता गर्ने प्रयास गरिरहेका थियौँ । जब हामीसँग समय हुन्छ, त्यस बेला हामी कल्पना र आराम गर्छौँ । सकारात्मक मस्तिष्कमा रहन खोज्छौँ ।”

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे पनि एथ्लेटिक विल्वाओकै पूर्वरक्षक हुन् । बास्क्यु क्षेत्रका सात खेलाडीमध्येका एक भिभियन प्रशिक्षकसँग व्यक्तिगत चिनजान हुनुलाई राम्रो मान्छन् ।

डे ला फुएन्टे सन् १९८४ मा विल्वाओले दोहोरो लिग कपको उपाधि जित्दा टिममा थिए । केही महिनाअघि त्यही विल्वाओले ४० वर्षको उपाधि खडेरी तोड्दै कोपा डेल रेको उपाधि जित्यो । त्यति बेला भिभियन, युनाई सिमोन र निको विलियम्स विल्वाओको प्रमुख खेलाडी बने । रोयटर्सबाट भावानुवाद

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro